नेकपा एकीकृत समाजवादी ( नेकपा एस ) का महासचिव घनश्याम भुसालले कांग्रेस र एमाले सत्ता स्वार्थका लागि मात्रै बनेको टिप्पणी गरेका छन् । नेकपा एस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले सत्ताको स्वार्थसँग जोडिएर बनेको सरकारले केही काम गर्न नसक्ने बताए ।
उनले कांग्रेस र एमालेले संविधान संशोधनको कुरा गरे पनि त्यो गर्न नभई सत्तामा पुग्नका लागि मात्रै भनेको बताए । उनले भने, ‘संविधानको कुरा या त नसोचेर ल्याए या त झुक्याउन ल्याए ।’ दुईटा ठूला दल किन मिलेको भन्दा संविधान संशोधन गर्न भनेर देखाउने गरिए पनि भित्र अर्कै उद्देश्य रहेको जिकिर गरे । उनले भने, ‘यो सरकार केही पनि काम नगर्नका लागि बनेको हो । एउटा भारतसँग रिसाएको छ, कांग्रेसलाई बिआरआईको नाम लिनेबितिकै ज्वरो आएको छ । अन्तर्राष्ट्रिय राजनीतिले पनि गर्दैनन्, यी दुई दलले केही पनि गर्दैनन ।’
उनले सरकारले रास्वपाका सभापति रवि लामिछानेको सन्दर्भममा एकै ठाउँमा मुद्दा चलाए हुनेमा बढी दुःख दिएको भान जनताले गरेको बताए । राज्यले व्यक्तिगत बदला लिन नहुने उनको भनाइ छ ।
महासचिव भुसालले आफ्नो पार्टी आन्दोलनबाट स्थापित हुने पनि बताए । ‘वर्तमान सरकारले नालयकी गर्छ, नालयकीको विरोध हुन्छ, त्यसले गैरजिम्मेवार व्यक्तिहरू अगाडि आउन सक्छन्,’ महासचिव भुसालले भने । अगुवा कार्यकर्ताहरू समेत भएको बैठकमा महासचिव भुसालले अब नेकपा एसलाई आन्दोलनबाट स्थापित गर्ने बताए ।
उनले स्थानीय, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरका समस्यालाई आन्दोलनका रुपमा अगाडि बढाएर ८४ को निर्वाचनसम्म स्पष्ट मुद्दा बोक्ने पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रिय पुँजीको विकास गरी सुदृढ मुलुक बनाउनुपर्ने बताउँदै त्यसका लागि अब कांग्रेस एमालेको विकल्पमा आफूहरूको पार्टीले नयाँ कार्यक्रम ल्याएर जनताको बिचमा आउने दावी गरे ।
बैठकमा नेकपा एसका पोलिटब्यूरो सदस्य एवं रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले प्रस्ताव र केन्द्रीय समितिको सर्कुलका बारेमा जानकारी दिए । बैठकमा केन्द्रीय सदस्यहरू सिद्धिचरण भट्टराई, बाबुलाल यादव, उमा काफ्ले, भगवती अधिकारीसहित प्रदेशका, जिल्ला र जनवर्गीय संगठनका पदाधिकारीहरूको उपस्थिति थियो ।
युवा संघका पूर्वअध्यक्षसहित चारजना समाहित
बैठकमै नेकपा एमाले निकट युवा संघ सिद्धार्थनगरका पूर्व अध्यक्ष प्रकाशभक्त श्रेष्ठ नेकपा एसमा समाहित भएका छन् । यसैगरी नेकपा एमाले क्षेत्र नम्बर १ का पूर्व क्षेत्रीय सदस्य खेलकुद विभाग देवदहका प्रमुख अरुण गहतराज, एमालेका वडा नमबर ७ का नेता विवेक श्रेष्ठ र मर्चवारका अनुप यादव पनि नेकपा एसमा समाहित भएका छन् । महासचिव भुसालले चारै जनालाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
जिल्ला अधिवेशन ९ चैतमा
विस्तारित बैठकले नेकपा एस रुपन्देहीको जिल्ला अधिवेशन आगामी १ चैतमा बुटवलमा गर्ने निर्णय गरेको उपाध्यक्ष चिनबहादुर गुरुङले बताए । बैठकले आगामी माघ मसान्तसम्म सदस्यता नविकरण छुट गरेको र नयाँ सदस्यता दिने निर्णयसमेत गरिएको उपसचिव टंक पोखरेलले बताए । यस्तै, अधिवेशनका लागि तयारी समितिहरू समेत गठन गरिएको अर्का उपसचिव मिरा श्रेष्ठले बताइन् ।