मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Thursday, 26 December, 2024
मदिहा फातिमा
२o८१ मङ्सिर २३ आइतबार o९:४७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हिन्दुत्वकालमा मुसलमान शरीर

Read Time : > 2 मिनेट
मदिहा फातिमा
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार o९:४७:oo

हिन्दु राष्ट्रवादका संरक्षकले केही लक्षण र विशेषताको बिल्ला भिराइरहँदा भारतीय मुसलमानले शरीरले कहिल्यै व्यक्तिगत पहिचान बनाउन सकेका छैनन्

भारतका मुसलमान आफ्नै धर्मसँग सम्बन्धित वास्तुकलाकै नियति व्यहोरिरहेका छन् । मुसलमानको जीवन पनि अब उत्खननको वस्तु बन्न पुगेको छ । यिनको गरिमा र नागरिकताको बुनियाद नै उग्र हिन्दुत्ववादी बुल्डोजर खतराको जोखिममा छ । मस्जिदझैँ मुसलमानको अस्तित्व पनि उग्र हिन्दुत्ववादी भिडमा निर्भर छ । त्यो उग्र हिन्दुत्ववादी भिड जुन सधैँ मुसलमानको सम्मान र इज्जतको बचेखुचेको अवशेषलाई थप खोक्रो बनाउन उद्यत् छ । वास्तवमा प्रत्येक भारतीय मुसलमानको शरीरमा ऐतिहासिक बाबरी मस्जिदको भत्किएको इँटाको दरार खोपिएको छ र यो शरीर अर्को प्रहारको प्रतीक्षामा छ । यसपटक देशको सर्वोच्च अदालतबाट यस्तो कार्य भएको छ । भारतीय मुसलमानको जीर्ण शरीरलाई भत्काउन धेरै गाह्रो छैन । यसका लागि केवल अरूलाई यो शरीरको प्रकृतिप्रतिको आफ्नो जिज्ञासा चित्तबुझ्दो बनाउन पूरा अधिकार छ भन्ने दलिल पर्याप्त छ (भारतका पूर्व–प्रधानन्यायाधीश डिवाई चन्द्रचुडले ज्ञानवापी मस्जिदको ‘साँचो स्वरूप’ बारेको जिज्ञासाले ऐतिहासिक बाबरी मस्जिद भत्काइएपछि आइन्दा धार्मिक द्वन्द्व नहोस् भनेर बनाइएको उपासना थल अधिनियम उल्लंघन नहुने भन्दै मस्जिद सर्वेक्षणको अनुमति दिएका थिए) ।  

भारतमा मुसलमानको शरीर जुनसुकै विश्लेषण वा प्रमाणीकरणका लागि खुला छ । यो अनुसन्धानको मैदान बनेको छ, अर्थात् मुसलमानको शरीरको अनुसन्धानको उद्देश्य कसैको जिज्ञासा मेट्नु मात्रै रहेको छ । र, कुनै पनि संवैधानिक कानुन, ऐन वा प्रावधानले भारतीय मुसलमानको शरीरमाथिको यस्ता अनुसन्धानलाई रोक्न सक्दैन । त्यसमाथि मुसलमान शरीर जति पुरानो भयो, त्यसलाई जाँच्न र अनुसन्धान गर्दा त्यति नै सन्तोष हासिल हुन्छ । एकपटक अनुसन्धान सुरु भएपछि भयभीत र कमजोर मुसलमान शरीरले प्रतिरोध गर्न नसक्दा यसले अन्य मुसलमान शरीरलाई आफ्नो परीक्षणको विरोध गर्न आह्वान गर्छ । यी शरीरमाथि विजय हासिल गर्ने मुख्य उपाय भनेको ‘अनुसन्धानको माग गर्ने’को भिडलाई सर्वेक्षणमा लैजानु हो । यी जाँच टोलीसँग ‘जय श्रीराम’जस्ता आधारभूत युद्धघोषमा राम्रै दख्खल हुनुपर्छ र मुसलमान शरीरलाई कसरी भयभीत बनाउने भनेर जान्नुपर्छ । 

