मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
२o८१ माघ ३० बुधबार o८:१७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाललाई फिफा वरीयता सुधार्ने अवसर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार o८:१७:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ५ फागुनदेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आयोजना गर्दै छ । एएफसी एसियन कप र फिफा महिला विश्वकप छनोटको तयारीका रूपमा नेपालले लिएको छ । दशरथ रंगशालामा हुने च्याम्पियनसिप ‘फिफा डे’मा हुने भएकाले नेपाललाई वरीयता सुधार गर्ने अवसर रहेको छ । 

फिफाको महिला वरीयतामा नेपाल १०३ स्थानमा छ । नेपालले पछिल्लोपटकको तुलनामा चार स्थान गुमाएको छ । च्याम्पियनसिपमा सहभागीमध्ये म्यानमानर ५५औँ स्थानमा छ । किर्गिस्तान १२८ स्थान र लेबनान १३४ स्थानमा छन् । नेपालको मुख्य प्रतिद्वन्द्वी नै म्यानमार हुनेछ । 

च्याम्पियनसिपमा नेपालले राम्रो नतिजा निकाल्न सके फिफा वरीयताको धेरै सुधार आउने सम्भावना रहेको छ । वरीयतासँगै नेपालको स्तर सुधार गर्न टोलीमा केही परिवर्तन गर्नुपर्ने आवश्यक रहेको देखिन्छ । पुनः एकपटक महिला टोलीका मुख्य प्रशिक्षकका रूपमा भित्रिएका प्रशिक्षक राजेन्द्र तामाङले वर्तमान टोलीमा नयाँ खेलाडीहरूको आवश्यकता रहेको बताएका छन् । 

गत कातिकमा रंगशालामै भएको साफ महिला च्याम्पियनसिपको फाइनललगत्तै तामाङले पदबाट राजीनामा दिएका थिए । एसिया कप र फिफा विश्वकप छनोटजस्तो महत्वपूर्ण प्रतियोगितामा राम्रो नतिजा निकाल्न पनि ‘फ्रेस’ अनुहारका खेलाडी आवश्यक रहेको तामाङले बताए । घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा धेरै परिवर्तन गर्नुपर्ने भए पनि समय अभावका कारण नहुने उनको भनाइ छ । ‘समय अभावका कारण केही ठाउँमा मात्रै नयाँ खेलाडी ल्याउने तयारी भइरहेको छ,’ उनले भने ।

‘तत्काल तीन स्थानका खेलाडी परिवर्तन गर्नुपर्छ, तर हामीसँग समय कम छ,’ तामाङले भने, ‘दुई हप्ताको प्रशिक्षणको क्रममा युवाहरूबिच क्षमतावान् खेलाडी देखिए पनि उनीहरूलाई तत्काल प्रयोग गर्न सकिँदैन ।’ एन्फा स्रोतअनुसार वर्तमान टोलीमा समावेश एक दर्जन हाराहारी खेलाडीको विकल्पका रूपमा अन्य खेलाडीलाई हेरिएको छ । यद्यपि, च्याम्पियनसिपका लागि प्रशिक्षणको समय छोटो तथा मुख्य प्रशिक्षकको नियुक्त ढिलो भएका कारण साफ च्याम्पियनसिपका खेलाडीलाई पहिलो प्राथमिकतामा राखिएको एन्फा स्रोतले बताए । 

‘प्रशिक्षक नियुक्त तथा प्रशिक्षण समय अवधि कम भएकाले अहिले पुरानै खेलाडीले स्थान पाउने सम्भावना छ,’ स्रोतले भने, ‘तर, छिट्टै यो टोलीमा व्यापक परिवर्तन हुनेछ ।’ गत साता एन्फाले क्लोजक्याम्पबाट दोस्रो चरणका लागि खेलाडी छनोट गर्दा पुरानै खेलाडीले स्थान पाएका छन् । यसमा धेरैजसो राष्ट्रिय महिला लिग च्याम्पियन नेपाल एपिएफ क्लबका खेलाडी छन् । 

बन्द प्रशिक्षणबाट नौ खेलाडी बाहिरिए
एन्फाले राखेको क्लोजक्याम्पबाट प्रशिक्षणमा रहेका नौजना खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक तामाङले प्रशिक्षण दिइरहेका ३९ बाट ३० खेलाडी दोस्रो चरणमा छनोट भएका छन् । स्ट्राइकर अमिषा कार्की, सहारा लिम्बू, हेमा चौधरी, सुक्रिया मियाँ, सेमिहाङ्मा लिम्बू, मीना देउवा, पुष्पाकुमारी खड्का, यशोदा शाही र झुमा विश्वकर्माले दोस्रो चरणको प्रशिक्षणमा स्थान बनाउन सकेनन् । 

अमिषा अहिले नेपाली सेनाको लेफ्टिनेन्टको प्रशिक्षणमा छिन् । लेफ्टिनेन्ट प्रशिक्षणमा रहेका कारण उनी टोलीमा उपलब्ध नहुने एन्फाले जनाएको छ । सेनाको ड्युटीमै रहँदा अमिषाले यसअघि एन्फा महिला लिगको केही खेल गुमाएकी थिइन् । यसैगरी, हीरा भुजेल र दीपा शाहीले भने च्याम्पियनसिप गुमाउनेछन् । साफ च्याम्पियनसिप दौरान हीरा र दीपा घाइते भएका थिए । दुवै खेलाडी शतप्रतिशत फिट भएका छैनन् । 

यसैगरी, टोलीका प्रमुख खेलाडी कप्तान अन्जिला सुब्बा, सावित्रा भण्डारी र रेखा पौडेल विदेशको विभिन्न लिगमा आबद्ध छन् । उनीहरू सीधै प्रतियोगिताकै वेलामा मात्र नेपाल आउने एन्फाले जनाएको छ । महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिप फिफा डेमा भएका कारण उनीहरूलाई क्लबले रिलिज गर्नुपर्छ । यसैकारण तीनजना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

च्याम्पियनसिपको तयारी पूरा
आयोजक एन्फाले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । १४ फागुनसम्म हुने प्रतियोगिताका लागि ३० मध्ये २७ खेलाडी क्लोजक्याम्पमा प्रशिक्षणमा छन् । तीनजना खेलाडी विदेशी लिगमा आबद्ध छन् । प्रतियोगिता राउन्ड रोबिन आधारमा हुनेछ । शीर्ष दुई टोलीबिच फाइनल हुनेछ । प्रतियोगिताको टिकटदर साधारण पारापिटतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार तोकिएको छ ।