घटना सार्वजनिक भएपछि आन्तरिक मामिलामन्त्रीबाट राजीनामा दिएका अधिकारीमाथि प्रहरी अनुसन्धान जारी
मानव तस्करीमा मुछिएपछि बुधबार मात्रै पदबाट राजीनामा दिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसँग जापान गएका तीन युवाले तस्करलाई प्रतिव्यक्ति १० लाखदेखि १३ लाख रुपैयाँका दरले बुझाएको खुलेको छ । धादिङको त्रिपुरा–सुन्दरी गाउँपालिका– ६ का महेश पाण्डेलाई जनही १० लाखदेखि १३ लाख रुपैयाँका दरले रकम बुझाएको पक्राउ परेकाहरूले बयान दिएका हुन् । उक्त रकम अधिकारीकहाँ पुगे–नपुगेको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरीले भने, ‘जापानसम्म पुर्याउने, टिकटको व्यवस्था गर्ने, नक्कली कागजात बनाउने, भिसा उपलब्ध गराउनेसम्मको प्रयोजनका लागि महेशले युवाबाट प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँका दरले रकम असुलेको देखिन्छ । यसको हिस्सा निवर्तमान मन्त्री अधिकारीकहाँ पुग्यो–पुगेन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’
जापानको राजधानी टोकियोस्थित टोकियो महानगरपालिकामा आयोजना हुने भनिएको सांस्कृतिक कार्यक्रममा सहभागी हुन भन्दै अधिकारीसँगै खोटाङ ऐँसेलुखर्क गाउँपालिका– २ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका– ११ बस्ने दावा शेर्पा, खोटाङकै केपिलासगढी गाउँपालिका– ४ घर भई बुढानीलकण्ठ– ११ मै बस्ने जनक राई र रसुवा कालिका गाउँपालिका– ५ घर भई काठमाडौं मनमैँजु बस्ने कञ्चन देवकोटा १३ कात्तिकमा उडेका थिए । तर, अधिकारीसँगै तीन युवालाई टोकियो अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले ‘डिपोर्ट’ गरेपछि उनीहरू गत १७ कात्तिकमा नेपाल फर्किएका थिए ।
एसएसपी सानुराम भट्टराई प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
विमानस्थलको अध्यागमनले जिम्मा लगाएपछि हामीले घटनाको प्रारम्भिक अनुसन्धान गर्यौँ । जापान जाने प्रयोजनमा युवाहरूले रकम नै बुझाएका छन् । घटनामा अन्य पनि संलग्न रहेको देखिन्छ ।
घटनाको अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जापान जाने प्रयोजनमा युवाले रकम बुझाएको देखिएको, तर यसको थप अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको हुँदा विस्तृत जानकारी नभएको बताए । ‘विमानस्थलको अध्यागमनले जिम्मा लगाएपछि हामीले घटनाको प्रारम्भिक अनुसन्धान गर्यौँ । जापान जाने प्रयोजनमा युवाहरूले रकम बुझाएको नै देखिन्छ । घटनाको विस्तृत अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ । बाँकी तथ्य उतै बुझ्दा ठिक होला,’ उनले भने ।
जापान जाने प्रयोजनमा दावा, जनक र कञ्चनको कागजातसमेत नक्कली बनाइएको थियो । प्रहरीका अनुसार जनक र कञ्चनसँग सहायक कर्मचारी लेखिएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको परिचयपत्र भेटिएको थियो भने दावासँग ऐँसेलुखर्क गाउँपालिकाको वडासदस्य उल्लेखित परिचयपत्र फेला परेको थियो । उनीहरू सबैका परिचयपत्र महेशले बनाइदिएको खुलेको छ । सोही परिचयपत्रका आधारमा उनीहरूको जापान जाने भिसा लागेको थियो ।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले पाण्डेसँगै नुवाकोटको विदुर नगरपालिका– ७ घर भई सामाखुसी बस्ने जुगल रिजाल र दोलखाको जिरी नगरपालिका– ९ घर भई काठमाडौं– १६ बस्ने वीरबहादुर सुनुवारलाई पनि पक्राउ गरेको छ । घटनामा अन्य पनि संलग्न रहेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी भट्टराईले बताए । उनले भने, ‘घटनामा अन्य पनि संलग्न रहेको देखिन्छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । थप पक्राउ पर्दै जालान् ।’
घटनाको थप अनुसन्धानमा संलग्न काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले भने जानकारी दिन अस्वीकार गरे । उनले भने, ‘अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरेको हो । उनीहरूले फाइल हामीकहाँ बुझाएका छन्, तर यस विषयमा बुभ्mन नै पाएका छैनौँ । त्यसो हुँदा यस विषयमा थप जानकारी पछि सार्वजनिक होला ।’
