१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
प्रद्युम्नप्रसाद उपाध्याय
२०७५ पौष १५ आइतबार ०७:०८:००
Read Time : > 1 मिनेट
समाचार

१० लाख परिणाममा ३.४ सम्म मात्र दोष स्विकार्ने मोडल : सिक्स सिग्मा

Read Time : > 1 मिनेट
प्रद्युम्नप्रसाद उपाध्याय
२०७५ पौष १५ आइतबार ०७:०८:००

सिग्मा तथ्यांकशास्त्रमा प्रमाण विचलनको संकेत हो । प्रणालीमा अधिकतम कतिसम्म दोषलाई स्वीकार गर्ने भनी सिक्स सिग्मा मोडलमा मापन गरिन्छ । यसमा कुनै सेवा वा उत्पादन गुणस्तरीय हुनका लागि दोष सहनशीलताको सीमा ९९.९९९९९८ प्रतिशत रहन्छ । अर्थात् प्रति १० लाख उत्पादनमा ३.४ भन्दा बढी उत्पादमा दोष देखिनुहुन्न ।

यदि उत्पादन प्रक्रियामा देखिएका भेरिएसनलाई घटाउन सकियो भने यो सीमाभित्रको गुणस्तर प्राप्त गर्न सकिन्छ भनी यस मोडलले भन्छ । तथापि, प्रक्रिया र गुणस्तर सुधार कार्यका साथै संगठनको वित्तीय व्यवस्थापन सुधारमा पनि यस मोडलको विशेष ध्यान रहन्छ ।

सिक्स सिग्मा परियोजनाको पहिलो प्रयोग अमेरिकी मोटोरोला कम्पनीमा भएको हो । जापानी कम्पनीसँग प्रतिस्पर्धा गर्न सन् १९८७ मा गुणस्तर बढाउन यो आयो । पहिला कम्पनीले सन्तोषको मानक प्रति १००० एकाइ मात्र राखेको थियो । तर, सो प्रभावकारी भएन । अनि प्रति १० लाख एकाई मानक राखियो । सेवाग्राहीलाई गुणस्तरमा सन्तुष्ट पार्न सक्दा अरबौँ रुपैयाँ जोगिने यस विधिले पुष्टि गर्छ । पछिल्ला दिनहरूमा सिक्स सिग्मा परियोजना सेवाक्षेत्रमा पनि उत्तिकै प्रचलित छन् ।

संगठनका लक्ष्यमा कार्यान्वयनका दौरान देखिने भेरिएसनलाई मात्र पनि नियन्त्रण गर्न सकियो भने धेरै प्रक्रियागत र सांगठनिक समस्या सुल्झाउन सकिन्छ भन्ने यस मोडलको दाबी रहेको छ । तथ्यांकीय विधिद्वारा उतारचढाव विश्लेषण गरेर व्यवस्थापनले सम्भाव्य परिणामबारे पहिले नै अनुमान लगाउन सक्ने तथा कुन तत्वले सांगठनिक प्रक्रियामा नकारात्मक प्रभाव परेको छ, त्यसलाई ठीक गर्न सक्ने अवस्था यसले ल्याउँछ ।

सञ्चालन स्तरका कमजोरी पत्ता लगाई शीघ्र गुणस्तरमा सुधार गर्न सकिन्छ । सिक्स सिग्मा परियोजना दर्शनले वित्तीय सुधार र लागत घटाउने विषयलाई विशेष ध्यान दिन्छ । दुई करोड हाराहारीभन्दा माथिको बचत नै नहुने खालको परियोजना छ भने स्वीकृत नै गर्न मान्दैन ।

सिक्स सिग्मामा पदसोपानलाई धेरै ख्याल गरिन्छ । संगठनमा पदसोपन हुँदै माथिबाट तलसम्म प्रत्येक परियोजनाको लक्ष्य सम्प्रेषण हुन्छ र त्यसको संपरीक्षण पनि माथिबाटै हुन्छ ।  कर्मचारीहरू तोकिएको स्वरूपमा नै सतर्कतासाथ परियोजनामा कार्य गर्छन् । कर्मचारीलाई पाँच प्रकारले राखिन्छ :

१. कार्यकारी च्याम्पियनहरू : प्रमुख कार्यकारी अधिकृत र संगठनका वरिष्ठहरू सिक्स सिग्मा परियोजनाको विहंगम अवलोकन गर्ने गर्छन् ।

२. मास्टर ब्ल्याकबेल्टहरू : सिक्स सिग्मा परियोजनाका ब्ल्याकबेल्टहरूलाई तालिम दिन र परियोजना सहयोगीका रूपमा यी संस्था बाहिरबाट हायर हुन्छन् ।

३. ब्ल्याकबेल्टहरू : सिक्स सिग्मा परियोजनाहरूको नेतृत्व गर्छन् ।

४. ग्रिनबेल्टहरू : ठूलो परियोजनाभित्रका उप–परियोजनाका नेतृत्वकर्ताहरू हुन् ।

५. परियोजना टिमहरू : प्रत्येक ग्रिनबेल्टसँग एउटा टिम हुन्छ । टिमका सबै सदस्य सिक्स सिग्मा प्रविधिबारे तालिमप्राप्त हुन्छन् ।

संगठनपिच्छे सिक्स सिग्मा परियोजनाको पूर्वाधार फरक हुन्छ । एक सफल परियोजनाका तत्वहरूमा तथ्यांकीय विधिहरूको राम्रो ज्ञान, प्रारम्भिक चरणमा पर्याप्त स्रोतहरूको विनियोजन, कार्यान्वयनमा पनि पर्याप्त खर्च गर्न सक्ने, परियोजना सफल पार्न दृढ नेतृत्व, परियोजना कार्यान्वयन पूर्वसांस्कृतिक परिवर्तन हुनुपर्ने, प्रभावकारी सूचना–सञ्चार योजना, टिमलाई पर्याप्त तालिम र कुशल ब्ल्याक बेल्टहरूको उपस्थिति मुख्य हुन् ।

यसमा पाँच चरण रहन्छ 

१) उद्देश्यहरू तय गरिन्छ, २) तथ्यांकमा तिनको तुलना गरिन्छ, ३) अनि तिनको विश्लेषण हुन्छ,४) विश्लेषणकै आधारमा प्रणाली सुधार्दै लगिन्छ र, ५) नयाँ सुधारिएका प्रक्रियाले औपचारिकता पाउँछन् ।

सिक्स सिग्मामा कडा÷नरम दुवै खालका प्रविधि प्रयोग हुन्छन् । समस्या–समाधान अवधारणा, तथ्यांकीय प्रविधि र परियोजना व्यवस्थापन प्रविधिहरू कडा खालका हुन् भने जनशक्ति व्यवस्थापन, सिर्जनशीलता तथा उत्प्रेरणा अभिवृद्धिजस्ता नरम तत्व हुन् । 

सिक्स सिग्मा परियोजनामा दूरदृष्टि तथा उत्साहको स्तरलाई धेरै महत्व दिइन्छ । तथापि, तालिम, सपोर्ट तथा परियोजनाको समन्वय–पूर्वाधारको कुशल परिचालनलाई झन् महत्वपूर्ण स्थानमा राखिन्छ । नेपालमा सार्वजनिक संस्थानको व्यवस्थापनमा सिक्स सिग्मा परियोजना प्रविधि प्रयोग गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।