Skip This
कांग्रेस मुख्यालयमा युवालक्षित ‘स्टार्टअप’ बहस
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १७ बिहीबार
  • Thursday, 30 January, 2025
२o८१ माघ १७ बिहीबार o९:४३:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कांग्रेस मुख्यालयमा युवालक्षित ‘स्टार्टअप’ बहस

बेरोजगार युवालाई स्वरोजगारको ढोका खोल्ने प्रयास गरेको कांग्रेसको भनाइ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १७ बिहीबार o९:४३:oo

नवीन विचार र स्वलगानीमा रुचि राख्ने युवालाई उद्यमशीलतामा जोड्दै रोजगारी सिर्जना गर्ने तथा अर्थतन्त्रमा सुधार ल्याउन दलका तर्फबाट पहलकदमी लिनुपर्ने सन्देश बाँड्न स्टार्टअपलाई प्रवर्द्धन गर्दै कांग्रेस

युवालाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्दै आर्थिक रूपान्तरणको सम्भावनाबारे कांग्रेसले साना तथा मझौला व्यवसायको सम्भावना र प्रवर्द्धनबारे बहस थालेको छ । उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा बुधबारबाट केन्द्रीय कार्यालय सानेपामा ‘नेपाल स्टार्टअफ र साना तथा मझौला व्यवसाय सम्मेलन’मार्फत साना व्यवसायको सम्भावनाको खोजी थालिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै सभापति शेरबहादुर देउवाले सम्मेलनले नवीन उत्पादन र सेवाको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा लगानीकर्तालाई पनि अवसर दिलाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । थोरै लगानीमै स्टार्टअप व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके रोजगारी वृद्धिमा क्रान्ति ल्याउन सकिने सम्भावनासमेत रहेको सभापति देउवाले बताए । ‘गाउँदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्‍याउँछ । पछिल्लो समय स्टार्टअपतर्फ आकर्षण बढ्दो छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गर्दै छन्,’ उनले भने, ‘यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्यसँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ ।’ 

बेरोजगारी समस्यामा पिरोलिएका युवालाई स्वरोजगारको नयाँ ढोका खोल्ने प्रयास गरेको कांग्रेसको भनाइ छ । सभापति देउवाले नवप्रवर्तन र उद्दमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनसमेत टेवा पुग्ने विश्वास व्यक्त गरे । सम्मेलनमा व्यवसाय प्रारम्भ गर्ने उद्यमीदेखि, व्यवसायीहरूलाई प्रोत्साहन र प्रवर्द्धनका बिषयमा प्रदर्शनी र छलफलमा सत्रहरू राखिएका छन् । 

विभाग संयोजक उर्मिला थपलियाले डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन र साना उद्यमीलाई प्रोत्साहन गर्नका लागि सम्मेलन आयोजना गरिएको बताइन् । सिकाइ, अनुभव र विचारबाट एकअर्कामा ज्ञानको प्रवाह हुने र युवा उद्यमी एवं नयाँ पुस्ता जोडिँदा अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ । 

कार्यक्रममा सरोकारवालाहरूले स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्रवर्द्धनका लागि सरकारको साथ र लगानीको सहज वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । साथै कानुनी जटिलताहरू हटाउनुपर्ने आवश्यकतासमेत औँल्याएका छन् । राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले सरकारको साथ बिना स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताए । स्टार्टअपलाई सरकारको नीति, शिक्षा, तालिम र बैंकिङ सहयोग आवश्यक हुने उनको भनाइ थियो ।  

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अध्यादेशमार्फत विभिन्न ऐन संशोधन गरेर उद्योगी व्यवसायीहरूलाई सहज बनाएको धारणा राखेका थिए । उनले महासंघले सबैलाई समेट्न नसक्ने भएकाले राजनीतिक दलहरूले नवप्रवर्तनका कामलाई प्रोत्साहन गर्न सकेमा युवाहरूलाई लगानी र स्टार्टतर्फ आकर्षित गर्न सकिने बताए । 

त्यस्तै, महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन् । नेपालमा महिलाहरू आफैँ आत्मनिर्भर बनेर अगाडि बढ्नका लागि निरन्तर प्रयत्न गरिरहेको र यसका लागि राज्यले अवसर उपलब्ध गराउनुपर्नेमा उनको जोड थियो । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले वित्तीय संस्थाले ठुलो लगानीको वातावरण सिर्जना गरेको बताए । उनले सकारात्मक सोचसहित व्यवसाय गर्नका लागि युवा वर्गलाई जागृत गर्न सके आर्थिक परिवर्तन सम्भव रहेको बताए । 

नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले व्यवसायमा हुन सक्ने असफलताको जोखिमका कारण स्टार्टअपलाई बैंकहरूले ठुलो लगानी गर्न नसकिरहेको बताए । स्टार्टअपले बैंकबाट लगानी खोज्नेभन्दा पनि सरकारी स्रोत खोज्नुपर्ने उनको सुझाव थियो । 

युवाले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्दै छन्  : शेरबहादुर देउवा, सभापति, नेपाली कांग्रेस 
गाउँदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्‍याउँछ । पछिल्लो समय स्टार्टअपतर्फ आकर्षण बढ्दो छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गर्दै छन् । यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ ।