पार्टीले आयोजना गरेको जागरणसभामार्फत एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नाविरोधी र आलोचकमाथि प्रहार गरेका छन् । प्रधानमन्त्री ओलीले खास गरेर प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने, मेडिकल व्यवसायी दुर्गा प्रसाईं र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलक्षित प्रहार गरे । ओलीले कसैको नाम त लिएनन्, तर उनीहरूले उठाएका मुद्दा र कामको विषयमा आफ्नो धारणा राख्दै कठोर आलोचना गरे । साथै प्रधानमन्त्री ओलीले अहिलेको सरकार आगामी निर्वाचनसम्म कायमै रहने भनाइ दोहो¥याएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले ओलीको आसन्न चीन भ्रमणलाई लिएर केही प्रश्न उठाएका वेला यसको विरोध गर्नेहरू कायर भएको टिप्पणी गरे । ‘कतिले के–के न व्यवसाय भेटेजस्तै गरेर पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो भन्दै छन् । कस्तो हुन्छ परिपक्व ? कता जानुपर्ने हो ? धर्मशास्त्र, संविधान, कानुनमा लेखेको छ कि, संयुक्त राष्ट्रसंघको बडापत्रमा लेखेको छ ? तपाईंले कहाँ परिपक्वता भेट्नुभो ?’ काठमाडौंको केन्द्र दरबारमार्गमा शुक्रबार आयोजित जागरणसभामा प्रधानमन्त्री ओलीले भने, ‘यी वाहियात र कायर कुरा हुन् । हामी सबै छिमेकीसँग सम्मानपूर्वक सम्बन्ध, पारस्परिक सम्मानका आधारमा व्यवहार गर्छौँ, कसैप्रति वैरभाव छैन ।’
प्रधानमन्त्री ओलीले अहिलेको सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई अत्यन्त सन्तुलित बनाउन चाहेको उल्लेख गरे । सरकारले राष्ट्रिय स्वाधीनता, स्वाभिमान, भौगोलिक अखण्डताको रक्षा गर्दै छिमेक सम्बन्ध अझ सुदृढ बनाउन खोजिरहेको प्रधानमन्त्रीको भनाइ थियो ।प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने दाबी गरे । ‘चीन भ्रमण अत्यन्त सफल रहनेछ । यसो घुमेर आऊँ भनेर चीन जान लागेको होइन । देशको हित र भलाइका लागि कुनै पनि देशको भ्रमण गरिन्छ । उदाहरणीय हुनेछ, म ढुक्कले भन्न चाहन्छु,’ ओलीले भने । बिआरआईतर्फ लक्षित गर्दै ओलीले थपे, ‘हामी सकेसम्म कतैको पनि ऋण लिँदैनौँ । अहिले ऋण लिने मनस्थिति र अवस्था पनि छैन । तर, हामीले उत्पादन बढाउनुपर्छ र आफैँले उन्नति गर्नुपर्छ ।’
सहकारीको रकम अपचलनको आरोपमा छानबिनका लागि हिरासतमा रहेका रास्वपा सभापति लामिछाने र उनको पार्टीको गतिविधि स्वीकार्य नहुने चेतावनी दिए । ‘हिन्दीमा एउटा भनाइ छ– उल्टै चोर, कोटवालको डाँठे । उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएछ । यस्तै यहाँ त उल्टै सहकारीमा ठगेको कति–कति प्रमाण छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई मुख छाड्ने ? अरूलाई गाली गर्ने ?’ ओलीले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सह्य हुनेछैन । कुनै पनि प्रकारको ठगी सह्य हुनेछैन । कुनै पनि प्रकारको मानव तस्करी सह्य हुनेछैन । अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन, कारबाही गर्छ ।’
