कुहिने फोहोरबाट ग्यास र प्रांगारिक मल उत्पादन गर्ने तथा नकुहिने फोहोर पुनः प्रयोगमा ल्याउने भन्दै झापाको दमक नगरपालिका– २ स्थित हम्सेदुम्सेमा ०७८ मै बायोग्यास प्लान्ट बनाइएको छ । संघ सरकारको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको पाँच करोड ८८ लाख २७ हजार र २० वर्षसम्म बायोग्यास चलाउने जिम्मा पाएको नेक्स्टइरा इनर्जी प्रालि–रोहन ट्रेडर्स जेभीको १४ करोड ७० लाख लगानीमा प्लान्ट बनाइएको थियो । तर, दमक नगरपालिका क्षेत्रबाट दैनिक संकलन हुने ३६ टनमध्ये अधिकांश फोहोर हम्सेदुम्से वन क्षेत्रमा फाल्ने गरिएको छ ।
‘ग्यास बिक्री गर्न नसक्दा हामीले फुलफेजमा प्लान्ट चलाउन सकेका छैनौँ, संकलन हुने फोहोरको २० प्रतिशत मात्र ग्यास उत्पादन र मल बनाउन प्रयोग भइरहेको छ,’ नेक्स्टइराका सञ्चालक विमल खतिवडाले भने, ‘कुहिने र नकुहिने फोहोर छुट्याउने सेग्रिगेसन मेसिन नहुँदा धेरै फोहोर डम्पिङ गर्नुपरेको हो ।’
कुहिने फोहोरबाट ग्यास उत्पादन गर्ने र नकुहिने फोहोरलाई पुनः प्रयोगमा ल्याउने गरी योजना अघि सारिएको थियो । सेग्रिगेसन मेसिन पनि दमक नगरपालिकाले किनिदिने सम्झौता छ । तर, नगरपालिका भने फोहोर छुट्याउने मेसिन खरिदमै द्विविधामा छ । ‘नगरसभाले ४० लाख छुट्याएको छ । तर, नेक्स्टइराले भनेजस्तो खरिद गर्न एक करोड पर्ने रहेछ । अब नगरसभाले बजेट बढायो भने मात्र प्रक्रिया अगाडि बढ्छ,’ दमक नगरपालिकाका सूचना अधिकारी समीप चुडालले भने ।
त्यस्तै, उपभोक्तालाई कुहिने र नकुहिने फोहोर छुट्याएर दिन भनिए पनि योसमेत पालना भएको छैन । फोहोर छुट्याउन सकिए संकलनमध्ये ७० प्रतिशत प्लान्टमा खपत गर्न सकिने खतिवडाको भनाइ छ । त्यसबाहेक बाँकी फोहोर पनि पुनः प्रयोग गर्न सकिन्छ । कम्पनीसँगको सम्झौताअनुसार ल्यान्डफिल साइट नगरपालिकाले नै उपलब्ध गराउनुपर्ने उनले बताए । ‘हामी त नगरपालिकाले जहाँ दियो, त्यहीँ व्यवस्थापन गर्ने हो,’ उनले भने, ‘फोहोर खनेर गाड्ने गरेका छौँ ।’
कानुनविपरीत वनमा फोहोर, पालिका र वनबिच द्वन्द्व
नगरपालिकाले कानुनविपरीत वनजंगलमा फोहोर फ्याँकेपछि दमक नगरपालिका र डिभिजन वन कार्यालय झापाबिच द्वन्द्व छ । डिभिजन वन कार्यालय झापाले गत वर्ष प्रदेश वन ऐन देखाउँदै वन क्षेत्रमा फोहोर फाल्न निषेध गरेको थियो । त्यसपछि एक हप्ता दमकको फोहोर उठेन ।
प्रदेश वन ऐनको दफा ६७ मा ‘राष्ट्रिय तथा प्रादेशिक वन क्षेत्रभित्र कसैले पनि प्लास्टिक र प्लास्टिकजन्य फोहोर तथा अन्य कुनै प्रकारका फोहोर फाल्न हुँदैन’ उल्लेख छ । यसरी वन क्षेत्रमा फोहोर फाल्दा ५० हजारसम्म जरिवाना हुने उक्त ऐनको दफा ६९ मा उल्लेख छ । तर, कानुनको कार्यान्वयन गर्ने निकाय दमक नगरपालिकाले नै वनमा बलजफ्ती गरेर फोहोर फालिरहेको छ ।
नगरपालिकाले प्रहरी प्रशासनको आडमा एक वर्षदेखि बलजफ्ती फोहोर फ्याँकिरहेको डिभिजन वन झापाका प्रमुख मेघराज राईले बताए । ‘सामुदायिक वनका मान्छेहरू छेक्न गएका थिए, तर नगरपालिकाले प्रहरी प्रशासन लिएर आएपछि अप्रिय घटना नहोस् भनेर हामी पछि हट्यौँ,’ उनले भने ।
