१२ पुसमा कञ्चनपुरमा एक प्रहरी जवानले आफैँमाथि गोली चलाएको घटना सेलाउन नपाउँदै फेरि अर्का प्रहरी जवानले आफैँमाथि गोली चलाएका छन्। बुधबार राति सवा ८ बजेतिर महेन्द्रनगरस्थित विपत् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टले आफैँमाथि गोली चलाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले प्रहरी जवान विष्टले आफैँमाथि गोली चलाएको बताए। गोली प्रहारबाट विष्ट गम्भीर घाइते भएका छन्। विष्टको नाकमा गोली लागेको छ। विष्टको उपचारका लागि महाकाली अस्पतालमा लगिएको, तर अस्पतालले रिफरको तयारी गरिरहेको छ।
घटनाको कारण पत्ता नलागेको कञ्चनपुरका प्रहरी प्रवक्ता जोशीले बताए। ‘यो घटना किन के कारणले भयो भन्ने कारण खुलेको छैन,’ उनले भने, ‘प्रहरीले अनुसन्धान अघि बढाएको छ।’
करिब एक महिनाअघि (१२ पुस) पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली चलाएका थिए। न्यौपानेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी जवानद्वय न्यौपाने र विष्टले आत्महत्या गर्न खोजेको अनुमान गरिएको छ।