
एमाले सुदूरपश्चिम प्रदेश कमिटीले अछामका आफ्ना पाँचजना नेता कार्यकर्तालाई कारबाही गरेको छ । एमालेले पूर्वउपाध्यक्ष भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा सहयोग गरेको भन्दै पाँचजनालाई सदस्यबाट निष्कासन गरेको हो ।
रावललाई एमालेले हालै पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको थियो । एमालेले निष्कासन गरेपछि नयाँ पार्टी गठन गर्ने तयारीस्वरूप रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका छन् । अभियानमा सहभागी भएको पाइएपछि पाँचजनालाई पार्टीबाट निष्कासन गरिएको एमाले सुदूरपश्चिम प्रदेशसचिव रणबहादुर चन्दले बताए ।
प्रदेश सचिवालय बैठकले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवर, पार्टीको प्रदेश कमिटी सदस्य जंगबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिए । अभियानमा सहभागी भएको विषयमा सोधिएको स्पष्टीकरणको जवाफ प्रदेश कमिटी सदस्य विकले नदिएको एमालेले जनाएको छ । त्यस्तै, सल्लाहकार परिषद् सदस्य खड्काले स्पष्टीकरणको जवाफ दिएपछि एकपटकका लागि कारबाही नगर्ने भनिएकामा फेरि सोही गतिविधिमा संलग्न रहेको देखिएपछि निष्कासन गर्ने निर्णय भएको सचिव चन्दले बताए ।
रावलको अभियानमा सहभागी रहेको पुष्टि भएपछि अन्य तीनजनालाई तीन महिनाका लागि निलम्बन गरिएकोमा उनीहरू पुनः रावलको अभियानमा सहभागी भएको पाइएपछि सदस्यबाट हटाइएको एमाले प्रदेश कमिटीले जनाएको छ । यसअघि रावललाई स्वागत गर्न विमानस्थल पुगेको भन्दै प्रदेशका पूर्वमन्त्री कृष्णराज सुवेदी र प्रदेश कमिटी सदस्य भीष्मराज सुवेदीलाई पनि कारबाही गर्दै एमालेले पार्टी सदस्यबाट हटाएको थियो । एमालेले निष्कासित गरेपछि रावलले मातृभूमि जागरण अभियान घोषणा गरेका थिए । उनी अभियान लिएर केही दिन गृहजिल्ला अछाम बसेका थिए ।