विद्यालय जाँदै गरेकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।
बुधबार बिहान करिब ५ः४५ बजेको समयमा विद्यालय गइरहेकी किशोरीलाई विष्णुपुर गाउँपालिका– ७ स्थित कोशी पश्चिमी नहरको दक्षिणी डिलछेउमा विष्णुपुर– १ का १९ वर्षीय अकलेशकुमार मण्डलले बलात्कार गरेको सप्तरी प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले बताए।
प्रतिकार गर्ने क्रममा किशोरीको बायाँहात भाँचिएको छ भने शरीरका विभिन्न भागमा नीलडामसमेत छ। कक्षा ११ मा पढ्ने किशोरीकै जाहेरीका आधारमा आरोपी अकलेश कुमारलाई बुधबार साँझ पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिए।
उनलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि १० दिनकाे अनुमति लिइएको उनले बताए।