अन्य शरीरले यी खानतलासी वा सर्वेक्षणको विरोध गर्ने प्रयास गरेमा सर्वेक्षण टोलीले ती शरीरलाई खुलेरै मास्न सक्छन् । र, यी मामिलामा थप जाँचको आवश्यकता परेमा यो टोलीले आत्मरक्षाको दलिल दिन पाउँछन् । यो दलिल प्रयोग गरेर हालै ६ वा सोभन्दा बढी शरीरलाई मासिएको छ । अर्थात्, एक भारतीय मुसलमानको शरीर केवल एक शरीर मात्र होइन । वास्तवमा यो एक वस्तु र अवशेष हो, जसलाई अरूका लागि उत्खनन र चिरफार गर्न राखिएको छ । शरीरभित्र झाँक्ने प्रयास गरेका जिज्ञासुले यसको आकृति र आकारमा हजारौँ घन र छिनोका घाउ खोपेका छन् । भारतीय मुसलमानको शरीर केवल मासु र रगतको एक पिण्ड मात्र नभई छाला र हड्डीमा कुँदिएको इतिहासको एक टुक्रा पनि हो । यो शरीर एक ‘म्लेच्छ’ हो जो बहिष्कार र विनाशको जिउँदो प्रमाण हो र यो सधैँ फासीवाद एवं उग्र हिन्दु राष्ट्रवादको गिरफ्तमा छ ।

कहिलेकाहीँ यो शरीर चार सय वर्ष पुरानो मस्जिदका रूपमा प्रस्तुत हुन्छ र कहिलेकाहीँ यो १३औँ शताब्दीका सुफी सन्तको पूजनीय दरगाहका रूपमा रूपान्तरण हुन्छ । अरू क्षणमा यो शरीर त्यो मुसलमान बस्ती बन्छ, जुन हिन्दु घाटमाथि बनेको मानिन्छ । मुसलमान शरीर आफूलाई सजिलै एउटा महिलाका रूपमा पनि प्रस्तुत गर्छ, जो बजरंग दलका गुन्डाले उनको घरमा जबर्जस्ती प्रवेश गर्ने धम्कीविरुद्ध दृढतापूर्वक उभिन्छिन् र आफ्नै घरमा सामूहिक प्रार्थना गर्ने अधिकारका लागि संघर्ष गर्छिन् । भारतीय मुसलमानको शरीर सजिलै धर्मनिरपेक्ष भूमिकामा पनि रूपान्तरण हुन सक्छ । अर्थात्, यो शरीरले मुरादाबादका डाक्टर अशोक बजाजको रूप लिन्छ, जसले मुसलमान डाक्टरलाई आफ्नो घर बेच्दा हिन्दुबाहुल्य क्षेत्रबाट विरोध आमन्त्रण गर्ने ‘गल्ती’ गरेका थिए ।

आफ्नो ऐतिहासिक जटिलताको अर्थ लगाउन भारतीय मुसलमानको शरीर शाहजहाँ र उनको भव्य सम्पदासँगको सम्बन्धबाट उम्कन सक्दैन । कहिलेकाहीँ यो शरीर जामा मस्जिदका रूपमा प्रस्तुत हुन्छ, जसले आफ्ना गुम्बजमुनी मन्दिरका अवशेष लुकेका छन् भन्ने आरोपको बोझ खेपिरहेको हुन्छ । अन्ततः यो ‘अढाइ दिनको झुपडी’का रूपमा परिणत हुन्छ, अर्थात् एक यस्तो स्थान जुन गहिरो जाँचको कठोर प्रकाशमा उत्खननको प्रतीक्षामा हुन्छ ।

यस अनियमित परिवर्तन र विभिन्न पहिचानको बनोटमा भारतीय मुसलमानको शरीरले आफ्नो पहिचान कायम राख्ने विशेषाधिकार गुमाएको छ । हिन्दु राष्ट्रवादका संरक्षकले केही लक्षण र विशेषताको बिल्ला भिराइरहँदा भारतीय मुसलमान शरीरले कहिल्यै व्यक्तिगत पहिचान बनाउन सकेको छैन । मुसलमान शरीर कहिले पाकिस्तानी, कहिले बंगलादेशी वा रोहिंग्याको पहिचान बोक्न अभिशप्त हुन्छ र आफूलाई भारतीय मुसलमानका रूपमा प्रमाणित गर्न असफल हुन्छ ।

वास्तवमा मुसलमान शरीर ती ‘अन्य’ शरीर बनेका छन्, जसलाई भारतको हिस्सा मानिँदैन र त्यस्तो वस्तु बन्न पुगेको छ, जसमा घृणा पोख्न सकियोस्, विचारधारा लाद्न सकियोस् र जसलाई हत्यासमेत गर्न सकियोस् । प्रश्न उठ्छ, के भारतीय मुसलमान शरीरले कहिल्यै पूर्ण रूपमा बहिष्कृत हिन्दु राष्ट्रवादी विचारधाराबाट मुक्ति पाउन सक्छ ? वा हिन्दु सर्वोच्चतावादीविरुद्ध लड्दालड्दै यो बाबरी मस्जिदको भग्नावशेषजस्तै रहिरहनेछ ? 

(फातिमा लेखक एवं पत्रकार हुन्) द वायरबाट