मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ १० बिहीबार o८:१८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एक वर्षभित्र महाधिवेशन गर्ने एमाले गृहकार्य 

वामदेवको समूहसँग एकतामा हतार नगर्ने एमाले निर्णय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार o८:१८:oo

भदौमा विधान महाधिवेशन सकिएपछि ६ महिनाभित्र नेतृत्व निर्वाचित गर्नेगरी राष्ट्रिय महाधिवेशन गर्ने ‘मुड’ मा ओली

सत्तारूढ दल एमालेले एक वर्षभित्र पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने गरी प्रारम्भिक गृहकार्य अगाडि बढाएको छ । आगामी २०–२२ भदौमा विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरेर एमालेले एघारौँ राष्ट्रिय महाधिवेशन गर्ने गरी प्रारम्भिक गृहकार्य अगाडि बढाएको हो । 

स्थायी समिति सदस्य तथा प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले ०८२ को अन्तिमसम्म या ढिलोमा ०८३ को वैशाखभित्र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने गरी केन्द्रीय सचिवालय बैठकले विधान महाधिवेशनको मिति तय गरेको जानकारी दिए । ‘ढिलोमा ०८३ को वैशाख, नत्र ०८२ भित्रै राष्ट्रिय महाधिवेशन आयोजना गर्ने गरी विधान महाधिवेशनको मिति तय भएको हो । दसौँ महाधिवेशन आयोजना भएको ०८२ मंसिरमै पाँच वर्ष टेक्छ, त्यसको ६ महिनाभित्र त महाधिवेशन गरिसक्नुपर्छ,’ उनले भने, ‘सामान्यतया विधान महाधिवेशन भएको ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन गरिसक्नुपर्छ भन्ने मान्यता र अभ्यास भएकाले पनि हामी एक वर्षभित्रै आयोजना गर्दै छौँ ।’ 

राजेन्द्र गौतम, प्रमुख एमाले प्रचार विभाग
दसौँ महाधिवेशन आयोजना भएको ०८२ मंसिरमै पाँच वर्ष टेक्छ, त्यसको ६ महिनाभित्र त महाधिवेशन गरिसक्नुपर्छ । सामान्यतया विधान महाधिवेशन भएको ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन गरिसक्नुपर्छ भन्ने मान्यता र अभ्यास भएकाले पनि एक वर्षभित्रै आयोजना गर्दै छौँ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार राति बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको विधान महाधिवेशन ललितपुरको गोदावरीमा गर्ने निर्णय गरेको थियो । यसअघि दसौँ महाधिवेशनको दुई महिनाअघि १५–१७ असोज ०७८ मा पार्टीको विधान महाधिवेशन एमालेले सोही स्थानमा सम्पन्न गरेको थियो । त्यसलगत्तै ९ मंसिरमा दसौँ महाधिवेशन चितवनमा सम्पन्न भएको थियो । 

गत २३ पुसमा केन्द्रीय कमिटी बैठक सम्पन्न भए पनि त्यहाँ विधान महाधिवेशनको प्रस्तावमाथि कुनै छलफल भएको थिएन । तर, कतिपय केन्द्रीय सदस्यले राष्ट्रिय महाधिवेशनको विषयसमेत उठान गरेकाले पनि त्यसलाई समेत ध्यानमा राखेर पहिले विधान महाधिवेशनको मिति तय भएको गौतमले बताए । ‘केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय महाधिवेशन समयभित्रै गर्नुपर्छ भन्ने आवाज उठेको थियो, त्यसलाई समेत ध्यानमा राखेर सचिवालयले विधान महाधिवेशनको मिति तय गरेको हो,’ उनले भने । 

नीति महाधिवेशन र नेतृत्व चयन गर्ने महाधिवेशन अलग–अलग गर्ने एमालेको विधानमा व्यवस्था छ । नीति महाधिवेशनले सिद्धान्त, कार्यदिशा, विधानसँगै निर्वाचन आयोगको नेतृत्व निर्वाचित गर्छ । त्यसलगत्तै राष्ट्रिय महाधिवेशनको मिति तय भएपछि केन्द्रीय निर्वाचन आयोगले नै नेतृत्व चयनका लागि आन्तरिक गृहकार्य सुरु गर्छ ।

एमालेको विधानको धारा १५ मा केन्द्रीय कमिटीले दुई राष्ट्रिय महाधिवेशनको बिचमा विधान महाधिवेशन आयोजना गर्ने, राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै विधान महाधिवेशनका पनि प्रतिनिधि हुने व्यवस्था गरेको छ । जसअनुसार ९ मंसिर ०७८ मा चितवनमा आयोजना भएको दसौँ महाधिवेशनको प्रतिनिधि नै एमालेको विधान महाधिवेशनको पनि प्रतिनिधि रहनेछन् । विधान महाधिवेशन सञ्चालन गर्न आवश्यक संरचना गठन गर्ने, केन्द्रीय कमिटीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोगका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने विधानमा उल्लेख छ ।

अध्यक्ष केपी ओली सकेसम्म ०८२ भित्रै महाधिवेशन सम्पन्न गरेर आफ्नै नेतृत्वमा ०८४ को निर्वाचन गर्ने योजनामा छन् । ओलीको योजनाअनुसार नै एमालेले मिसन ०८४ केन्द्रित कार्ययोजना बनाएर अगाडि बढाइरहेको छ । सचिवालयको पछिल्लो बैठकले महाधिवेशनकै तयारीलाई सहयोग पुग्ने गरी माघ, फागुन र चैतमा वडाकेन्द्रित अभियान चलाउने निर्णय गरेको छ । 

वामदेवको समूहसँग एकतामा हतार नगर्ने एमाले निर्णय
एमालेको मंगलबारको केन्द्रीय सचिवालय बैठकले वामदेव गौतमको निर्णय र मागबमोजिम उनीसहित उनको नेतृत्वमा रहेको नेकपा राष्ट्रिय एकता अभियानलाई पार्टीमा सहकार्य गर्दै जाने, तर प्रक्रिया पूरा नभएसम्म हतार नगर्ने निर्णय गरेको छ । एमालेको यस्तो निर्णयको जानकारी पाएपछि गौतमले उपमहासचिव प्रदीप ज्ञवाली र प्रचार विभाग प्रमुख राजेन्द्र गौतममार्फत ढिलाइ नगर्न सन्देश दिएका छन् । गौतमका तर्फबाट अभियानका सहसंयोजक डिबी कार्कीले गौतमसँग कुराकानी गरेका छन् । 

 

छुटाउनुभयो की ?