राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई सरकारले अनुसन्धानका नाममा यातना दिएर मानव अधिकार हनन गरेको बताएको छ । सरकारकै निर्देशनमा लामिछानेलाई मध्यराति कसैलाई थाहा नदिई चितवनबाट पोखरा पुर्याएको रास्वपाको दाबी छ । रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति रास्वपाले घोर आपत्ति रहेको रास्वपाले जनाएको छ ।
‘सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको वेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडकमार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइएको रहेछ । यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरू प्रहरी सूत्रबाट प्राप्त भएका छन्,’ उपसभापति डिपी अर्यालले शुक्रबार बोलाएको केन्द्रीय सचिवालयको झाले जारी गरेको विज्ञप्तिमा छ ।
सरकारको कदम ‘राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल भएको’ रास्वपाको भनाइ छ । ‘सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो । यसैबिच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । हामी यसको घोर भत्र्सना गर्दछौँ । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानव अधिकार हनन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ । यसतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा मानव अधिकारवादी संघसंस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
लामिछाने कसुरदार नभई एक आरोपित मात्र रहेको र उनले सरकारको कानुनी प्रक्रियामा साथ दिएर नागरिक कर्तव्य निर्वाह गरिरहेको रास्वपाको भनाइ छ । ‘अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधीजस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवं यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायविरुद्धको महासन्धि, १९८४ विपरीतसमेत रहेकोतर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौँ । अतः यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधानबमोजिम कारबाही गर्न जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा छ ।
विज्ञप्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूबाट सूक्ष्म रूपमा नियालिरहेको परिप्रेक्ष्यमा राज्य संयन्त्र रास्वपा र यसका सभापतिविरुद्ध षड्यन्त्रपूर्ण रूपमा सक्रिय रहेको थप स्पष्ट बनाएको उल्लेख छ । ‘आज सांसद रवि लामिछानेका माध्यमबाट दुईतिहाइको दम्भमा नेपालमा लोकतान्त्रिक व्यवस्थालाई दलीय कुशासनको पञ्जामा पार्न राज्यसत्ता उद्यत् रहेको छ,’ रास्वपाले भनेको छ, ‘तसर्थ राज्यको न्यायिक पद्धति, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’
बैठकपछि रास्वपा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले घटनाबारे मानव अधिकार आयोगलाई पत्र लेखेर ध्यानाकर्षण गराउने बताए ।
रविपत्नीले दिइन् आयोगमा उजुरी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मध्यराति गाडीमा राखेर पोखरा लगिएको घटनामा छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । अस्वस्थ अवस्थामा जबर्जस्ती गाडीमा राखेर बुधबार राति लामिछानेलाई चितवनबाट प्रहरीले पोखरा लगेको थियो । बिहीबार मात्र पोखरा लगिने भन्दै त्यस विषयमा उनका आफन्तलाई समेत प्रहरीले झुक्याएको थियो ।
लामिछानेपत्नी निकिता पौडेलले मानव अधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर लिखित उजुरी दिएका हुन् ।
उता, राष्ट्रिय मानव अधिकार आयोगको पोखरास्थित कार्यालयका प्रतिनिधिले शुक्रबार प्रहरी कार्यालयमा गएर लामिछानेलाई भेटेका छन् । भेटमा लामिछानेले चितवन प्रहरीले आफूमाथि अमानवीय व्यवहार गरेको भन्दै त्यसको वास्तविकता छानबिन गर्न आग्रह गरेका छन् । रास्वपाका केन्द्रीय सदस्य प्रमोद न्यौपानेका अनुसार भेटमा लामिछानेले आफूमाथि प्रहरीले ज्यादती गरेको भन्दै यस विषयमा छानबिन विस्तृत अनुसन्धान गर्न आग्रह गरेका थिए ।
उता वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले लामिछानेलाई मध्यरातमा हिरासत स्थानान्तर गरेको कार्यले विधिको शासन लज्जित भएको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘शाही आयोगले मध्यरातमा देउवालाई गिरफ्तार गरेको विरुद्ध ०६२ जेठ १ गते नेपालमा मेरो लेख प्रकाशित थियो । अपवादबाहेक नागरिकलाई मध्यरातमा पक्रने, बयान लिने, ओसारपसार गर्ने सबै काम कानुनतः वर्जित छ । रवि लामिछानेलाई मध्यरातमा ठाउँ स्थानान्तर गर्ने कार्यले विधिको शासनलाई पुनः लज्जित पारेको छ ।’
लामिछानेलाई भेटेपछि डा. बाबुराम भट्टराईले भने–राज्यले प्रतिशोधपूर्ण व्यवहार गर्याे
कास्की/पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकारी रकम अपचलनको आरोपमा प्रहरी अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै गएर लामिछानेसँग भेट गरेपछि डा. भट्टराईले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका हुन् ।
‘नयाँ राजनीतिक शक्तिहरूको उदय भइराखेको अवस्थामा एक सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रूपमा उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैँ सद्भाव पनि छ । जुन ढंगले अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अलि अस्वाभाविक लागेर र अन्यायपूर्ण भो भनेर नै आफ्नो ऐक्यबद्धता जनाउनका लागि आएको हुँ । उहाँको स्वास्थ्य बुभ्mन पनि आएको हो, स्वस्थ नै हुनुहुँदोरहेछ,’ भट्टराईले भने, ‘अलिकति प्रतिशोधपूर्ण व्यवहार भयो भन्ने बुझेको छु । वास्तविक पीडितहरूका समस्या सम्बोधन गर्नतिर नभई विषयान्तर गर्न खोजिएको छ । कानुनले आफ्नो बाटो लियोस्, तर त्यसको बहानामा राजनीतिक प्रतिशोध लिने काम नहोस् भन्ने हो ।’
भेटमा लामिछानेले आफूमाथि प्रतिशोध साधिएको बताएको भट्टराईले सुनाए । ‘रविजीले ममाथि राजनीतिक प्रतिशोध लिइएको छ । मैले सहयोग गरिराखेको छु–गर्छु, त्यसको बाबजुद पनि यो जुन भइराखेको छ, यो सन्देश बाहिर पुगोस् भन्नुभयो,’ भट्टराईले भने ।