मनग्य आम्दानी हुने भएपछि सतुवाखेती भोजपुरका किसानकाे रोजाइमा परेको छ । बहुउपयोगी मानिने जडीबुटी सतुवाखेतीमा यहाँका किसानको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् ।
अन्य बालीको खेतीको तुलनामा सतुवाबाट राम्रो आम्दानी हुने किसानले बताउने गरेका छन् । सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउने किसानको भनाइ छ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर–पश्चिम फर्किएको भूगोल उपयुक्त मानिन्छ ।
सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । एक हजार चार सय मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगका लागि उपयोगी मानिन्छ । सतुवा यार्सागुम्बाजस्तै शक्तिवर्द्धक हुने व्यवसायीहरूले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्यास्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने बताइन्छ ।
त्यस्तै, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको वेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको किसानको भनाइ छ । सतुवा अहिले प्रतिकेजी रु. आठदेखि दश हजारसम्म बिक्री हुने किसानको भनाइ छ । केही वर्ष अगाडिसम्म प्रतिकेजी रु. २० हजारसम्ममा बिक्री भएको भए पनि पछिल्लो समय मूल्यमा केही गिरावट आएको छ । तैपनि किसानले भने यसको खेती अझै विस्तार गरिरहेका छन् ।
यो सतुवा टुसाउने समय रहेको किसानको भनाइ छ । जमिनमा रहेको गानो माघ, फागुन महिनामा पुनः पलाउने गर्दछ । किसानले यसको गानो खनेर सुकाएपछि बिक्री–वितरण गर्दै आएका छन् । बिरुवा रोपेको दुईदेखि तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ ।
यसको जमिनमुनिको गानो अदुवा जस्तै देखिन्छ । प्रायः एउटा बोटबाट एउटा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले धेरै वटासम्म ठाँड दिने गर्दछ । सतुवाखेतीबाट राम्रो आम्दानी लिन सकिने टेम्केमैयुङ गाउँपालिकाका किसान एकराज विष्टले बताए । अघिल्ला वर्षको तुलनामा मूल्यमा केही गिरावट आए पनि किसानले भने खेती गर्न नछाडेको उनको भनाइ छ । आफूले लामो समय विदेशमा बिताएर आएर सतुवाखेतीमा लागेको उनको भनाइ छ ।
‘किसानमा सतुवाखेतीमा आकर्षण बढेको छ,’ उनले भने, ‘गाउँघरमा प्रायः धेरैले यसको खेती गरिरहेका छन् । पछिल्लो समयमा मूल्यमा केही गिरावट आए पनि अन्य बालीको तुलनामा आम्दानी राम्रो छ । आफूले खान पनि सतुवालाई लाभदायक मानिन्छ ।’ विदेशमा भन्दा स्वदेशमा मिहिनेत गर्न सके यहीँ राम्रो आम्दानी लिन सकिने विष्टको भनाइ छ । अहिले आफूले सतुवासँगै व्यावसायिक रूपमा किवीखेतीसमेत गरिरहेको विष्टले बताए ।
सतुवा जिल्लाको टेम्केमैयुङ गाउँपालिका– १ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका– २ हेलौँछा, षडानन्द नगरपालिका– ९ किमालुङ र वडा नं. १० बोयाको माथिल्लो भेग र आमचोक गाउँपालिका– ४ र साल्पासिलिछो गाउँपालिका– ४ खाटम्मालगायतमा किसानले व्यावसायिक खेती गर्दै आएका छन् ।