दमक–चिसापानी सडकनजिकै वन क्षेत्रमा फोहोर फाल्दा सडकमा यात्रा गर्ने यात्रुमा मात्र हैन, नजिकै रहेको चुलाचुली–५ को सुकुमवासी बस्तीमा समेत दुर्गन्ध फैलिएको छ । फोहोर खान आउने हात्तीले बस्तीमा जोखिम बढाएको छ । ‘हामीले यहाँ फोहोर नफाल्न भन्दै आन्दोलन नै ग¥यौँ । तर, हाम्रो कुरा कसैले सुनेन । फोहोरको गन्ध घरसम्मै पुग्छ । खाना खाने वेलामा समेत गन्हाएर निकै गाह्रो बनाउँछ,’ प्रभावित बस्तीका जयबहादुर राईले भने, ‘फोहोर खान हात्तीको हुल नै आउँछ । जसले गर्दा हामीलाई ठुलो समस्या बनाएको छ ।’
वनमा फाल्ने फोहोरमा हात्ती पल्किँदा गाउँमा समेत प्रवेश गर्न थालेको राईले बताए । ‘हात्ती हिँड्ने बाटोमा फोहोर फालिएको छ । हात्ती फोहोरमा पल्किएपछि बढी आक्रामक हुने, मान्छेलाई आक्रमण गर्ने, वरिपरिका बस्तीमा दुःख दिने हुन्छ,’ उनले भने, ‘फोहोरका कारण त्यहाँ तीनवटा हात्ती नियमित बस्छन् । हात्तीले पकाएको चिज मिठो हुन्छ भनेर थाहा पाउन थाल्यो, नुनमा पल्किएको छ ।’
दमक नगरपालिकाका मेयर रामकुमार थापाले भने नगरभित्र फोहोर फाल्ने अन्य विकल्प नभएकाले वनमा फालिएको बताए । उनले कानुनी प्रक्रिया पूरा गर्न नगरसभाबाट निर्णय भएर प्रदेश सरकारसम्म पुगेको उनको भनाइ छ । ‘सामुदायिक वन क्षेत्र जनताले उपभोग गर्न नपाउने हो ? यो डिभिजन वनको अंशमा परेको त हैन होला नि ! दाइजो पनि हैन होला ! व्यवस्थित भएन होला, त्यो अलग कुरा हो । व्यवस्थित गर्ने प्रक्रियामा छौँ,’ उनले भने, ‘ऐनअनुसार नै जग्गा प्राप्त गर्न डिभिजन वनभन्दा माथिल्लो निकाय प्रदेश सरकारसम्म गएका छौँ । जग्गा पाएपछि व्यवस्थित गर्ने हो । पहिलादेखि नै यहीँ फाल्दै आएको हो । अहिले फरक पार्टीको मेयर भएर त हैन ? त्यो वेला वन कहाँ थियो ?’
फोहोरबाट उत्पादन भएको ग्यास प्रयोगविहीन, गरिन्छ नष्ट
फोहोरबाट ग्यास उत्पादन भए पनि प्रयोगविहीन छ । अहिले पनि दैनिक १२ सय किलोग्राम बायोग्यास बालेर उडाइन्छ । प्लान्ट व्यवस्थापनको जिम्मा पाएको नेक्स्टइरा इनर्जी ग्यास सिलिन्डरमा हालेर बेच्ने पूर्ववर्ती सम्झौताबाट पछि हटेको छ भने पाइपलाइन पनि महँगो भन्दै अगाडि बढाइएको छैन ।
नेक्स्टइराका सञ्चालक विमल खतिवडाका अनुसार खर्चिलो भएकाले पाइपलाइन योजना अगाडि बढाउन सकिएको छैन । ‘२० वर्षमा हामीले परियोजना हस्तान्तरण गर्नुपर्छ । धेरै लगानी गर्दा पनि गाह्रो हुन्छ । बैंकले पनि यही योजनालाई धितो मानेन । तसर्थ लगानी गर्न गाह्रो भयो,’ उनले भने, ‘भारतमा यसरी उत्पादन भएको ग्यास सवारीसाधनमा प्रयोग भएको रहेछ । हामीले पनि त्यही कोसिस गरिरहेका छौँ । सम्भवतः चैत÷वैशाखबाट ग्यास प्रयोगमा आउँछ ।’ अहिले १२ सय केजी ग्यास उत्पादन गरेर खेर फालिए पनि व्यवस्थापनको योजना बनेमा भने दैनिक २२ सय किलोग्राम उत्पादन क्षमता रहेको उनले बताए ।
प्रांगारिक मल भने बिक्री भइरहेको छ । प्लान्टबाट ०७९ भदौदेखि ग्यास उत्पादन सुरु भएको हो । कम्पनीले दमक–२ स्थित हम्सेदुम्से वन क्षेत्रमा दमक नगरपालिकाले उपलब्ध गराएको तीन बिघा क्षेत्रफलमा ग्यास प्लान्ट निर्माण गरेको हो ।