मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ कार्तिक १८ आइतबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक १८ आइतबार १९:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लगाइयो भाइटीका, सकियो तिहार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १८ आइतबार १९:१९:oo

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्। यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइएको हो। आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।

भाइटीका लगाउन आज दिनभर बाधा नभए पनि साइत खोज्नेका लागि भने समितिले मध्याह्न ११:३७ बजेको अभिजित मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यताअनुसार बिहान ११:३७ बजे नै टीका लगाएको जनाइएको छ। 

आज लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिएका छन्।

तिहारमा सप्तरंगी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रंग रातो, सेतो, पहेँलो, हरियो र निलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी दिए। टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहीआएको छ। 

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको थियो। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्ने गर्दछ। दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गाईपूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजाआजा तथा दर्शन गरी टीका लगाउने चलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनले बताए। यसै मान्यताअनुसार खञ्जनेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो।