३३ अर्ब रुपैयाँ मूल्यबराबरको ग्रेनाइट खानीको उत्खनन अनुमतिपत्र दुई करोड रुपैयाँमा हात पारेपछि मोरङ सुन्दरहरैंचाका ४९ वर्षीय इन्द्रकुमार राई भनिने सन्तकुमार गुरुङ विशेषज्ञ टोली लिएर काभ्रेको बेथानचोक गाउँपालिका– ५ च्याल्टी पुगे । जब उनी उत्खननका लागि खानी तथा भूगर्भ विभागका विशेषज्ञ टोली लिएर च्याल्टी पुगे, खानी रहेको भनिएको ठाउँमा घना मानव बस्ती, आत्मविकास माध्यमिक विद्यालय र मन्दिर भेटियो । त्यसपछि बल्ल उनले आफू ठगको फन्दामा परेको भेउ पाए ।
गुरुङले सिन्धुपाल्चोक शिखरपुरका थइन्द्र रिजालसँग १७ वैशाख ०८० मा उत्खननको अनुमतिपत्र खरिद गरेका थिए । यसका लागि उनले २५ लाख रुपैयाँ नगद, ७८ लाख ३७ हजार पाँच सय रुपैयाँ मूल्यबराबरको भक्तपुर सुडालस्थित १३१.२५ वर्ग मिटर जग्गा र ९६ लाख ६५ हजार पाँच सय रुपैयाँको चेक रिजाललाई दिएका थिए । ‘२५ वर्ष हङकङ बसाइपछि नेपालमै केही गरौँ भनेर नेपाल आएको हुँ म । डेढ वर्षअघि रिजालसँग भेट भयो । उनले ३३ अर्बको ग्रेनाइट खानी उत्खनन गर्ने अनुमतिपत्र मसँग छ, रकम अभाव भएकाले मैले लगानी गर्न सकिनँ भन्यो । होला त भनेर मैले दुई करोडमा अनुमतिपत्र खरिद गरेँ । फिल्डमा जाँदा त खानी भनिएको ठाउँमा घना मानव बस्ती, विद्यालय र मन्दिर पो रहेछ । म त छाँगाबाट खसेझैँ भएँ,’ उनले नयाँ पत्रिकासँग भने ।
रिजालले अनुमतिपत्र बिक्री गर्नुअघि गुरुङलाई खानीको अनुसन्धान प्रतिवेदन भन्दै आकर्षक फोटोसहितको प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा ग्रेनाइटका टुक्राटुक्री भेटिएको खोलाको बगर र ग्रेनाइट उत्खनन गरिने डाँडा देखाएका थिए । ‘फिल्ड भिजिट’का लागि भन्दै रिजालले उनलाई लिएर बेथानचोकस्थित खोलाको बगर पनि पुर्याएका थिए । तर, विभागको विशेषज्ञ टोलीसँग गएपछि पो रहस्य खुल्यो, रिजालले ‘फिल्ड भिजिट’का क्रममा देखाएको ग्रेनाइट खानी त अर्कै ठाउँ पो रहेछ । ‘अनुमतिपत्र खरिद गर्नुअघि ‘फिल्ड भिजिट’ भन्दै बेथानचोकको खोला बगरमा लिएर गयो । बगरमा ग्रेनाइटजस्तो देखिने ढुंगा पनि फेला परे । रिजालले खानी यही ठाउँमा रहेको भन्यो । उत्खनन गर्ने खानी विभागको टोलीसँग जाँदा पो खुल्यो, खानी भनेर उसले मलाई अर्कै ठाउँ लिएर गएको रहेछ,’ गुरुङले भने ।
रनाहामा परेका गुरुङले अनुमतिपत्र खरिद गर्ने वेला रिजालबाट प्राप्त प्रतिवेदन अध्ययन गर्न विशेषज्ञ टोलीलाई दिए । अध्ययनपछि प्रतिवेदन नै नक्कली रहेको खुल्यो । उत्खननका लागि अनुमतिपत्र लिएको भनिएको काभ्रे बेथानचोक गाउँपालिका– ५ च्याल्टीमा विभागकै अर्को टोली लिएर गए । अध्ययनपछि उक्त ठाउँमा ग्रेनाइट नै नभएको तथ्य खुल्यो । गुरुङले खरिद गरेको ग्रेनाइट उत्खनन अनुमतिपत्र दोलखा डाँडाखर्ककी ४६ वर्षीया चण्डेश्वरी केसीको नाममा थियो । केसी रिजालकी जेठानकी श्रीमती हुन् । धन्दामा उनका छोरा सुयज्ञ रिजाल र साझेदार उत्तमकुमार गौतम पनि सहभागी छन् ।
ठगीधन्दाका मास्टरमाइन्ड रिजालविरुद्ध जाहेरी बोकेर गुरुङ जिल्ला प्रहरी परिसर काठमाडौं पुगे । तर, प्रहरीले जाहेरी नै दर्ता गरेन । त्यसपछि रन्थनिएका गुरुङ न्याय माग्न सरकारी वकिल कार्यालय काठमाडौं पुगे । कार्यालयका जिल्ला न्यायाधिवक्ता सीताराम अर्याललाई घटनाको बेलीविस्तार लगाए । उनकै आदेशपछि काठमाडौं परिसरमा बल्ल जाहेरी दर्ता भयो । त्यसपछि रिजाल पक्राउ परे । घटनाको अनुसन्धानपछि प्राप्त प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्यो । गत ३ पुसमा अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजालासले रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको बताए । ‘रिजालविरुद्ध ठगी मुद्दा थियो । उनलाई १५ लाख धरौटीमा छाड्ने आदेश भएको छ,’ उनले भने ।
पहिलो होइन, रिजालको ठगीधन्दा
सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको अभियोजनपत्रअनुसार रिजालले काठमाडौं महानगरपालिका– २८ का बालकृष्ण पंगेनीलाई पनि ठगी गरेका छन् । सिन्धुपाल्चोकको शिखरपुरमा क्वारजाइट खानी उत्खनन गर्ने र मनग्य आम्दानी गर्ने भन्दै आफ्नो नाममा रहेको जागृति इन्डस्ट्रिजको आधा सेयर खरिद गर्न भने । यसका निम्ति उनले २४ लाख ४० हजार ६ सय रुपैयाँ नगद दिए । ७५ लाख २८ हजार नौ सय रुपैयाँको विभिन्न बैंकको चेक काटिदिए । तर, उनले न कम्पनीको सेयर दिए, न रकम नै फिर्ता गरे । उल्टो काटिएको चेक बैंकमा ‘बाउन्स’ गराए । पंगेनीविरुद्ध अदालतमा मुद्दा हाले । र, रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिन्थे । अभियोगपत्रमा उल्लेख भएअनुसार रिजालले कम्पनीको सेयर दिने प्रलोभनमा मनोजकुमार साहबाट पनि ११ लाख ३४ हजार ६०५ रुपैयाँ ठगी गरे । रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिन्थे ।