अफगानिस्तानका हसन इशाखिलको अर्धशतक मद्दतमा चितवन राइनोजले एनपिएलको १५औँ खेलमा सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६४ रन बनाएको हो ।
चितवनका लागि अफगानी १८ वर्षीय दाया हाते ब्याटर इशाखिलले ५२ बलमा ६ चौका र तीन छक्कासहित सर्वाधिक ६५ रन बनाए । यसबाहेक रवि बोपाराले १८ बलमा समान दुई चौका र छक्कासहित ३६ रन बनाएका हुन् ।
सुदूरपश्चिमका स्कट कुगुलेइनले चार ओभरमा २० रन खर्चिँदै दुई विकेट लिए । ब्रान्डम म्याकमुलेन, दीपेन्द्रसिंह ऐरी र सैफ जैवले समान एक विकेट लिएका छन् ।
प्रतियोगितामा सुदूरपश्चिम लगातार चौथो जितको खोजीमा छ । यता, चितवन भने तेस्रो जित निकाल्ने दाउमा छ ।
आज नै भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई हराउँदै जनकपुर आ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।