नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) केन्द्रीय समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । शनिबार सानोठिमीमा सम्पन्न चौथो केन्द्रीय महाधिवेशनबाट रामकृष्ण पराजुलीको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर खत्री निर्वाचित हुँदा उपाध्यक्ष (महिला)मा सुनिता गौतम र अन्य दुई उपाध्यक्षमा प्रदिप श्रेष्ठ र त्रिचन्द्र खराल निर्वाचित भएका निर्वाचन समितिका सदस्य प्रकाश अवालेले बताए ।
कार्यसमितिको महासचिवमा खिमबहादुर परियार निर्वाचित भएका छन् भने सचिवहरू पवन दाहाल, शरद कुमार शर्मा र नारायण अधिकारी रहेका छन् । कार्यसमितिको कोषाध्यक्षमा प्रकाश पोखरेल निर्वाचित भएका अवालेले बताए ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद मातहतका कार्यालय र शिक्षालयमा रहेका संगठनबाट करिब १ सय ९० महाधिवेशन प्रतिनिधि छनौट भई आएका निवर्तमान अध्यक्ष तेजबहादुर खत्रीले जनाएका छन् । महाधिवेशनले अध्यक्ष, सचिव र कोषाध्यक्षका प्रतिवेदन पारित गर्नुका साथै विविध महत्वपूर्ण नीतिगत निर्णय समेत गरेको उनले बताएका छन् ।