लगातार चारपटकको इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले दुई महिनाभित्र १२ मध्ये नौ खेल गुमायो
म्यानचेस्टर सिटीले १२ मध्ये नौ खेल गुमाउँदा पनि प्रशिक्षक पेप ग्वार्डिओलाले इंग्लिस प्रिमियर लिग (इपिएल)को उपाधि रक्षाको आशा त्यागेका छैनन् । युरोपियन लिगमा सिटीले सम्भवतः एक दशकपछि खराब प्रदर्शन गरिरहेको छ । यसअघिको सिजनमा सिटीले इंग्लिस प्रिमियरदेखि युरोपियन च्याम्पियन्स लिगसम्म दबदबा राखेको थियो । नयाँ सिजन २०२४/२५ को सुरुवातदेखि सिटीले च्याम्पियन शैलीमा प्रशिक्षण गरेको थियो । तर, अक्टोबरपछि सिटी लयमा छैन । यति धेरै अवरोहबिच प्रशिक्षक पेप लगातार पाँचौँपटक इपिएल उपाधि रक्षा गर्ने विश्वास गर्छन् ।
इपिएलमा १७ खेलपछि सिटीले २७ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलले १६ खेलबाट ३९ अंक बटुलेको छ । शीर्ष स्थानको टोलीसँग सिटी १२ अंकले पछाडि छ । यस अवस्थामा सिटीको उपाधि जित्ने सम्भावना निकै कम छ । अब सिटीको ध्यान नै विन्टर ब्रेकपछिको प्रदर्शन हो । कहिलेकाहीँ विन्टर ब्रेकपछि नतिजा परिवर्तन देखिन्छ । अर्कोतिर लिभरपुलको प्रदर्शनमा सिटीले १२ अंकको दूरी घटाउने सम्भावना कम देखिन्छ ।
इपिएलमा गत अक्टोबरमा सिटी अपराजित टोली थियो । त्यसवेला सिटी पाँचौँपटक इपिएल च्याम्पियन बन्ने अभियानमा अगाडि थियो । दुई महिनाको अन्तरमा सिटी यति कमजोर बन्यो कि लिभरपुल पुनः एकपटक च्याम्पियन बन्ने सँघारमा छ । यद्यपि, सिटीले गुमाएको नौ खेलमा कमजोर प्रदर्शन थिएन । कतिपय खेलमा विपक्षी भाग्यमानी हुँदा सहजै सिटी पराजित भयो । सिटीका समर्थकले प्रशिक्षक पेप र खेलाडीको आलोचना गर्न छाडेका छन् ।
सिटीलाई समर्थनको खाँचो
सिटीका समर्थक विन्टर ब्रेकपछि अवस्था परिवर्तन हुनेमा आशावादी छन् । प्रशिक्षक पेपले सिटीलाई पुरानै अवस्थामा ल्याउन समर्थकले व्यापक सहयोग गर्नुपर्ने बताएका छन् । ‘खराब नतिजा व्यहोरेको दिन राम्रोसँग सुत्ने गर्छु, मैदानको नतिजालाई घर वा ड्रेसिङ रुमसम्म पुर्याउनु हुँदैन,’ पेपेले भने, ‘यसका साथै हामीलाई धेरैभन्दा धेरै समर्थन आवश्यक छ ।’ पेपले खेलाडीसँगै स्वयं आफू पनि जितको मनसायका साथ मैदानमा प्रवेश गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । ‘खेलाडी र प्रशिक्षकले पनि आगामी दिनमा जित निकाल्न सक्ने र विपक्षीलाई सहजै हराउन सक्ने आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले भने, ‘धेरैजसो आलोचकले सिटी माथि उठ्न नसक्ने भनेका छन्, मलाई विश्वास छ कि सिटी पुनः उत्कृष्ट लयमा फर्कनेछ ।’ युरोपियन च्याम्पियन्स लिगमा सिटी फेयेनुडसँग ३–३ को बराबरीमा रोकिँदा पनि प्रशिक्षक पेपले बहादुरी प्रदर्शनको संज्ञा दिएका थिए ।
टर्च लाइनमा नर्भस
अक्सर मैदानको टर्च लाइनमा प्रशिक्षक पेप आत्मविश्वासका साथ बसेका हुन्थे । यसपटकको टर्च लाइन दृश्य फरक छ । प्रत्येक खेलमा उनी आत्तिएको देखिरहेका छन् । विपक्षीले गोल गरेको अवस्थामा उनी घुँडा टेकेका हुन्छन् । मानसिक रूपमा समेत उनी कमजोर भएको विश्लेषकहरूले दाबी गरेका छन् । जब–जब हारको नजिक सिटी पुगेको हुन्छ । त्यसवेला पेप आफ्नो नङ टोक्दै बसेका हुन्छन् । कुनै पनि खेलाडी वा व्यक्ति कमजोर भएको अवस्थामा नङ टोक्ने गरेको आलोचकको भनाइ छ । कुनै समयमा सही व्यक्ति सिटीमा आएको भन्ने गरिएको थियो । ‘पेप यस्ता प्रशिक्षकमा पर्छन्, जसले जहाँ गए पनि टोलीलाई च्याम्पियन बनाएका हुन्छन्, अब लगातार पाँचौँपटक इपिएल च्याम्पियन बन्ने सपना पूरा नहुनेजस्तो देखिएको छ,’ सिटीका समर्थकले भने, ‘हुन त उनी सिटीको व्यवस्थापकहरूको नजरमा सही व्यक्ति र प्रशिक्षक हुन् ।’
गत साता म्यानचेस्टर डर्बीमा सिटी २–१ ले पराजित हुँदा समर्थक खुबै रिसाएका थिए । खराब लयबाट गुज्रिरहेको सिटीले कम्तीमा डर्बी खेलमा युनाइटेडलाई हराउने विश्वास थियो, तर नतिजा सिटीको हकमा आएन । ‘मलाई थाहा छैन, अहिले के भइरहेको छ, यसको समाधान निकाल्ने कोसिस गरिरहेको छु,’ पेपले भने ।