१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ जेठ १३ सोमबार ०९:५४:००
Read Time : > 1 मिनेट
नयाँCity

अब कसैको बाँसुरी नबजाउने

Read Time : > 1 मिनेट
२०७६ जेठ १३ सोमबार ०९:५४:००

राजनीतिमा खुब जोसले लाग्नुभयो र निकै छिटो सेलाउनुभयो होइन ?
हो, राजनीतिक रूपमा कम सक्रिय छु । भन्नेले वाक्कदिक्क भएर सेलाई पनि भन्छन् । तर, आफ्नै ढंगले काम गरिरहेकी छु । यो भदौबाट देशदौडाहामा जाँदै छु । यो दौडाहा राजनीतिभन्दा पनि देशका लागि केही गरौँ भनेर हो । देशका लागि केही गर्न राजनीति नै गर्नुपर्छ भन्ने पनि त छैन । राजनीतिमा धेरै मान्छे पोजिसनमा पुग्न बाँसुरी बजाएर हिँड्ने रहेछन् । म अरूले जस्तो बाँसुरी बजाउन सक्दिनँ । पोजिसनमा पुग्न सोझासीधा भएर नहुने रहेछ । तर, म बांगो तरिकाले सोच्न सक्दिनँ । 

भनेपछि, निराश हुनुहुन्छ ? 
मेरो पहिलो परिचय कलाकार र सचेत नागरिक हो । त्यसपछि मात्र नेता हु“ । हाम्रो देशको राजनीति एकदम कम्प्लिकेटेड रहेछ । चारैतिर कम्प्लेक्स रहेछ । मलाई एकदमै गाह्रो भयो । फेरि, राजनीतिमा पोजिसन महत्वपूर्ण रहेछ । पोजिसनविना आफ्नो आइडिया लागू गर्न नसकिने । तर, पोजिसनका लागि जुन किसिमको फाइट हुन्छ, त्यो मलाई नसुहाउने र गर्न पनि नचाहने । 

निराशा नै होइन र यो ? 
निराश पनि छैन । मेरो त राजनीतिमा ठूलो जम्प थियो । रत्नपार्कमा गएर एक्लै उभिएर कराएँ । मलाई जनतासँग झनै नजिक भएजस्तो लाग्यो । ‘नयाँ शक्ति’मा भएर मैले धेरै कुरा सिकेँ । पार्टीका कारण केहीले घृणा पनि गरे । तर, म थाकेको भने छैन । अब त एक्टिभ हुनका लागि पनि ठाउँ चाहियो । त्यो समयमा भूमिकाविना हिँडेँ । म हुलमै हराउने मान्छे होइन । हो, म फरक क्षेत्रबाट राजनीतिमा आएँ । त्यही कारण पनि भेदभावको महसुस बढी नै भयो । तर, कलाकारलाई जसरी जनताले माया गर्छन्, राजनीतिज्ञलाई गर्दैनन् । 

नयाँ शक्ति र संघीय समाजवादी फोरम एकीकरणपछि बनेको समाजवादी पार्टीमा तपाईं हुनुहुन्न ? 
नयाँँ शक्ति र फोरम एकीकरणपछि जे स्थिति बनेको छ, त्यो राम्रो सन्देश हो । सबै क्षेत्र समेटेकोमा खुसी लागेको छ । पहिचानलाई समेट्नेभन्दा पनि सम्बोधन गर्ने हो । तर, म नयाँ पार्टीमा सामेल हुनैपर्छ भन्ने छैन । आफ्नो धारणा त आफैँ बनाउन सकिन्छ नि ! अहिले बनेको समाजवादी पार्टीबारे खासै बोल्न मन छैन । राम्रो छ, यत्ति लेख्नु न । 

करिश्मा अब सक्रिय राजनीतिमा हुनुहुन्न भनेर बुझे भयो ?
एक वर्षदेखि अलि सक्रिय थिइनँ । एसइईका कारण पनि चुप रहेँ । तर ,अब बिस्तारै सक्रिय हुन्छु । पार्टीमा आबद्ध भएर मात्र राजनीतिज्ञ होइने होइन । हरेक अन्यायविरुद्ध लड्छु । स्वतन्त्र रूपमा मेरै क्षेत्र (ललितपुर)बाट चुनाव उठ्न पनि सक्छु । थपडी बजाउनका लागि मात्र राजनीतिमा लागेको होइन, मेरो पनि आफ्नो भूमिका हुन्छ । त्यसको खोजी गर्छु । नेपालका जो नेता पनि ६ सालदेखिको इतिहास भट्याउनुहुन्छ । अब मेरो निर्णय ः कसैको बाँसुरी बजाएर नहिँड्ने । जे ठीक होइन, ठीक हुँदै होइन भनेर बोल्ने । समाजलाई त्यसले राम्रो गति दिन सक्छ । सचेत नागरिक त हु“ नि म । जब पदको लोभमा लागिन्न, विरोध गर्न गाह्रो हुन्न ।