नेपाली बजारमा अमेरिकी डलरको मूल्य निरन्तर बढ्दै गएको छ । बुधबार नेपाली मुद्रा बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३६.०३ रुपैयाँ र बिक्रीमूल्य १३६.६३ रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च हो ।
मंगलबार पनि डलरको खरिद मूल्य १३५.९० रुपैयाँ र बिक्रीमूल्य १३६.५० रुपैयाँ पुगेर रेकर्ड ब्रेक भएको थियो । बुधबार मूल्य ०.१३ पैसाले बढेर पुनः रेकर्ड राखेको हो ।
पछिल्लोपटक नेपाली बजारमा डलरको मूल्यले पटक–पटक ‘रेकर्ड ब्रेक’ गर्दै आएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएको मनोविज्ञानका कारण डलरको मूल्य बढेको जानकारवालाहरू बताउँछन् ।
नेपाली मुद्रा भारतीय मुद्रासँग पेग (विनिमयदर स्थिर) छ । सोहीकारण, भारतमा डलरको मूल्य बढ्दा नेपालमा बढ्ने र भारतमा घट्दा नेपालमा पनि घट्छ । पछिल्लो समय विभिन्न कारणले भारतीय बजारमा डलरको मूल्य बढेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ ।
डा. गुणाकर भट्ट कार्यकारी निर्देशक, राष्ट्र बैंक
अहिले डलरको मूल्य बढ्नुको पछाडि फन्डामेन्टल कारण छैनन् । लगानीकर्ताको मनोबल तथा मनोविज्ञानका कारण यसको मूल्य बढेको छ । अमेरिकाले अब लिने आर्थिक नीतिले खाडी मुलुकलगायतका विश्व अर्थतन्त्रमा कस्तो असर गर्छ ? त्यसले पनि यसको प्रभाव कस्तो हुन्छ भन्ने देखाउँछ ।
नेपाल राष्ट्र बैंकको विदेशी मुद व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक रेवती नेपालले भारतमा डलरको मूल्य बढ्दा नेपालमा पनि बढेको बताए । ‘नेपाली मुद्रा भारतीयसँग पेग छ । अहिले भारतमा डलरको माग बढ्दा मूल्य बढ्न गएको छ । त्यसको असरले नेपालमा पनि डलरको मूल्य बढेको हो,’ उनले भने, ‘यसको मूल्य अझै पनि बढ्न सक्ने देखिएको छ ।’
विशेष गरी, अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएको मनोविज्ञानका कारण डलरको मूल्य बढेको छ । नेपाली मितिअनुसार कात्तिक २१ गते अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी आगामी जनवरी २० तारिखमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्दै छन् ।
ट्रम्प राष्ट्रपतिमा विजयी भएको भोलिपल्ट अर्थात् २२ कात्तिकमा नेपाली बजारमा डलरको मूल्य २८ पैसाले बढेको थियो । २१ कात्तिकमा डलरको खरिद मूल्य १३४.२८ रुपैयाँँ र बिक्रीमूल्य १३४.८८ रुपैयाँ थियो । २२ कात्तिकमा डलरको खरिद मूल्य १३४.५६ रुपैयाँ र बिक्रीमूल्य १३५.१६ रुपैयाँ पुगेको थियो । ट्रम्पको विजयी भएपछि डेढ महिनामा नेपाली बजारमा डलरको मूल्य १.४७ रुपैयाँ बढेको देखिन्छ ।
ट्रम्पले अमेरिकी अर्थतन्त्र सुधार गर्ने योजनासहित राष्ट्रपतिको उम्मेदवार बनेका थिए । कर्पाेरेटमैत्री नीति ल्याउने बताउँदै आएका उनको पदभारपछि अमेरिकी अर्थतन्त्र सुधार भई थप बलियो हुने विश्वास गरिएको छ । डलर आफैँमा लगानीका लागि सुरक्षित सम्पत्ति अर्थात् ‘एसेट’ मानिन्छ । ट्रम्पको पालामा अमेरिकी अर्थतन्त्र थप बलियो हुने विश्वासका कारण विश्वका ठुला लगानीकर्ताले डलरमा लगानी बढाएका छन् । अर्थात्, डलर खरिद गरेर होल्ड गरेका छन् । त्यसले बजारमा डलरको माग बढेको छ, तर आपूर्ति कमजोर भएको छ । फलस्वरूप विश्व बजारमा डलरको मूल्य बढेको बताइन्छ ।