जापान जाने प्रयोजनार्थ मन्त्री अधिकारीको पासपोर्ट योगराज गौतम भनिने गोपाल गौतमले लिएका थिए । योगराज एमालेका स्थानीय कार्यकर्ता हुन् । विराटनगरका उनी अहिले भने सिंहदरबारभित्र सरसफाइ गर्ने प्रयोजनार्थ मजदुर वितरण गर्ने गर्छन् । मन्त्री अधिकारीलाई जापान जान उनले नै प्रस्ताव गरेका थिए । सोही प्रस्तावपछि मन्त्री अधिकारीले पासपोर्ट उनलाई दिएका थिए । प्रदेश सरकारको विनाअनुमति जापान हिँडेका अधिकारी मानव तस्करीमा मुछिएपछि बुधबार नै मन्त्री पदबाट राजीनामा दिएका छन् ।
अध्यागन स्रोतका अनुसार अधिकारी टोकियो महानगरपालिकामा हुने सांस्कृतिक कार्यक्रममा भाग लिने तयारीमा थिए । तर, टोकियो विमानस्थलस्थित अध्यागमन कार्यालयले डिपोर्ट गर्ने निर्णय गरेपछि अप्ठ्यारोमा परेका थिए । १४ कात्तिकमै हङकङ हुँदै जापान पुगेका उनले कार्यक्रममा सहभागी हुन सक्दो प्रयास गरेका थिए । तर, असफल भएपछि उनी पुनः हङकङ फर्किएका थिए । त्यसपछि पनि उनले कार्यक्रममा सहभागी हुन कोसिस गरेका थिए । सबै प्रयत्न असफल भएपछि उनी तीन युवासँगै १७ कात्तिकमा नेपाल फर्किएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ विमानस्थलस्थित अध्यागमन कार्यालय पुगेर सँगै गएका युवालाई आफूले नचिन्ने र उनीहरूको गतिविधि शंकास्पद रहेको भन्दै पक्राउ गर्न अध्यागमन कर्मचारीलाई भनेका थिए । त्यसलगत्तै, अध्यागमनका कर्मचारीले जनक, दावा र कञ्चनलाई पक्राउ गरी प्रहरीलाई बुझाएको थियो ।
प्रदेश मन्त्री मानव तस्करीमा मुछिएको विषयमा के भन्छन् सत्तारूढ कांग्रेस–एमाले ?
मानव तस्करीमा मुछिएपछि कोशी प्रदेशका एमाले सांसद लीलाबल्लभ अधिकारीले उन्मुक्तिका लागि आन्तरिक मामिला तथा कानुनमन्त्रीबाटै राजीनामा दिएका छन् । उनीसँगै जापान पुर्याइएका तीन युवाको तस्करी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि खुलिसकेको छ ।
तर, सत्तासाझेदार कांग्रेस र एमाले भने यस विषयमा मौन छन् । नयाँ पत्रिकाको जिज्ञासामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रहरी अनुसन्धानमा सघाउने बताए । एमालेले ढाकछोप नगर्ने र दोषी देखिए कारबाही हुने दाबी गरे ।
‘प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसमा हामी हस्तक्षेप गर्दैनौँ । अनुसन्धानबाट गल्ती हो या होइन पत्ता लाग्छ । उहाँ (अधिकारी)ले एक ढंगले भन्नुभएको छ, तथ्य अर्कै देखिएको छ,’ उनले भने, ‘हामी गल्ती गर्नेलाई बचाउँदैनौँ । अनुसन्धानको क्रममा दोषी देखियो भने कारबाहीको भागीदार हुनुपर्छ भन्नेमा एमाले स्पष्ट छ ।’ एमालेले पनि आफ्नोतर्फबाट छानबिन गर्ने उनले बताए । त्यस्तै, कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि सत्तारूढ दलको नेता भएकै कारण उन्मुक्ति नपाउने दाबी गरे । ‘मौनता साध्नुपर्ने कारण छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । दोषी देखिए कारबाही हुन्छ । सत्तारूढ दलको नेता भनेर उन्मुक्ति दिने भन्ने कुरा हुँदैन,’ उनले भने ।
छानबिन गर्न माओवादीको माग, राजीनामा गराएर उन्मुक्ति दिन खोजिएको दाबी
मन्त्री पदमा आसीन व्यक्ति प्रदेश सरकारको आचारसंहिता र भ्रमण निर्देशिकाविपरीत जापान जानु र मानव तस्करीमा जोडिनुले प्रदेशवासीकै शिर निहुरिएको भन्दै प्रमुख प्रतिपक्षी माओवादीले घटनाको गहन छानबिन गर्न माग गरेको छ ।
‘जिम्मेवार मन्त्री सरकारी कार्यक्रमको नाममा सामान्य प्रक्रियासमेत पूरा नगरी विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री र प्रदेश सरकार कसरी बेखबर रहे ? मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करहरूको गिरोहमार्फत सरकारी कागजात किर्ते गरेका व्यक्तिहरू जापान प्रवेश गर्न खोज्नु गम्भीर विषय हो । त्यसमाथि प्रदेशको मन्त्रीलाई जापान सरकारले विमानस्थलबाट डिपोर्ट गरेर फिर्ता गरेको लज्जास्पद घटनाबारे एक सातासम्म प्रदेश सरकार रमिते बन्नु खेदजनक छ भने यो प्रकरणमा राजीनामा गराएर उन्मुक्ति दिने प्रयास गरिएको आशंका बढेको छ,’ माओवादी कोशी संसदीय दलका प्रमुख सचेतक गीता तिम्सिनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मन्त्रीसँगै गएका व्यक्तिहरूसँग मन्त्रालयकै कर्मचारीको नक्कली परिचयपत्र हुनु, त्यसको आधारमा एउटै कार्यक्रममा सहभागी हुन मन्त्री र ती व्यक्तिहरूको भिसासहितको हवाई टिकटको प्रबन्ध हुनु रहस्यमयी देखिएको विज्ञप्तिमा उल्लेख छ ।