बुटवलस्थित सुप्रिम सहकारीको ठगीमा प्रहरीले बिहीबार १७ जनाविरुद्ध संगठित अपराधको कसुरमा अभियोग दर्ता गरेको छ । गत बैशाखमा नै सहकारी ठगीको मूल मुद्दा दायर गरिएका २८ जनामध्ये १७ जनालाई संगठित अपराध लगाइएको हो ।
सहकारीका सञ्चालकहरू गितेन्द्रबाबु(जिबी )राई, अध्यक्ष ओमप्रकाश गुरुङ, सागर केसी र दिनेश रोकासहित लगायतविरुद्ध बिहीबार जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दायर भएको हो ।
उनीहरुविरुद्ध गत ३ बैशाखमा मुल अभियोग दर्ता भइसकेको छ । हालको अनुसन्धानमा उनीहरुमध्ये १७ जनामाथि संगठित अपराधको कसुर आकर्षित भएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए। गत वर्ष २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये अध्यक्ष ओमप्रकाश गुरुङ कारागारमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुन, नवीन अछामी, दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने, नीता गुरुङ र रोशनी गुरुङ धरौटीमा छुटेका थिए ।
रास्वपाका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी लगायतको हकमा भने शुक्रबार छुट्टै मुद्दा दायर गर्न लागिएको छ । बिहीबार समय अपुग भएकाले शुक्रबार उनीहरुको हकमा मुद्दा दायर गरिने जिल्ला न्यायाधिवक्ता पौडेलले बताए । लामिछानेलाई करिब चार करोड रुपैयाँको बिगो कायम गर्न लागिएको छ ।
जिबी राई समूहले सञ्चालन गरेका सहकारीको पैसा गोर्खा मिडियामा गएकोमा गोर्खा मिडियाको तत्कालिन सञ्चालकको रुपमा लामिछाने त्यो रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै उनलाई सबै सहकारीको मुद्दामा प्रतिवादी बनाउन लागिएको छ । कास्की र काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर भइसकेकोमा उनी धरौटीमा छुटेका छन् । कुनै पनि सहकारीमा संलग्न नभएको र ऋण समेत नलिएको अवस्थामा आफुलाई प्रतिशोधस्वरुप मुद्दा दायर गरिएको लामिछानेले बताउँदै आएका छन्।