हिमाली जिल्ला मनाङ र मुस्ताङमा कोभिड महामारीपछि गत वर्ष सबैभन्दा धेरै विदेशी पर्यटक पुगेका छन् । सन् २०२४ मा यी दुई जिल्लामा १ लाख ६६ हजार ५८५ जना पर्यटक पुगेका छन् । त्यसमध्ये मुस्ताङमा एक लाख ३५ हजार ७१९ र मनाङमा ३० हजार ८६६ पर्यटक पुगेका हुन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार गत वर्ष ३० हजार ८६६ पर्यटक मनाङ भित्रिएका छन्। एक वर्षमा १८ हजार ४९९ पुरुष, १२ हजार ३६२ महिला र पाँचजना अन्य लैंगिक पहिचान भएका विदेशी नागरिक यहाँ आएका तथ्यांक रहेको भुजेलले बताए।
सन् २०२३ मा २१ हजार २४७ पर्यटक मनाङ भित्रिएका थिए । सन् २०२२ मा मनाङमा १५ हजार ९०३ विदेशी पर्यटक भित्रिएका थिए । कोभिड महमारीको समयमा पनि सन् २०२० मा एक हजार ९७६ र सन् २०२१ मा दुई हजार ३७३ बाह्य पर्यटक भित्रिएका थिए।
साथै, सन् २०१९ मा २६ हजार ६४७, सन् २०१८ मा २९ हजार ४८४ र सन् २०१७ मा २७ हजार ६८ पर्यटक भित्रिएका थिए। यहाँ आउने अधिकांश विदेशी पर्यटक विश्वको दशौँ स्थानमा पर्ने जोखिमयुक्त अन्नपूर्ण पदमार्गमा यात्राका लागि आउने गरेका छन् । फ्रान्स, इजरायल, जर्मनी, भारतका साथै अन्य देशका नागरिक आउने क्रम बिस्तारै बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।
लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ। बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङपास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदमार्गको यात्रा पूरा हुन्छ।
पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन्। अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ।
घुम्नलायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । हिमाली क्षेत्र, अग्ला पहाड र जैविक विविधताले भरिपूर्ण रहेकाले यहाँ पर्यटकको आकर्षण बदेको भन्दै यहाँ आउने पर्यटकले मानव जीवनको वास्तविकता, स्थानीय परिकार र संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरतालगायत हिमाली दृश्य अवलोकन गर्न आकर्षित हुने भुजेलले बताए । अन्नपूर्ण पदमार्गमार्फत मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका– ७ मनाङे चौताराबाट यात्राको सुरुवात हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएका छन् ।
यस्तै, हिमाली जिल्ला मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ५०.२० प्रतिशत अथवा ४५ हजार ३६३ ले बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।
मुस्ताङ घुम्ने पर्यटकको संख्या सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना पुगेको एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए। सन् २०२३ मा ९० हजार ३५६, सन् २०२२ मा ६५ हजार ९४०, सन् २०२१ मा दुई हजार ३०० र २०२० मा दुई हजार ३४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजार जनासम्म पर्यटक आएका तथ्यांक छ ।
सन २०२४ मा मुस्ताङ भ्रमणमा आएकामध्ये एक लाख नौ हजार ५४९ जना सार्क राष्ट्रका र २६ हजार १७० जना तेस्रो मुलुकका छन् । हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरू मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।
म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ काटेर पनि पर्यटक मुस्ताङ छिर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ । मुस्ताङस्थित मुक्तिनाथ क्षेत्र विश्वभरका हिन्दुमाझ पवित्र धार्मिक स्थल मानिन्छ । मुक्तिनाथकै बाटो भएर बौद्ध भिक्षु पद्यसम्भव बौद्ध धर्म प्रचारका लागि तिब्बत गएको हुँदा त्यस क्षेत्र बौद्धहरूको पनि तीर्थस्थलका रूपमा चिनिन्छ ।