मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
२o८१ माघ १० बिहीबार १४:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार १४:३९:oo

आलुखेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका– १० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ ।

कार्यालयले वार्षिक कार्यक्रमअन्तर्गत आलुको उन्नत जात तथा स्वदेशी एवं विदेशी हाइब्रिड जातको अनुसन्धान गर्न यहाँ आलु लगाएर परीक्षण गर्दै आएको हो । कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार यस स्थानमा विभिन्न १० प्रकारका आलुको अनुसन्धान भइरहेको छ ।

उनले १० वटा आलुका जातमध्ये सातवटा आलुका जात युरोपबाट ल्याएर परीक्षण तथा अनुसन्धान गरिरहेको बताए । यी जात परीक्षणका क्रममा रहेको र सूचीकृत भइनसकेको उनको भनाइ छ । आलु खनेपछि थप अनुसन्धान हुने त्रिपाठीले बताए ।

यहाँका किसान कृष्णप्रसाद अर्यालको खेतमा आलुका जातबारे अनुसन्धान गरिँदै आइएको हो । अर्यालका अनुसार यहाँ आलु उत्पादन धेरै भए पनि बजार मूल्यमा एकरूपता छैन । व्यापारीले सकेसम्म कम मूल्यमा खरिद गर्ने हुँदा यसका लागि आलुको जात कायम गरी मूल्यमा एकरूपता ल्याइनुपर्ने उनी बताउँछन् ।

उनले यस क्षेत्रबाट वार्षिक ३७ करोडसम्मको आलु बिक्री हुने गरेको बताए । व्यापारी र उपभोक्ताले खोजेको जातको आलु लगाउन सकेमा यस क्षेत्रबाट धेरै मात्रामा आलु उब्जाउन सकिने र मूल्य बढी पाइने उनी बताउँछन् ।

कृषि कार्यालयले यहाँ अध्ययन गर्दै आएको आलुमा ०.५२, २५.७, एल्बर स्टोन रसेट, क्यामेन, स्यागिटा, क्युन्टेरा, इनोभेटरलगायतका जात छन् । त्यसैगरी फ्राइसोना, सन्ताना र स्थानीय नीलो जातका आलु पनि कार्यालयले अनुसन्धान गर्दै आएको छ ।

औद्योगिक आलुका रूपमा फ्रेन्चफ्राई, चिप्सजस्ता वस्तु उत्पादनका लागि आवश्यक आलु जिल्लामा उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने अध्ययन भइरहेको र सम्पूर्ण नजिता यस वर्ष आलु खनेपछि प्राप्त हुने जिल्ला कृषि कार्यालयका प्रमुख झलकनाथ कँडेलले बताए ।

किसानले लगाउँदै आएका परम्परागत आलुभन्दा परीक्षणका लागि लगाइएका आलुको उत्पादन, आकार, लोकप्रियता, स्वाद, रोग किराको आक्रमण, बिक्री–वितरणमा सहजतालगायतका विषयमा अध्ययन गरिँदै आइएको उनको भनाइ छ । रासस

छुटाउनुभयो की ?