१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ कार्तिक ६ मंगलबार १७:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउन सुझाव समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १७:४o:oo

उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउन सुझाव समिति गठन गरिएको छ। स्वास्थ्य मन्त्रालयले अर्थविद् डा. पोषराज पाण्डेको संयोजकत्वमा सातसदस्यीय सुझाव समिति गठन गरेको हो।

समितिका सदस्यहरूमा स्वास्थ्यविद् डाक्टर अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डाक्टर देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि छन्। यसैगरी, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिको सदस्य सचिव रहनेछन्।

समितिलाई औषधि उपभोक्तालाई उचित मूल्यमा उपलब्ध हुने गरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिन कार्यादेश गरिएको छ। समितिलाई छिमेकी देशहरूले अपनाएका औषधि मूल्यसम्बन्धी नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरी उपयुक्त हुने स्वच्छ मूल्य निर्धारणसम्बन्धी आधारहरू पहिचान गरी गर्नुपर्ने नीतिगत सुधारसम्बन्धी सुझाव दिन भनिएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार समितिले औषधिको मूल्य सम्बन्धित विषयवस्तुबारे अभ्यास पुनरावलोकनसमेत गरेर गुणस्तर पहिचान गरी सुझाव सिफारिस गर्नेछ। औषधिको मूल्यसँग सम्बन्धित नीति प्रणाली, बजार मूल्य, आयात–निर्यात अवस्था तथा सरकारी नीतिबारे समेत समितिले मन्त्रालयलाई सुझाव दिनेछ।

मूल्य निर्धारण गर्नुपर्ने थप औषधिहरूको सूची र प्रस्तावित अधिकतम खुद्रा मूल्यसम्बन्धी आधारसहित सुझाव दिने, समितिको कार्यविधि समितिले, कार्यसम्पादन गर्नका लागि आवश्यक कार्यविधिहरू आफैँ तयार गर्ने र आवश्यकताअनुसार विषयगत उपसमिति गठन गर्न सक्ने गरी समितिको लागि आवश्यक सूचना संकलन, बैठक सञ्चालन तथा सरोकारवालासँगको छलफल समिति आफैँले निर्धारण गर्ने अधिकार दिइएको हो।

समितिले नीतिगत एवं मूल्य निर्धारणबारेका सुझाव मन्त्रीसमक्ष प्रस्तुत गर्नुपर्नेछ। सुझावका आधारमा उपभोक्तालाई औषधिको गुणस्तर नियन्त्रण प्रभावकारी बनाउँदै उचित मूल्यमा उपलब्ध गराउने गरी मन्त्रालयले आवश्यक निर्णयसमेत लिने प्रवक्ता डाक्टर बुढाथोकीले बताए।