१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ७ बुधबार १८:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डसहित प्रतिपक्षी दलका नेताले भेटे राष्ट्रपति पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १८:o३:oo

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिपक्षी दलका नेताहरूले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।

भेटमा प्रचण्डसहित शक्ति बस्नेत, रास्वपाका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपाका नेता बुद्धिमान तामाङ र हेमजंग गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीका नेता तिलक थापामगर सहभागी थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमी-कमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी दिन प्रतिपक्ष दलहरू शीतलनिवास पुगेका हुन्।

प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे राष्ट्रपति पौडेललाई जानकारी दिन आफूहरू आएको बताउँदै लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। नेताहरूले संविधानको मर्मविपरीत र बहुलवादमा आधारित मर्मविपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेकाे बताइएको छ।

सो अवसरमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरे।

‘संविधानको मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कर्तव्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु,’ राष्ट्रपतिलाई उदृत गर्दै पोखरेलले भने।