Skip This
काठमाडौंको दर्शन सहकारी समस्याग्रस्त घोषणा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
२o८१ कार्तिक ११ आइतबार १६:४८:oo
Read Time : > 2 मिनेट
प्रदेश डिजिटल संस्करण

काठमाडौंको दर्शन सहकारी समस्याग्रस्त घोषणा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १६:४८:oo

काठमाडौंको कीर्तिपुरमा केन्द्रीय कार्यालय रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ। आइतबार बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले कीर्तिपुर– ९ मा कार्यालय रहेको सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो।

मन्त्रालयअन्तर्गतको सहकारी महाशाखा (रजिस्ट्रार)को कार्यालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा (१) बमोजिम दर्शन सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो।

सहकारी रजिस्ट्रारको कार्यालयका कानुन अधिकृत मनोजकुमार गुप्ताका अनुसार सो सकहारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको गुनासो र निरन्तरको छलफलपश्चात् पनि बचतकर्तासँगको सहमति कार्यान्वयन नभएकाले समस्याग्रस्त घोषणा गरिएको हो।

प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा (१)मा कुनै सहकारीको निरीक्षण तथा छानबिन गर्दा सदस्यको हितविपरीत हुने गरी कुनै कार्य गरेको, संस्था वा संघले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेको वा भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी गर्न नसकेको वा भुक्तानी गर्न नसक्ने अवस्था भएको, सदस्यहरूको बचत निर्धारित सर्तबमोजिम फिर्ता गर्न नसकेको, ऐन तथा नियम–विनियमविपरीत हुने गरी संस्था वा संघ सञ्चालन गरेको, संस्था वा संघ दामासाहीमा पर्न सक्ने अवस्थामा भएको वा गम्भीर आर्थिक कठिनाइ परेको, संस्था वा संघको उद्देश्यविपरीत कार्य गरेको, समस्याग्रस्त भएको भनी संस्थाका कम्तीमा २५ जना सदस्यहरूले रजिस्ट्रारसमक्ष निवेदन दिएमा कानुनअनुसार समस्याग्रस्त घोषणा गर्न सक्ने व्यवस्था रहेको उनले बताए।

छानबिनका क्रममा बचतकर्ताको रकम फिर्ता गर्न नसकेकाले सहकारी रजिस्ट्रारको कार्यालयको सिफारिसमा मन्त्रालयले सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको कानुन अधिकृत गुप्ताको भनाइ छ।

सहकारीविरुद्ध दुई सयभन्दा बढी सदस्यले बचत रकम फिर्ता माग गर्दै उजरी दर्ता गरेको र पटकपटकको छलफलमा भएका सहमति सञ्चालन समितिले कार्यान्वयन नगरेपछि सदस्यहरूको सुझावअनुसार समस्याग्रस्त घोषणा गरिएको हो।

सहकारीका सदस्यहरूको उजुरी प्राप्त भएपछि छलफलका लागि रजिस्ट्रार कार्यालयले पत्राचार गर्दासमेत सञ्चालकहरू सम्पर्कमा नआउने गरेको उनको भनाइ छ।

२०८० पुस २ मा रजिस्ट्रार कार्यालयमा सहकारीका सञ्चालक समितिका अध्यक्ष दिनेश दर्शनधारीसहित १३८ जना सदस्यहरूबिच छलफल भएको गुप्ताले बताए। छलफलले प्रतिमहिना ५० लाख रुपैयाँका दरले बचत रकम फिर्ता गर्ने सहमति निकालेको भए पनि सञ्चालक समितिले कार्यान्वयन नगरेको उनले जानकारी दिए।

त्यसपछि पनि ०८० वैशाखमा सहकारीका सञ्चालनसँग रजिस्ट्रारको कार्यालयले स्पष्टीकरण सोध्दै छलफल गरे पनि बचतकर्ताको समस्या समाधान हुन नसकेको गुप्ताको भनाइ छ।

०८१ भदौ १२ मा बचतकर्ताको एक समूहले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सुझाव दिएको र सोहीअनुसार सञ्चालक समितिसँग छलफल गर्दा समितिले बहिष्कार गर्ने काम गरेको उनले बताए।

त्यसअघि ०८० असोज ६ मा नै कीर्तिपुर नगरपालिकाले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्न निर्णयसहित रजिस्ट्रार कार्यालयमा सिफारिस गरेको थियो। सहकारीमा नाै हजार ८५७ जना सदस्य रहेका छन् भने सो सहकारीको कुल सम्पत्ति एक अर्ब ५७ करोड ४ लाख रुपैयाँ रहेको छ।

सहकारीको जम्मा बचत दायित्व ८६ करोड ८० लाख ८६ हजार रुपैयाँ रहेको छ। सहकारीको जम्मा सेयर पुँजी २२ करोड ४५ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष चार करोड २५ लाख ७९ हजार रुपैयाँ, ऋण लगानी एक अर्ब ४५ करोड १३ लाख ४५ हजार रुपैयाँ र तिर्नुपर्ने बाह्य ऋण ३४ करेड ७६ लाख १६ हजार रुपैयाँ देखिएको छ।

दर्शन सहकारी ०७८ मा सोनित्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आदीवासी जनजाति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग एकीकरण भएको थियो भने पछि निर्मल बुद्धभूमि सहकारीसँग पनि एकीकरण भएको थियो।

दर्शन सहकारीको आगामी जिम्मेवारी प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले लिनेछ। सो समितिले आवश्यक छानबिन तथा प्रक्रिया पूरा गरी बचतकर्ताको रकम फिर्ता गर्नेछ।