१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ जेठ १८ शनिबार ०६:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

मोदीलाई प्रधानमन्त्री ओलीले दिए नेपाल भ्रमणको निम्तो

Read Time : > 1 मिनेट
२०७६ जेठ १८ शनिबार ०६:२४:००

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको राजकीय भ्रमणको निम्तो दिएका छन् । दोस्रोपटक सरकारको नेतृत्व सम्हालेका मोदीसँग शुक्रबार हैदराबाद हाउसमा भएको पहिलो भेटवार्तामा ओलीले भ्रमणको निम्ता दिएका हुन् । मोदीले निम्ता स्वीकार गरेका छन् । दुई प्रधानमन्त्रीबीच २० मिनेट वार्ता भएको थियो ।

‘प्रधानमन्त्रीले मोदीको सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ । राष्ट्रपतिको बधाई सन्देश पनि सुनाउनुभएको छ,’ दिल्लीस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आ–आफ्नो नेतृत्वमा नेपाल–भारत सम्बन्धमा भएका प्रगतिबारे दुवै प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालको राजकीय भ्रमणका लागि दिनुभएको निम्ता मोदीले स्वीकार गर्नुभएको छ ।’

द्विपक्षीय सम्बन्ध थप सुमधुर गर्ने विषयमा पनि दुवै प्रधानमन्त्रीबीच छलफल भएको छ । शपथग्रहणमा प्रधानमन्त्री ओलीको आगमनप्रति मोदीले आभार व्यक्त गरेका छन् । ओलीले मोदीलाई पशुपतिनाथको प्रतिमा र रुद्राक्ष उपहार दिएका छन् । मोदीसँगको भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास बैरागी, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलगायत सहभागी थिए ।

मोदीको दोस्रो कार्यकालमा विश्वका सरकारप्रमुखसँगको पाँचौँ भेट ओलीसँग भएको हो । शपथग्रहणपछि मोदीले किर्गिस्तान, बंगलादेश, श्रीलंका र मोरिससका शीर्ष नेता भेटेपछि ओलीसँग भेटेका हुन् । भारतका प्रधानमन्त्री मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सदस्य मुलुक नेपाल, भुटान, बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्यान्डका कार्यकारी प्रमुखलाई शपथग्रहण समारोहको अतिथिका रूपमा निमन्त्रणा गरेका थिए ।

सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को अध्यक्षराष्ट्र किर्गिस्तान र भारतीय मूलका जनता बाहुल्य रहेको मोरिससबाट पनि शपथग्रहणमा उच्चस्तरीय प्रतिनिधि पुगेका थिए । तर, मोदीले शपथग्रहणमा आठ छिमेकीमध्ये पाँच देशका कार्यकारी प्रमुखलाई मात्रै बोलाएका थिए ।

बिहीबार मोदीको शपथग्रहणका लागि दिल्ली गएका प्रधानमन्त्री ओली शुक्रबार अपराह्न स्वदेश फर्केका छन् । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई राजकीय भ्रमणका लागि निमन्त्रणा दिएकी छिन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भारतीय समकक्षी डा. एस जयशंकरलाई बधाई सन्देश पठाएका छन् ।