रेलमा आगलागी भएको हल्लाका कारण भागदौड मच्चिदा भारतमा रेलले किचेर ११ जनाको मृत्यु भएको छ । यात्रुहरू रेलबाट हाम फालेपछि अर्को आउँदै गरेको रेलले किचेर मृत्यु भएको हो । यो घटना पश्चिमी महाराष्ट्र राज्यमा बुधबार भएको हो ।
देशको आर्थिक केन्द्र मुम्बईबाट करिब चार सय किलोमिटर टाढा घटना भएको जलगाँव जिल्लाका शीर्ष अधिकारी आयुष प्रसादले बताए । उनले भने, ‘मानिसहरूलाई रेलले किचेको छ । ११ जनाको मृत्यु भएको छ र पाँचजनाको उपचार भइरहेको छ ।’
आगलागीको अलार्म सत्य थियो वा झुटो भन्ने स्पष्ट भएको छैन । भारतीय रेलवेका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय मिडियाले कसैले मुम्बई जाने रेलमा ‘अलार्म चेन’ तानेको र त्यसपछि ‘केही यात्रु रेलबाट ओर्लिएको’ बताएका छन् । त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको अर्को रेलले उनीहरूलाई किचेको प्रवक्ताले बताए ।
भारतका गृहमन्त्री अमित शाहले दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । यस्तै, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविसले दुःखद् एवं अत्यन्त विचलित पार्ने घटना बताएका छन् ।
भारतले अर्थतन्त्र र कनेक्टिभिटी बढाउन ३० अर्ब डलरको रेल पूर्वाधार आधुनिकीकरण सुरु गरेको छ । तर विश्लेषकहरूका अनुसार दुर्घटनाको सङ्ख्या समयको साथ घट्दै जाँदा भारतको पुरानो रेल प्रणालीले अझै धेरै लामो यात्रा गर्न बाँकी छ ।
सरकारी तथ्याङ्कअनुसार सन् २०१७ देखि २०२१ सम्म वार्षिक औसत २० हजार मानिसको रेल दुर्घटनामा मृत्यु भएको छ ।