नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को आठौँ संस्करण चैत ७ देखि ११ गतेसम्म हुने भएको छ। फेस्टिभलमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वहरूबिच छलफल तथा कार्यशालाहरू सञ्चालन हुनेछन्।
आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अनुसार महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको छ। महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन्।
प्रविधिमा आएको विकासलाई आत्मासात् गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएको वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि हुने आयोजकले जनाएको छ।
महोत्सवमा छानिएका चलचित्रहरू सिभिल मल र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन्। त्यस्तै, पर्यटन बोर्डको हल र राष्ट्रिय सभागृहमा विभिन्न किसिमका छलफलहरू सञ्चालन गरिनेछ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ। सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ।
यसैगरी, एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ। नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ।