संघीय संसद्को कार्यकालको दुई वर्षपछि सभामुख देवराज घिमिरेले बिहीबार ४४ देशका लागि संसदीय मैत्री समूह गठन गरेका छन् । संसद् सचिवालयका अनुसार कांग्रेसले १४, एमालेले १२, माओवादीले ६, रास्वपाले तीन, राप्रपा र एकीकृत समाजवादी दुई–दुई तथा जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्तिले एक–एक देशको संयोजक पाएका छन् । कांग्रेसले अमेरिका, एमालेले भारत र रसिया, माओवादीले चीन तथा रास्वपाले बेलायतको नेतृत्व प्राप्त गरेका छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभा समेटेर ४४ देशका लागि मैत्री समूह गठन गरिएको प्रवक्ता एकराम गिरीले बताए । मैत्री समूहमार्फत नेपालसँग दौत्य सम्बन्ध भएका विभिन्न देशसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान हुन्छ ।
एकराम गिरी, प्रवक्ता, संसद् सचिवालय
दुई पक्षबिचका साझा मुद्दाबारे छलफल गर्ने, एक–अर्को देशमा भ्रमण गर्ने, संसदीय अभ्यास र अनुभव साझा गर्ने, कानुन निर्माण प्रक्रियाबारे एक–अर्काका अनुभव बाँड्नेलगायतका कार्य हुने गर्दछ ।
‘दुई पक्षबिचका साझा मुद्दाबारे छलफल गर्ने, एक–अर्को देशमा भ्रमण गर्ने, संसदीय अभ्यास र अनुभव साझा गर्ने, कानुन निर्माण प्रक्रियाबारे एक–अर्काका अनुभव बाँड्नेलगायत कार्य हुने गर्दछ,’ प्रवक्ता गिरीले भने । मैत्री समूहले देश हितमा अप्रत्यक्ष रूपमा कूटनीतिक भूमिका खेल्ने उनको भनाइ छ । सभामुख घिमिरेले बिहीबार संसदीय मैत्री समूहका संयोजकलाई बोलाएर संसदीय अभ्यास र देश हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका थिए ।
कुन दललाई कुन देश ?
कांग्रेसले पाएका १४ देशमध्ये महामन्त्री गगन थापाले अस्ट्रेलिया, विश्वप्रकाश शर्माले फ्रान्स, प्रवक्ता प्रकाशशरण महतले अमेरिकाको नेतृत्व प्राप्त गरेका छन् । सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा फिनल्यान्ड, केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा पोर्चुगल, सांसद नारायण खड्काको संयोजकत्वमा जापान, सांसद सीता गुरुङको संयोजकत्वमा युएई, सांसद उदयशमशेर राणाको संयोजकत्वमा साउदी अरब, सांसद ज्ञानेन्द्र कार्कीको संयोजकत्वमा आयरल्यान्ड, सांसद राजन केसीको संयोजकत्वमा ओमान, सांसद नागिना यादवको संयोजकत्वमा थाइल्यान्ड र सांसद वीरबहादुर बलायरको संयोजकत्वमा स्पेनमा मैत्री समूह गठन भएको छ । राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले बहराइन र राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले मलेसियामा मैत्री समूहका नेतृत्व पाएका छन् । एमालेले पाएका १२ समूहमध्ये सचिव रघुवीर महासेठले भारतको नेतृत्व गरेका छन् ।
सचिवहरू छविलाल विश्वकर्माको संयोजकत्वमा दक्षिण कोरिया, योगेश भट्टराईको संयोजकत्वमा स्विट्जरल्यान्ड र गोकर्ण विष्टको संयोजकत्वमा डेनमार्कमा मैत्री समूह गठन भएको छ । त्यस्तै, स्थायी समिति सदस्य भीम आचार्यले संयोजकत्वमा दक्षिण अफ्रिका, सांसद पदम गिरीले बेल्जियम, सांसद रघुजी पन्तले रसिया र सांसद भगवती चौधरीले इजरायलको मैत्री समूहको नेतृत्व पाएका छन् । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यको संयोजकत्वमा अजरबैजान, सांसद लीलानाथ श्रेष्ठको संयोजकत्वमा कतार, सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जर्मन र सांसद सूर्य थापाको संयोजकत्वमा कम्बोडियाका लागि मैत्री समूह गठन भएको छ । माओवादीको भागमा परेका ६ मध्ये उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चीनको नेतृत्व गरेका छन् । सांसद रेखा शर्माको संयोजकत्वमा क्यानडा, सांसद हितबहादुर तामाङको संयोजकत्वमा इजिप्ट, राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरको संयोजकत्वमा उत्तर कोरिया र राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीको संयोजकत्वमा केन्यामा समूह गठन भएको छ । त्यस्तै, सांसद सुशीला सिर्पाली ठकुरीको नेतृत्वमा भुटानमा समूह बनेको हो ।
रास्वपाले प्राप्त गरेको तीन देशमध्ये संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बेलायतको नेतृत्व पाएका छन् । सांसद शिव नेपालीले श्रीलंका र सांसद चन्दा कार्की भण्डारीले नर्वेमा नेतृत्व पाएका छन् ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कुवेत र प्रमुख सचेतक मेटमणि चौधरीले क्युबामा नेतृत्व पाएका छन् ।
संसद् सचिवालयका अनुसार जसपाका अशोक राईको संयोजकत्वमा ब्राजिलमा, जसपा नेपालकी रेखा यादवको संयोजकत्वमा अस्ट्रियामा, नागरिक उन्मुक्तिका गंगाराम चौधरीको संयोजकत्वमा भियतनाममा र लोसपाका रामप्रकाश चौधरीको संयोजकत्वमा इन्डोनेसियामा मैत्री समूह बनेको छ ।
संसद् सचिवालयका अनुसार पाकिस्तान, बंगलादेश र उरुग्वेको संयोजक टुंगिएको छैन । भागमा परेको दलले नाम दिएका छैनन् । संयोजक जनमतको भागमा परेको पाकिस्तानमा दिनेश यादव, जावेदा खातुन जागा, प्रभु दुसाध हजरा र भुवनबहादुर सुनार सदस्य छन् । राप्रपाले बंगलादेश र उरुग्वेमा नेतृत्व पाएको छ ।