कम्बोडियाको आजियटा टेलिकम कम्पनीमा आफ्नो साढे ३२ अर्ब लगानी रहेको भनेर व्यवसायी दुर्गा प्रसाईंको प्रचारको पनि प्रधानमन्त्री ओलीले खण्डन गरे । ‘तपाईंहरू एमालेप्रति औँला उठाउँदै हुनुहुन्छ । तथ्य–प्रमाणको आधारमा बहस गर्न सक्नुहुन्छ ? भन्दिए त भो नि, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड स्विस बैंकमा, तपाईंहरू हेर्न जान सक्नुहुन्न, भन्दिए भो । अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्देउन, भन्दिनका लागि । फाल्तु कुरा गर्नुको अर्थ छैन ।’
प्रधानमन्त्रीले कसले सात पुस्ताका लागि सम्पत्ति थुपारेर र गैरकानुनी लगानी गरेको छ आफू सार्वजनिक रूपमै खुला बहस गर्न तयार रहेको चुनौती दिए । अहिले लोकप्रियतावादकै दुरुपयोग गरेर त्यसकै बदनाम हुने गरी अराजकता मच्चाइएको ओलीको भनाइ छ । ‘सामाजिक अराजकता लोकप्रियतावाद होइन, ढाँटवाद हो,’ उनले भने ।
सामाजिक अराजकता र साम्प्रदायिक विद्वेष फैलाएर लोकतन्त्र, राजनीतिक स्थायित्व र मुलुकको अर्थतन्त्रमाथि भइरहेको प्रहार कडाइका साथ नियन्त्रण गर्ने ओलीको सन्देश छ । प्रधानमन्त्री ओलीले प्रसाईंलाई लक्षित गर्दै बंैकको ऋण नतिर्न आह्वान गरेर अर्थतन्त्र खलबल्याउने, उद्यमी, मारवाडीलाई खेद्नुपर्छ भन्दै अभियान चलाएर साम्प्रदायिक विद्वेष मच्चाएर देशलाई ध्वस्त बनाउने गतिविधि कडाइका साथ नियन्त्रण गर्ने बताए ।
‘गालीगलौज गर्ने, अपशब्द बोल्ने, शान्तिपूर्ण भन्ने, तर आफ्नाविरुद्ध बोल्नेलाई राति पछाडिबाट हत्या गर्न कोसिस गर्ने, मान्छेलाई दिउँसै ट्रकमा थुनेर आगो लगाएर जघन्य अपराध गर्ने, चरित्र हत्या गर्ने र घृणा फैलाउनेजस्ता नेपाली समाजलाई अराजक दिशामा लैजाने अशोभनीय, अराजक र आपराधिक गतिविधि स्वीकार्य छैन । यस्ता कुरा नियन्त्रण गर्दै बिस्तारै सामाजिक सुप्रबन्ध गर्छौँ, त्यस्ता गतिविधि नियन्त्रण गर्ने दिन आउँछ र सरकार त्यही दिशामा अगाडि बढ्छ ।’
ओलीले घिसिङलाई पनि निशानामा लिँदै विद्युत् लाइन काटेर निर्यात ठप्प बनाउने, उद्यमीको मनोबल घटाउने र उद्योग बन्द गराएर मजदुरहरूलाई बेरोजगार बनाउने काम स्वीकार्य नरहेको बताए ।
प्रधानमन्त्री ओलीले एमालेविरुद्ध प्रहार भइरहेको वेला गुटवाद र फाटोवादबाट मुक्त भएर देश र पार्टीको हितमा काम गर्न पार्टी कार्यकर्तालाई निर्देश गरे । प्रधानमन्त्री ओलीले अहिलेको गठबन्धन ०८४ सम्मै कायम रहने दाबी गरे । ‘यो सरकारले दसैँ देख्दैन, तिहार देख्दैन, मंसिर कट्दैन भनियो, अहिले फेब्रुअरीको भाका राख्दै छन्, अब फागुनको कुरा होइन, म भन्न चाहन्छु– ०८४ मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ ओलीले भने, ‘सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ– ०८३ असारसम्म म प्रधानमन्त्री रहन्छु । त्यसपछि देउवाजीलाई जिम्मा लगाउँछु । भ्रममा नपर्नुस्, भ्रममा पर्न नदिनुस् र ढुक्कले अगाडि बढ्नुस् ।’
ओलीले देशलाई अप्ठ्यारोबाट बचाउन अहिलेको गठबन्धन बनेको दाबी गरे । ‘कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी पनि हुन्, तर अहिले हामीबिचको प्रतिस्पर्धाभन्दा महŒवपूर्ण कुरा हाम्रो एकता हो । देश र लोकतन्त्रलाई अप्ठ्यारोमा पारेर संविधान मास्न खोजिएको छ, अराजकतामा लैजान खोजिएको छ । अलोकतान्त्रिक बाटोबाट अराजकताको बाटोबाट समाज भाँड्न खोजिएको छ । त्यसका विरुद्ध हामीले एकता कायम गरेर अगाडि बढेका छौँ,’ ओलीले भने ।
कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टी यती–ओम्नी भ्रष्टाचार आरोपको छानबिनका लागि तयार रहेको बताए । ‘जतिवेला कोभिड महामारीमा विश्व आक्रान्त थियो, अस्पतालसमेत बन्द भएको त्यस्तो वेला नेपाली जनताको जीवनरक्षाका लागि चीनबाट जसरी पनि सामान ल्याउन अनुमति दिइयो । ओम्नी कम्पनीले त्यहाँँ जे पाइन्छ त्यही सामान ल्यायो, हामीले जनताको जीवनरक्षाको अभियान चलायौँ । तर, सर्तअनुसार सामान आएन भन्ने गुनासो आएपछि हामीले छानबिन गरेर ओम्नीको धरौटी नै जफत ग¥यौँ, सरकारले सामानको भुक्तानी नै रोकिदियो । यस्तो विषयलाई पनि एमालेविरुद्ध जोडेर भ्रमपूर्ण तरिकाले भ्रष्टाचारको प्रचार गरिएको छ,’ पोखरेलले भने ।
त्यस्तै, स्वर्गीय राजा वीरेन्द्रको सम्पत्ति भाडामा दिने निर्णय र प्रक्रिया तत्कालीन प्रधानमन्त्री प्रचण्डकै पालामा भएको पोखरेलको भनाइ थियो । ‘स्वर्गीय वीरेन्द्रको सम्पत्ति ट्रस्टको सम्पत्तिमा रूपान्तरण भएपछि भाडामा लगाउने प्रक्रिया तत्कालीन प्रधानमन्त्री प्रचण्डको पालामा टुंगिएको कुरासँग एमालेलाई जोडेर सधैँ बदनाम गरिन्छ, कसले गरेको हो, के भयो छानबिन गरौँ, हामी तयार छौँ,’ पोखरेलले भने ।
जागरणसभाको एमालेलाई ‘सेटब्याक’ : सर्वसाधारणको आक्रोश, महानगरको तिरायो एक लाख जरिवाना
पार्टीविरुद्धका भ्रम चिरेर नागरिकमा जागरण ल्याउने उद्देश्यले सत्तारूढ दल नेकपा (एमाले)ले गरेको जागरणसभाले शुक्रबार बिहानैदेखि काठमाडौंको सडक अस्तव्यस्त बन्यो । स्टेज बनाउन भन्दै बिहानैदेखि दरबारमार्गको सडक प्रहरीले बन्द गराएको थियो । जसकारण कार्यालय समयमा आसपासको सडकमा चाप बढ्दा एक घण्टासम्म जाम हुने अवस्था आयो । ११ बजेपछि भद्रकालीलगायत विभिन्न स्थानबाट निकालिएका ¥यालीका कारण थप जाम भएको थियो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार बिहान ११–१२ बजेको समयमा सडकमा अत्यधिक चाप थियो । दरबारमार्गआसपासका सडकमा सधैँजसो सवारीको चाप धेरै हुनेमा एउटा सडक नै बन्द भएको र अन्यत्र पनि जुलुस भएपछि दिनभरिजस्तो सडक अस्तव्यस्त बनेको हो । जसकारण सडकमै सभा गर्ने एमालेको कामले सर्वसाधारणलाई थप नकारात्मक बनायो । सामान्यतया राजीतिक कार्यक्रम गर्न प्रहरीले यसरी सडक बन्द गर्न दिने गरेको छैन । तर, प्रधानमन्त्रीको दलको कार्यक्रम भएकाले यसरी सडक नै बन्द गरेर कार्यक्रम गर्न दिइएको थियो । यसबाट एमाले थप आलोचित बन्न पुगेको छ ।
अर्काेतर्फ काठमाडौं महानगरपालिकाले दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई एक लाख रुपैयाँ तिराउने निर्णय गरेको छ । कार्यक्रमपछि पार्टीका झण्डा र पानीका बोतलले दरबारमार्ग प्रदूषित बनेको थियो । सोही आरोपमा महानगरले कारबाही गरेको हो । महानगरले शुक्रबार नै एमालेलाई पत्र लेख्दै एक लाख जरिवना तिर्न भनेको छ । फोहोरको विषयमा महानगरले कारबाही गरेपछि शुक्रबार साँझ एमाले कार्यकर्ता दरबारमार्ग पुगेर सरसफाइ गरेका थिए ।