मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १७ शनिबार
  • Monday, 09 December, 2024
२o८१ कार्तिक १७ शनिबार १८:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछामको ढकारीमा ट्र्याक्टर दुर्घटना हुँदा सातजना घाइते, दुईको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १७ शनिबार १८:१५:oo

अछाम ढकारीको राउलासैनमा ट्र्याक्टर दुर्घटना हुँदा सातजना घाइते भएका छन्। उनीहरूमध्ये दुईजनाको अवस्था गम्भीर छ। ढकारी गाउँपालिकाको प्रशासन शाखा प्रमुख नवीन रिमालका अनुसार घटनामा घाइते भएकाहरूमध्ये वडा नम्बर १ रिमास्थित लयगाउँका ३२ वर्षीय दिनेश रिमाल र ४६ वर्षीय धने टमटाको अवस्था चिन्ताजनक छ। 

उनीहरू दुवैजनाको ढाड, टाउको, छातीलगायत शरीरका अधिकांश भागमा गहिरो चोट लागेको छ। रिमाल र टमटा दुवैजनालाई ढकारी गाउँपालिकाको गाडीमा जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ। उनीहरूको मंगलसेनमा उपचार सम्भव नदेखिए गाउँपालिकाकै गाडीमा अन्य सुविधासम्पन्न अस्पताल लगिने गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले बताए। 

चाइरास्थित खेतबाट घाइते रिमाल र टमटाको धान र पराल बोकेर ढकारी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ५१८८ नम्बरको ट्र्याक्टर राउलासैनको कच्ची सडकमा पल्टिँदा उनीहरू घाइते भएका हुन्। अन्य घाइतेहरू पनि सबै उनीहरूकै गाउँका हुन्। 

घटनामा परेर घाइते हुनेहरूमा दिनेशकै छोरा १० वर्षीय लोकेश रिमालसहित उनकै गाउँका ५७ वर्षीय मनराजे टमटा, १६ वर्षीया कविता टमटा, १७ वर्षीया खिमा टमटा र १३ वर्षीया जनधरा टमटा रहेका छन्। ट्रयाक्टरको क्षमताभन्दा धेरै धान, पराल लोड गरेर मानिसहरू पनि बसेका कारण दुर्घटना भएको स्थानीयको अनुमान छ। 

स्थानीय लालुराज भण्डारीको ट्र्याक्टर भाडामा लिएर रिमाल र टमटा चाइरास्थित खेतको धान दाइँ हालेर फर्किने वेला दुर्घटना भएको हो। ट्र्याक्टरमा गाउँ फर्किदै गरेका ११ जना चढेका थिए। उनीहरूमध्ये सातजना घाइते भएका हुन् भने रिमाल र टमटाबाहेक अन्य पाँचजनाको ढकारी स्वास्थ्य चौकीमा उपचार गरिएको छ।