अर्थविद् केशव आचार्यका अनुसार अहिले नै भारत, चीनलगायतका मुलुकमा रहेको अमेरिकी लगानी फिर्ता भइरहेका छन् । त्यसले गर्दा पनि भारतमा डलरको माग बढेको छ । त्यसलाई नियन्त्रण गर्न भारतले पटक–पटक बजारमा डलर पठाएको छ । तर, पनि भारतले डलरको माग धान्न सकेको छैन । अहिले भारतमै डलरको सञ्चिति घटिसकेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
पछिल्लो समय भारत, चीनजस्ता उदीयमान अर्थतन्त्र भएका मुलुकहरू डलरको विकल्प खोजिरहेका थिए । तर, हालै ट्रम्पलै डलरको विकल्प खोजेमा ब्रिक्स राष्ट्र (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका)को वस्तु अमेरिकामा आयात गर्दा शतप्रतिशत कर लगाउने चेतावनी दिएका छन् । उक्त मुलुकहरूमा उत्पादन हुने वस्तुका लागि अमेरिका ठुलो बजार हो । त्यसमा अमेरिकाले कर लगाएमा त्यसको असर सम्बन्धित मुलुकको अर्थतन्त्रमा पर्नेछ । ब्रिक्स राष्ट्र साझा मुद्राको अवधारणमा अगाडि बढ्ने तयारीमा थिए । पछिल्लो समय ट्रम्पले अमेरिकालाई आर्थिक रूपमा थप बलियो बनाउने र उदीयमान अर्थ व्यवस्था भएका मुलुकलाई सहयोग नगर्नेजस्तो रणनीति अपनाउन खोजेको देखिएको अर्थविद्हरू बताउँछन् । अमेरिकाले अन्य मुलुकको वस्तुको आयातमा कर लगाउँदा ती मुलुकको अर्थतन्त्र स्वतः प्रभावित हुनेछ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले डलरको मूल्य वृद्धिबाट नेपाली अर्थतन्त्रमा पर्ने प्रभावबारे तत्काल अनुमान गर्न नसकिने बताए । विश्वव्यापी रूपमा अझै पनि अनिश्चितता देखिएको छ । त्यो अवस्थामा वास्तविक असर के हुन्छ भनेर अहिले अनुमान गर्न नसकिने उनको भनाइ छ ।
‘अहिले डलरको मूल्य बढ्नुको पछाडि फन्डामेन्टल कारण छैनन् । लगानीकर्ताको मनोबल तथा मनोविज्ञानका कारण यसको मूल्य बढेको छ । त्यो अवस्थामा यो मनोविज्ञान कहिलेसम्म टिक्छ भन्नेमा पनि कुनै ग्यारेन्टी छैन,’ उनले भने, ‘अमेरिकाले अब लिने आर्थिक नीतिले खाडी मुलुकलगायतका विश्व अर्थतन्त्रमा कस्तो असर गर्छ ? त्यसले पनि यसको प्रभाव कस्तो हुन्छ भन्ने देखाउँछ ।’
भूराजनीति र जिओ–इकोनोमिक्सजस्ता पक्षमा पनि यो निर्भर हुने उनले बताए । ‘सामान्यतः आयात महँगो हुने भयो । तर, निर्यात, पर्यटन र रमेट्यिान्सबाट हुने आम्दानी नेपाली रुपैयाँमा बढ्ने भयो । त्यसैले नेपाली अर्थतन्त्रमा कस्तो असर पर्छ अहिले नै भन्न सकिन्न,’ उनले भने, ‘अमेरिकाले लिने आर्थिक नीतिलाई अन्य मुलुकले कसरी लिन्छन् ? जिओ–पोलिटिक्स, जिओ–इकोनोमिक्स कस्तो हुन्छ ? अन्य मुलुकको आर्थिक वृद्धिमा असर गर्छ कि गर्दैन ? त्यसमा निर्भर हुन्छ । यदि अन्य मुलुकको आर्थिक वृद्धि पनि प्रभावित भयो भने त्यो मुलुकबाट नेपालले लिने गरेको लाभ प्रभावित हुन्छ । अर्थात्, त्यो मुलुकबाट आउने पर्यटक र रेमिट्यान्स प्रभावित हुन सक्छ । अन्य मुलुकमा कुनै असर परेन भने नेपाली अर्थतन्त्रमा पनि थप असर हुँदैन ।’
यस्तै, अर्थविद् केशव आचार्यले डलरको मूल्य बढ्दा नेपालको बजेट नै प्रभावित हुन सक्ने बताए । ‘अहिले नेपालको विदेशी ऋण पौने १३ खर्ब हाराहारीमा छ । यो वर्ष दुई खर्ब १७ अर्ब रुपैयाँ विदेशी ऋण तिर्ने लक्ष्य छ । विदेशी ऋण डलरमै तिर्नुपर्छ । अहिले डलरको मूल्य बढ्दा विदेशी ऋणको भुक्तानी महँगो हुने भयो । साथै, ऋणको आकार पनि बढ्ने भयो । यसै पनि अहिले सरकारलाई स्रोत व्यस्थापनमा चुनौती थपिएको छ । यस्तो अवस्थामा डलरको मुल्य बढ्दा बजेट थप प्रभावित हुने देखिन्छ,’ उनले भने, ‘यसैगरी, आयात महँगो हुँदा मूल्यवृद्धिको जोखिम पनि उच्च छ ।