सत्तारूढ दल कांग्रेसले बिआरआई कार्यान्वयन योजनालाई ऋणका रूपमा स्वीकार गर्न नसकिने पुरानै अडान दोहो¥याएको छ । आसन्न चीन भ्रमणमा यस्तो योजनामा हस्ताक्षर गर्ने प्रधानमन्त्री केपी ओलीको प्रयास रहेकै वेला कांग्रेसले आफ्नो अडान दोहो¥याएको हो । बिआरआईमा समान धारणा बनाउन कांग्रेस र एमालेबिच छलफल जारी रहेकै वेला कांग्रेसले विज्ञहरूसँग छलफल गरेर पार्टी धारणा सार्वजनिक गरेको हो । कांग्रेस संसदीय दलले शुक्रबार आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपाय’ विषयक अन्तरक्रियामा कांग्रेसले आफ्नो धारणा राखेको हो । परराष्ट्र मामिलाका जानकार तथा अर्थविद्हरूसँगको छलफलपछि प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ऋण लिन नसकिने निष्कर्षमा कायम रहेको बताए ।
प्रमुख सचेतक श्यामकुमार घिमिरेले अन्तरक्रियामा आएका सुझाव अब बस्ने संसदीय दलको बैठकबाट पारित गर्ने र कार्यान्वयनका लागि सरकारलाई सुझाव दिइने बताए । सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, कृष्ण सिटौला, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा, ऊर्जा मन्त्री दीपक खड्कालगायत सहभागी थिए । प्रमुख सचेतक घिमिरेका अनुसार यसक्रममा पूर्वअर्थमन्त्रीहरू, पूर्वअर्थराज्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, निजी क्षेत्रका उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, निर्माण व्यवसायी महासंघ र अर्थविज्ञहरूसँग छलफल गरिएको थियो ।