१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १ बिहीबार
  • Monday, 28 April, 2025
२o८१ फाल्गुण १ बिहीबार १५:४९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीमा प्रचण्डद्वारा एकैदिन पाँच कार्यक्रम उद्घाटन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १ बिहीबार १५:४९:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकैदिन गुल्मी जिल्लाका पाँच योजनाको उद्घाटन गरेका छन् ।  प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्वित प्रशासकीय भवन, मालिका पिस पार्क, हेलिप्याड र तेस्रो मालिका रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् ।

त्यस्तै, धुर्कोट गाउँपालिकाको सहिद स्मृति पार्कको पनि प्रचण्डले उद्घाटन गरेका हुन् । उनले कार्यक्रमहरूलाई सम्बोधन गर्दै संविधान निर्माणमा आफ्नो प्रभावकारी भूमिका रहेको स्मरण गर्दै गाउँ–गाउँमा सिंहदरबारको अवस्था प्राप्त गर्न सकिएको बताए ।

उनले स्थानीय तहबाट जनतालाई सेवामार्फत गाउँगाउँमा सिंहदरबारको महसुस गराउन नसके बन्ने संरचना (भवन) को कुनै अर्थ नभएको बताए । साथै उनले आफू प्रधानमन्त्री भएको वेला मध्यपहाडी, मदन भण्डारी, सालझण्डी–ढोरपाटनजस्ता महत्त्वपूर्ण सडक पूर्वाधार निर्माणको प्रस्तावक हुने र पटक–पटक बजेट विनियोजन गरेको बताए ।

साथै, आफ्ना पछिल्ला जिल्ला भ्रमणमा कांग्रेसको राम्राे उपस्थिति र सहयोग देखिएकाले पुरानो गठबन्धन अझै कायम रहेको महसुस भइरहेकोसमेत प्रचण्डले बताए।

टिनको छाप्रो हुँदै आधुनिक भवनमा मालिका

०७४ सालमा मालिका गाउँपालिका महिलाहरूको सामुदायिक भवनमा थियो । सोही भवनमा तत्कालीन गाउँपालिका प्रमुख रितबहादुर थापासहितको नेतृत्वले शपथ खाए । कार्यालयमा कर्मचारी र जनप्रतिनिधिको समेत राम्रोसँग व्यवस्थापन हुन्थेन । सेवाग्राही त बाहिर उभिएर कैयौँ समय सेवा लिए ।

मालिका गाउँपालिकाका पूर्ववडाध्यक्ष तथा प्रवक्ता शोभाखर गिरीले पाँच वर्षमा आफूहरूले छाप्रो फेर्ने मात्र नभएर विकास र समृद्धिमा समेत ठुलो काम गरेको स्मरण गरे। ‘छाप्रोमा पनि उत्कृष्ट काम गर्ने सपना र योजना थिए । मुद्दा झेलेर केही समयमा आफ्नै भवन बन्यो,’ उनले भने, ‘समयको मागसँगै अहिले आधुनिक भवन निर्माण पनि सुखद विषय हो ।’ अहिले साढे सात करोडभन्दा बढीको लागतमा मालिका गाउँपालिकाको प्रशासकीय भवन निर्माण भएको छ । साथै मालिका गाउँपालिका– ४ को अर्खबाङमा निर्माण गरिएको मालिका पिस पार्क र हेलिप्याडको पनि प्रचण्डले उद्घाटन गरेका छन् । मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले विकास जनताका लागि भएकाले सबैको कसैले पनि राजनीति गर्न नहुने बताए । उनले मालिकामा योजना निर्माण हुनु र पूर्वप्रधानमन्त्री आउनु दुवै मालिकाका जनताको लागि सुखद विषय भएकाले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

जनयुद्ध दिवसमा सहिद पार्कको उद्घाटन तथा सालिक अनावरण

फागुन १ गते जनयुद्ध दिवस । जनयुद्ध दिवसमा धुर्कोट गाउँपालिकाद्वारा निर्मित सहिद स्मृति पार्कको नेकपा माओवादीका केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन तथा सहिदहरूको सालिक अनावरण गरेका छन् । ०७५ सालबाट विभिन्न वर्षहरूमा बजेट व्यवस्थापन गरेर पार्कको सबै काम गरिएको थियो ।

धुर्कोट गाउँपालिकाले पालिकाभित्रका तीनजना सहिदको स्मृतिमा पालिकाको केन्द्र बर्बोटमा पार्क निर्माण गरेको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले जानकारी दिए । तत्कालीन शासन व्यवस्थाको विरुद्धमा लडेका शमशेरबहादुर खत्री, खिमविक्रम नेपाली र जेदुराम भण्डारीको स्मृतिमा पालिकाले झन्डै दुई करोड लगानीमा पार्क निर्माण गरेको पोख्रेलले बताए ।

०७४ सालको निर्वाचनमा आफू अध्यक्षमा निर्वाचित भएपछि पार्क निर्माणको काम अगाडि बढाएका पोख्रेलले बताए । ०७५ सालको अन्तिमबाट निर्माण सुरु भएको पार्क हाल निर्माण सम्पन्न भइसकेको छ । पहिलेको सानोपाखेरी र सुक्खाडाँडोमा अहिले आकर्षक पार्क निर्माण गरिएको छ । पार्क पर्यटकीय तथा ऐतिहासिक भएकाले आन्तरिक पर्यटकको आकर्षणको रूपमा पनि रहेको छ । पार्कभित्र बनाइएका विभिन्न बगैँचा, फुटपाथ, पानीको फोहोरा, बाघ, धुर्कोट दरबारलगायतका वस्तुहरूको प्रतिमा, लाइटिङलगायतका संरचनाले पार्कलाई आकर्षक बनाएको छ । पार्कभित्रै दुईवटा प्रतीक्षालयसमेत निर्माण गरिएको छ ।

पार्कमा बालबालिकाहरूका लागि दुईवटा साना र वयस्कहरूका लागि एउटा ठुलो पिङ निर्माण गरिएको छ । साथै पार्कभित्र धुर्कोटको पहिचान र नगदेबालीको रूपमा रहेको सुन्तलाको प्रतिमा निर्माण गरिएको छ । पार्क निर्माणका लागि ०७६/०७७ मा एक करोड, ०७७/०७८ मा ४० लाख, ०७८/०७९ मा २० लाख तथा ०७९/८० मा ६० लाख गरी हालसम्म दुई करोड ३० लाखभन्दा बढी रकम खर्च भएको गाउँपालिकाका सबइन्जिनियर कृष्णबहादुर पहराईले जानकारी दिए ।