राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सबै भ्रष्टाचार प्रकरणमाथि अनुसन्धानका लागि संसदीय समिति गठनको माग उठाउने बताएका छन् । सहकारी ठगीमा सरकार एक व्यक्तिको पछि लागेर गर्नुपर्ने कामको अवसर गुमाएको बताउँदै अब रास्वपाले हरेक छानबिनका लागि जाँचबुझ आयोग गठनको माग उठाउने बताए ।
‘संसदीय समितिले कुनै पनि सहकारीबाट रकम झिक्ने प्रक्रियामा रवि लामिछानेको संलग्नता छैन । तर, आइसकेको रकम एउटा निजी कम्पनीमा आए पनि उनको जे दायित्व र जिम्मेवारी देखिन्छ, त्योचाहिँ मौजुदा कानुनअनुसार अगाडि बढाऊ भनिएको छ । त्यसरी सुरु भएको मुद्दा कहाँ पुर्याउनुभयो तपाईंहरूले ? संगठित अपराध र सम्पत्ति शुद्धीकरण ! अरूले खनेको खाडलमा आफैँ पर्छु कि भन्ने माननीय सांसदहरूलाई लाग्छ कि लाग्दैन ?’ शुक्रबार संसदमा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो अब चिरस्थायी माग हुनेछ । नेपालको जाँचबुझ आयोग ऐनअन्तर्गत पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग अब गठन हुनुपर्नेछ । सबै राजकीय पद ग्रहण गरेका नेताहरूको सम्पत्ति छानबिन गर्ने गरेर अगाडि जानुपर्नेछ । र, अहिले चलनचल्तीमा आएका सबै काण्डको पनि अब एक–एक गरेर हामी संसदीय छानबिन माग गर्नेवाला छौँ । भुटानीदेखि कम्बोडियासम्म, वाइडबडीदेखि एनसेलसम्म, बालुवाटारदेखि गिरीबन्धुसम्म, यी सबैको छिनोफानो हामीले गर्नुपर्नेछ ।’
भिडियोः