प्रधानमन्त्री केपी ओलीको औपचारिक चीन भ्रमणअघि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय टोली बेइजिङ जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको १५ सदस्यीय टोली दशदिने भ्रमणका लागि मंगलबार अपराह्न चीन प्रस्थान गर्न लागेको हो ।
प्रधानमन्त्री ओलीले १७ देखि २१ मंसिरमा चीन भ्रमण गर्ने तय भएको छ । सरकारले भ्रमणको मिति भने औपचारिक रूपमा सार्वजनिक गरेको छैन । परराष्ट्र मन्त्रालयले भ्रमणको आन्तरिक गृहकार्य गरिरहे पनि समानान्तर रूपमै दुवै देशतर्फ पार्टीगत तहले पनि द्विपक्षीय वार्तामा प्रस्तुत हुने एजेन्डा र सम्भावित सहमतिबारे आन्तरिक गृहकार्य गरिरहेका छन् । पोखरेलको भ्रमणलाई एमालेले पूर्वनिर्धारित भने पनि पार्टीले गर्ने आन्तरिक गृहकार्यकै रूपमा कूटनीतिक वृत्तमा अथ्र्याइएको छ ।
पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत नै भ्रमण भए पनि बेइजिङमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको तयारीबारे द्विपक्षीय कुराकानी हुन सक्ने सम्भावना रहेको भ्रमणको समन्वय गरिरहेका एमाले विदेश विभाग सदस्य दीपेन्द्र श्रेष्ठले बताए । ‘उच्चस्तरीय नेताहरूसँग भेटघाट र कुराकानी हुँदा स्वाभाविक रूपमा प्रधानमन्त्रीको आसन्न भ्रमणका विषयमा पनि कुरा हुन सक्छ,’ उनले भने ।
चीन प्रस्थानअघि वरिष्ठ उपाध्यक्ष पोखरेलले आइतबार प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । त्यसक्रममा उनले भ्रमणको कार्यतालिका र चिनियाँ नेताहरूसँगको सम्भावित कुराकानीबारे जानकारी गराउनुको साथै ओलीबाट पनि सुझाव लिएका छन् ।
६ मंसिरमा स्वदेश फर्किने पोखरेल नेतृत्वको टोली एअर चाइनाको विमानबाट छेन्दु हुँदै मंगलबार राति नान्जिङ पुग्नेछ । त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको सेकेन्ड ग्लोबल साउथ थिंकट्यांक फोरममा पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको विदेश एमाले विभाग सदस्य श्रेष्ठले बताए ।
बिहीबारदेखि शनिबारसम्म आयोजना गरिएको तीनदिने कार्यक्रममा पोखरेलले ‘डिपेनिङ म्युचुएल लर्निङ अमोङ सिभिलाइजेसन फर कमन प्रोग्रेस’ विषयमा धारणा राख्नेछन् । त्यसपछि पोखरेल नेतृत्वको उच्चस्तरीय टोली राजधानी बेइजिङ पुग्नेछ । त्यहाँ पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको समन्वयमा विभागका प्रमुख लिउ जियान्चाओ तथा अन्य उच्च नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । ‘तर, कुन तहको नेतासँग कुराकानी गर्ने विषय भने त्यहाँस्थित अन्तर्राष्ट्रिय विभागले नै तय गर्ने भनिएको छ,’ श्रेष्ठले भने ।
पोखरेल नेतृत्वको टोलीमा सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य सम्झना देवकोटा, सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी, प्रधानमन्त्रीकी स्वकीयसचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ, झापा गौरीगन्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैस, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, केन्द्रीय सल्लाहकार तारा बराल, नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मी छन् ।
चिनियाँ राजदूतले भेटे परराष्ट्रमन्त्री
नेपालका लागि चिनियाँ राजदूत चेन सङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग सोमबार शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारीबारे छलफल गर्न राजदूत सङ परराष्ट्र मन्त्रालय पुगेका हुन् । भेटमा द्विपक्षीय सम्बन्ध र नेपाल–चीन सहकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीको भ्रमण तालिका र एजेन्डाबारे प्रारम्भिक छलफल भएको परराष्ट्र स्रोतले जनाएको छ । भेटमा परराष्ट्रका उत्तरपूर्वी महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल र चिनियाँ दूतावासका अधिकारीहरू पनि थिए ।