मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
२o८१ पौष ११ बिहीबार o९:२२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सिजन २०२४/२५ : युरोपका चर्चित लिगमा जसको छ प्रभाव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार o९:२२:oo

केही दिनको विश्रामपछि क्रिसमससँगै युरोपका चर्चित लिगहरू बिहीबारबाट फेरि सुरु हुँदै छन् । क्रिसमसअघि आधा खेल सम्पन्न हुँदा खेलाडीका लागि विश्राम दिइएको थियो । युरोपेली मुलुकमा सार्वजनिक बिदाका दिन पुनः रोकिएका लिग सुरु हुँदै छन् । पहिलो दिन नै इंग्लिस प्रिमियर लिगका सात खेल हुँदै छन् । यस्तै, इटालियन सिरी ‘ए’ पनि सुरु हुँदै छ । स्पेनको ला लिगा, जर्मनीको बुन्डेस लिगा र फ्रान्सको फ्रेन्च लिग भने क्रिसमसको बिदापछि मात्रै सुरु हुने तालिका छ । यसपटक सदाझैँ इंग्लिस प्रिमियर लिग नै चर्चाको शिखरमा छ । त्यसपछि मात्रै स्पेनिस ला लिगा रहेको छ । जर्मनीको बुन्डेसलिगा, फ्रान्सको लिग वान र इटालियन सिरी ‘ए’मा भने सदाबहार पुरानै विजेता उपाधि दौडमा रहेका छन् । 

इंग्लिस प्रिमियर लिग
शीर्ष स्थान : लिभरपुल 
उच्च गोलकर्ता : मोहम्मद सलाह (१५) 

विश्वकै चर्चित र धनाढ्य क्लबहरू सम्मिलित इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा छ । साबिक विजेता म्यानचेस्टर सिटीले अक्टोबरमा कमजोर प्रदर्शन गर्दा लिभरपुल शीर्ष स्थानमा पकड राख्न सफल भयो । लिभरपुलले १६ मध्ये १२ खेल जितेको छ । तीनमा बराबरी खेल्दा एक खेलमा हार बेहोरेको लिभपुरलले ३९ अंक बटुलेको छ । उसलाई दोस्रो स्थानमा ३५ अंकसहित चेल्सीले चुनौती दिइरहेको छ । ३३ अंकसहित आर्सनल तेस्रो स्थानमा छ । साबिक विजेता सिटी भने १७ मध्ये ६ खेलमा पराजित हुँदा २७ अंकसहित सातौँ स्थानमा छ । १६ खेल सम्पन्न भइसक्दा साउथह्याम्पटन, इपस्विच टावन र उल्भ्स रेलिगेसन क्षेत्रमा छन् । लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह १५ गोलसहित उच्च गोलकर्ताको दौडमा छन् । 

स्पेनिस ला लिग
शीर्ष स्थान : एट्लेटिको म्याड्रिड
उच्च गोलकर्ता : रोबर्ट लेवान्डोस्की (१६)

पछिल्लो खेलमा बार्सिलोनालाई २–१ ले हराउँदै एट्लेटिको म्याड्रिडले क्रिसमसअघिको विश्राममा शीर्ष स्थानमा पकड बनाएको छ । टोलीले दोस्रो स्थानको रियल म्याड्रिडभन्दा १ अंक बढी जोडेको छ । पछिल्लो पटक ३८ खेलमा ९५ अंकसहित उपाधि जितेको रियल आधा खेल सकिँदा दोस्रो स्थानमा छ । एट्लेटिको ४१ अंकसहित शीर्ष स्थानमा छ । दुई साताअघि मात्रै बार्सिलोनाले शीर्ष स्थानमा पकड बनाएको थियो । तर, पछिल्ला खेलमा बार्सिलोनाको प्रदर्शन खस्किँदो छ । बार्सिलोना ३८ अंकसहित तेस्रो स्थानमा रहेको छ । बार्सिलोनका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की १६ गोलसहित उच्च गोलकर्ताको शीर्ष स्थानमा छन् । उनलाई ११ गोलसहित समकक्षी राफिन्हाले चुनौती दिइरहेका छन् । सिजनको आधा खेल सकिँदा भालाडोलिड, भ्यालेन्सिया र स्पान्योल रेलिगेसन क्षेत्रमा छन् । 

