मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 16 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २९ बिहीबार o७:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीको भ्रमण तयारी : परराष्ट्रमन्त्री राणा पहिल्यै चीन जाने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार o७:२२:oo

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छिन् । प्रधानमन्त्री जानुभन्दा चार दिनअघि परराष्ट्रमन्त्री राणा १३ मंसिरमा बेइजिङ जाने तय भएको छ । उनले १४, १५ र १६ मंसिरमा चिनियाँ विदेशमन्त्री वाङ यीलगायत उच्च चिनियाँ अधिकारीसँग भेटवार्ता गर्नेछिन् । 

चिनियाँ समकक्षी वाङ यीको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री राणा चीन जान लागेकी हुन् । नेपालका लागि चिनियाँ राजदूत चेन सङले चिनियाँ विदेशमन्त्री वाङका तर्फबाट पठाइएको निमन्त्रणा–पत्र सोमबार परराष्ट्रमन्त्री राणालाई सिंहदरबारमा भेटेर हस्तान्तरण गरेका थिए । भेटमा नेपाल–चीन सम्बन्ध र आपसी सहकार्यबारे छलफल भएको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको छ । 

परराष्ट्र मन्त्रालय तथा नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले परराष्ट्रमन्त्री राणा १३ मंसिर(२८ नोभेम्बर)मा चीन जाने तय भइसकेको र त्यसबारे नेपाल र चीन दुवैले एकैसाथ सार्वजनिक गर्नेछन् । सत्तारूढ एमाले र कांग्रेसको उच्चस्तरीय संयन्त्रले प्रधानमन्त्री ओलीको चीन भ्रमणको गृहकार्यका लागि समन्वय र संयोजन गर्न परराष्ट्रमन्त्री राणालाई निर्देशन दिएको थियो । त्यसलगत्तै, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल पनि प्रधानमन्त्री ओलीको भ्रमणकै तयारीका लागि चीन पुगेको छ । 

परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले नोभेम्बर अन्तिम साता (मंसिर दोस्रो साता) परराष्ट्रमन्त्रीको चीन भ्रमण हुने गरी गृहकार्य भइरहेको बताए । ‘परराष्ट्रमन्त्री चीन जाने गृहकार्य भइरहेको छ । विस्तृत कार्यतालिका टुंगिन बाँकी छ,’ पाठकले भने । परराष्ट्रमन्त्रीलाई चार दिनअघि नै चीन पठाएर प्रधानमन्त्रीले वर्तमान सरकारबाट चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको सन्देश दिन खोजेका छन् । ‘परराष्ट्रमन्त्रीले चिनियाँ विदेशमन्त्रीसँग नेपालले चीनसँग अहिले चाहेका विषयहरू, बिआरआई कार्यान्वयन योजना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लिएको ऋण मिनाहालगायतका विषयमा छलफल गर्नुहुन्छ,’ परराष्ट्र स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङको पछिल्लो नेपाल भ्रमणमा भएका सहमति र समझदारी कार्यान्वयनमा छलफल केन्द्रित हुनेछ ।’ 

प्रधानमन्त्री ओली १७ मंसिरमा पाँचदिने औपचारिक भ्रमणका क्रममा चीन जाँदै छन् । परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्रीको भ्रमणमा बेइजिङबाटै सहभागिता जनाउने र प्रधानमन्त्रीसँगै १ मंसिरमा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्रीको चीन भ्रमणमा बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने तयारी छ । यसका लागि सत्तारूढ एमाले र कांग्रेसबिच परराष्ट्रमन्त्री राणाको चीन भ्रमणअघि नै साझा धारणा बनाउने गृहकार्य भइरहेको छ । नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहा होस् भन्नेमा एमाले र कांग्रेसको साझा धारणा छ । नेपाललाई चीनले कुनै एउटा ठुलो परियोजना निर्माण गरोस् भन्ने दुवै दलको चाहना छ । यीलगायतका विषयमा परराष्ट्रमन्त्रीले समकक्षी वाङसँग छलफल गर्ने कार्यक्रम छ । 

यसअघि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणका वेला दुई देशबिच परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र गठन गर्ने सहमति भएको थियो । नेपाल र भारतबिच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग भएजस्तै नेपाल–चीनबिच पनि मन्त्रीस्तरीय संयन्त्र गठनमा दुवै देशले सहमति जनाएका थिए । परराष्ट्रमन्त्री राणाको भ्रमणमा यो संयन्त्र विधिवत रूपमा सुरुवात हुन सक्ने पनि परराष्ट्रका अधिकारीहरूको आकलन छ । परराष्ट्रमन्त्री राणाले मंगलबार सबै मन्त्रालयका सचिवहरूलाई परराष्ट्र मन्त्रालयमा बोलाएर चिनियाँ लगानी, ऋण र अनुदानका परियोजनाहरूको पछिल्लो अवस्था र समस्याबारे छलफल गरेकी थिइन् । उनले सोमबारसम्म चीनसँग उठाउनुपर्ने एजेन्डा लिखित रूपमा पेस गर्न सचिवहरूलाई निर्देशन दिएको एक सचिवले बताए । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री राणा र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबिच पनि भेटघाटको तयारी छ । ‘परराष्ट्रमन्त्री राणामार्फत चीनले कांग्रेससँग सम्बन्ध सुधार र विस्तारका लागि प्रयास अघि बढाउनेछ । दुई पार्टीबिच संवाद र सम्बन्ध अघि बढाउने योभन्दा महत्वपूर्ण अवसर अर्को हुन सक्दैन,’ चिनियाँ कूटनीतिक स्रोत भन्छ ।