कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब नौ सय विघा जमिन भारतले अतिक्रमण गरेको छ । निकुञ्जको दक्षिणी सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको बेलडाँडी गाउँपालिका– ५ झिलमिलासँग जोडिएको जमिनमा साढे तीन दशकदेखि भारतीय नागरिकले अतिक्रमण गरेर खेती गर्दै आएका छन् ।
यस क्षेत्रमा मुख्य र सहायक गरी पाँचवटा सीमास्तम्भ छैनन् । ‘सीमास्तम्भ नभएको क्षेत्रको जमिन ३६ वर्षदेखि भारतीयले उपभोग गर्दै आएका रहेछन्,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भने, ‘जंगल र नदी भएकाले त्यहाँ पुग्न पनि निकै कठिन रहेछ । निकुञ्जको जमिनमा भारतीय किसानले हिउँदमा गहुँ लगाउने रहेछन् । बर्खामा भने पानी जम्ने भएकाले जमिन बाँझै छोड्ने गरिएको छ ।’ सिडिओ सापकोटासहितको सरकारी अधिकारीको टोलीले गत साता निरीक्षण गरेपछि भारतीयले नेपाली भूमि उपभोग गरिरहेको घटना बाहिर आएको हो ।
अनुगमनमा गएका अधिकारीका अनुसार उक्त क्षेत्रमा चार–पाँचवटा कच्ची घरसमेत रहेका छन् । अतिक्रमित क्षेत्रसम्म पुग्न नेपालतर्फबाट बाटो छैन भने निकुञ्जभित्रका थुप्रै नदीनालामाथि पुल नभएका कारण सवारीसाधन प्रयोग गर्न सकिँदैन । नेपाली अनुगमन टोलीले त्यहाँ पुग्न हात्तीको सहारा लिनुपरेको थियो । सीमास्तम्भ नहुँदा नेपाल–भारतको क्षेत्र नछुटिनु तथा त्यहाँ पुग्न कठिन भएकाले पनि भारतीयले जमिन उपभोग गरिरहेका हुन् । निरीक्षणमा गएका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले अतिक्रमण भएको क्षेत्र हटाउन माथिल्लो (निकुञ्ज विभाग, मन्त्रालय) निकायमा पहल गरिने बताए ।
बेलडाँडी गाउँपालिका– ५ का वडाध्यक्ष इन्द्रबहादुर खड्काले भारतीयले उपभोग गरिरहेको नेपाली भूमि तत्काल फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताए । जिल्लाको दक्षिणी क्षेत्रमा भारतीयले ठाउँठाउँमा नेपाली भूमि अनिक्रमण गर्नुका साथै नेपालीमाथि थिचोमिचो गर्ने गरेका उनले बताए । ‘सरकारले कूटनीतिक पहल गरेर नेपाली भूमि फिर्ता ल्याउनुपर्छ,’ उनले भने । अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका अध्यक्ष पल्लवराज भट्टले सीमास्तम्भ निर्माण नहुँदा कञ्चनपुरका विभिन्न ठाउँमा भारतीयले नेपाली भूमि कब्जा गरेको बताए । शुक्लाफाँटामा पनि भारतले सीमास्तम्भ नभएको नाममा अतिक्रमण गरेको उनले बताए ।
‘उक्त क्षेत्रमा नेपालतर्फ बस्ती नहुँदा भारतीयलाई अतिक्रमण गर्न सहज भएको छ, भौगोलिक कठिनाइले समेत भारतीयले नेपाली भूमि उपभोग गर्दै आएका छन्,’ भट्टले भने, ‘सीमास्तम्भ निर्माण नहुँदा सिमानाको समस्या देखिएको छ ।’ बेलडाँडीकै झिलमिला क्षेत्रमा समेत कैयौँ बिघा नेपाली भूमिमा भारतीयले खेतीपाती गर्दै आएका उनले बताए । कञ्चनपुरको प्यारातालदेखि ब्रह्मदेव र दोधारा–चाँदनीसम्म ठाउँठाउँमा नेपाली भूमि अतिक्रमणमा परेको छ । केही महिनाअघि मात्र निकुञ्ज क्षेत्रमा पर्ने ५० बिघा नेपाली जमिन खनजोत गरिरहेको पाइएपछि दुईजना भारतीय नागरिकलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । मुद्दा जारी रहेकाले ती दुवैजना हाल निकुञ्जको नियन्त्रणमा छन् । नेपालले सीमास्तम्भ निर्माण गरेपछि भारतीयले उपभोग गर्दै आएको उक्त जमिन निकुञ्जमा समावेश भइसकेको छ । ०७३ मा कञ्चनपुरकै पुनर्वासको आनन्दबजारमा कल्भर्ट निर्माणका क्रममा भारतीयसँग विवाद हुँदा गोविन्द गौतमको हत्या भएको थियो । कञ्चनपुरको दोधारा–चाँदनी, बेलडाँडी, बेलौरी र पुनर्वासका विभिन्न स्थानमा नेपाली भूमिमा नेपाली नागरिकले खेतीपाती गर्न भारतीयले अवरोध गर्दै आएका छन् ।
नेपाल र भारत दुवैले बनाएनन् सीमास्तम्भ
सीमास्तम्भ नम्बर ७८८ तथा सहायक स्तम्भ ७८८/१, ७८८/२, ७८८/३ र ७८७/३ फिल्डमा नरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । दुई देशको सहमतिका आधारमा विगतमा संयुक्त सीमा सर्भे टोली खटिएको थियो । जोर नम्बरका सीमास्तम्भ भारतले र बिजोर नेपालले बनाउने कार्यादेश संयुक्त सर्भे टोलीलाई दिइएको थियो । तर, भारतले मुख्यसहित चार र नेपालले एउटा सहायक सीमास्तम्भ बनाएका छैनन् । त्यहाँ नेपालले सीमास्तम्भ नम्बर ७८७, ७८७/१ र ७८७/२ निर्माण गरेको छ । ७८७/३ सीमास्तम्भ नेपालले बनाउन बाँकी देखिएको प्रजिअ सापकोटाले बताए ।
कञ्चनपुरमा सीमांकनका लागि खटिएको संयुक्त सीमा सर्भे टोलीले ०७५ फागुनमा बेलडाँडी, बेलौरी क्षेत्रमा सीमा क्षेत्रको रेखांकन गरेको थियो । तर, रेखांकनका क्रममा नेपालीले उपभोग गर्दै आएका र लालपुर्जा भएको जमिन भारतीय रहेको देखाएपछि विवाद भई सीमांकन रोकिएको थियो ।
भारतीय समकक्षीलाई पत्र पठाउन सिडिओले मागे गृहको अनुमति
सीमास्तम्भ निर्माणका भारतीय समकक्षीलाई पत्र पठाउन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयसँग अनुमति मागेका छन् । गृहले अनुमति दिएपछि दुई देशको सहमतिअनुसार सीमास्तम्भ बनाउनका लागि भारतीय समकक्षीलाई पत्र पठाइने सिडिओ नारायणप्रसाद सापकोटाले बताए । त्यस्तै, नेपालले बनाउन बाँकी सीमास्तम्भ पनि निर्माणको पहल गरिने प्रशासनले जनाएको छ । निरीक्षणका लागि पुगेका नेपाली अधिकारीसँग भारतीय किसानले सीमास्तम्भ निर्माण भएर उक्त क्षेत्र नेपालको परे उपभोग गर्न छोड्ने प्रतिबद्धता जनाएका थिए ।
प्रजिअ सापकोटाका अनुसार सिमाना कता पर्छ भनेर थाहा नहुँदा जमिन उपभोग गरिरहेको भारतीयले बताएका थिए । ‘सिमाना अतिक्रमण भएको होइन, सीमास्तम्भ नहुँदा सीमा क्षेत्र कता हो भन्ने थाहा नभएर भारतीले नेपाली भूमि उपभोग गरिरहेका रहेछन्,’ उनले भने, ‘उनीहरूले सिमाना छुट्टिएर नेपालतिर परे खेती गर्न छोड्छौँ भनेका छन् ।’