इटालियन सिरी ‘ए’
शीर्ष स्थान : एटलान्टा
उच्च गोलकर्ता : मार्कुस थुराम (१२)

इटालियन सिरी ‘ए’मा एटलान्टाले शीर्षस्थानमा अग्रता बनाएको छ । आधा खेल सम्पन्न हुँदा १७ मध्ये १३ खेल जितेको छ । ४० अंकसहित टोलीले उपाधि दौडमा आफूलाई अगाडि राखेको हो । २ अंक कम जोडेको नापोली दोस्रो स्थानमा छ । २०२३/२४ सिजन उपाधि जितेको इन्टरमिलान भने ३७ अंकसहित तेस्रो स्थानमा छ । पछिल्लो सिजन टोलीले ३८ खेलमा ९४ अंक जोडेको थियो । यसपटक भने उपाधि भिडन्त निकै रोचक बनेको छ । उपाधि दाबेदार मानिएका युभेन्ट्स छैटौँ र एसी मिलान आठौँ स्थानमा छन् । कमजोर प्रदर्शनसँगै रोमा दशौँ स्थानमा छ । इन्टरमिलानका मार्कुस थुरामसँगै एटलान्टाका माटेओ रेटेगुई १२ गोलसँगै उच्च गोलकर्ताको दौडमा छन् ।

जर्मन बुन्डेस लिगा
शीर्ष स्थान : बायर्न म्युनिख
उच्च गोलकर्ता : ह्यारी केन (१४)

१५ मध्ये ११ खेल जितेको बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको शीर्ष स्थानमा रहेको छ । गत सिजन कमजोर प्रदर्शन गरेर तेस्रो भएको बायर्नले यसपटक सम्हालिएर खेलेको छ । भिन्सेन्जो कम्पनीको प्रशिक्षणमा टोलीले ३६ अंक जोडेको छ । गत सिजन ३४ खेलबाट ९० अंकसहित उपाधि उचालेको बायर लेभरकुसेन यस सिजन दोस्रो स्थानमा छ । टोलीले ३२ अंक जोडेको हो । फ्रान्कफर्ट र आरबी लाइपजिगले समान २७ अंकसहित जोडेका छन् । डर्टमन्ड २५ अंकसहित छैटौँ स्थानमा छ । बायर्न म्युनिखका लागि खेलिरहेका इंग्लिस खेलाडी ह्यारी केन १४ गोेलसहित उच्च गोलकर्ताको शीर्ष स्थानमा छन् । उनलाई १३ गोल गरेका फ्रान्कफर्टका ओमार मारमाउसले चुनौती दिरहेका छन् ।

फ्रेन्च लिग वान
शीर्ष स्थान : पेरिस सेन्ट जर्मेन (पिएसजी)
उच्च गोलकर्ता : जोनाथन डेभिड (११)

युवा स्टार केलियन एम्बाप्पेले घरेलु लिग छाडेर स्पेन रोजे पनि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा शीर्ष स्थानमा कब्जा गरेको छ । टोलीले १६ खेलबाट ४० अंक जोडेको छ । १२ खेलमा जित र चारमा बराबरी खेल्दा टोलीले हार बेहोर्नुपरेको छैन । दोस्रो स्थानको मार्सेली आधा सिजनमै १० अंकले पछि छ । मोनाको समान ३० अंकसहित तेस्रो स्थानमा छ । यसपटक मोन्टपिलर र हाभ्रे रेलिगेसन क्षेत्रमा छन् । गत सिजन अर्जेन्टिनी स्टार लियोनल मेसीले क्लब छाडे पनि पिएसजीले ३४ खेलमा ७६ सहित उपाधि उचालेको थियो । सिजनको अन्त्यमा मोनाको ९ अंकले पछि परेको थियो । यसपटक लिगका आधा खेल सकिँदा लिलका जोनाथन डेभिड ११ गोलसहित उच्च गोलकर्ताको दौडमा छन् ।