१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ७ बुधबार २२:o५:oo
Read Time : < 1 मिनेट
समाचार

तिहार र छठमा काठमाडौंमा प्लास्टिकका फूलमाला बिक्री गर्न नपाइने

यस वर्ष पनि महानगरले स्थानीय फूलमाला बिक्रीस्थान तोक्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार २२:o५:oo

काठमाडौं महानगरपालिकाले तिहार तथा छठ पर्वलाई मध्यनजर गरी प्लास्टिकका फूलमाला एवं सजावटका सामान बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । महानगर क्षेत्रभित्र कसैले प्लास्टिकका फूलमाला, सजावटका सामान बिक्री गरे आर्थिक ऐन ०८१ र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन ०७७ बमोजिम जरिवाना गर्ने भएको छ । 

‘हामीले बजेटमै प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामान उत्पादन र बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छौँ । त्यसैलाई कार्यान्वयनस्वरूप चाडपर्वमा कडाइ गर्न लागेका हौँ । अन्य समयमा भन्दा तिहारमा प्लास्टिकजन्य फूलमाला धेरै बिक्री हुने भएकाले यतिवेला थप कडाइ गर्न लागेका हौँ,’ महानगरपालिकाअन्तर्गत वातावरण विभागकी निमित्त विभागीय प्रमुख सरिता राईले भनिन्, ‘सार्वजनिक सूचना पनि जारी गर्छौं । उक्त सूचना उल्लंघन गरेमा जरिवाना गर्छाैं ।’ महानगरभित्र प्लास्टिकजन्य फूलमाला बिक्री भए–नभएको अनुगमनसमेत हुनेछ । अनुगमनका क्रममा बिक्री भए सामान जफतसमेत हुुनेछ ।

महानगरले आर्थिक वर्ष ०८१÷०८२ को बजेटमै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयात एवं ४० माइक्रोनभन्दा कमका प्लास्टिकजन्य उत्पादन तथा प्रयोगलाई पूर्ण निषेध गरिने उल्लेख गरेको छ । गतवर्ष पनि महानगरले तिहार तथा छठ पर्वमा घर, पसलहरू सजाउनका निम्ति प्रयोग हुने प्लास्टिकका फूल, माला तथा सजावटका सामान किनबेच नगर्न भनेको थियो । प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामान लुकिछिपी बिक्री गर्नेको गरेको ठाउँबाट जफतसमेत गरेको थियो ।
यसैगरी, महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न स्थानीय फूलमाला बिक्री गर्ने स्थान तोक्ने भएको छ । यसका लागि महानगरले उपयुक्त स्थान खोजिरहेको छ । उपभोक्ता र उत्पादक दुवैलाई पायक पर्ने स्थान खोज्ने काम भइरहेको महानगरले जनाएको छ ।