१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
२o८१ कार्तिक २ शुक्रबार १२:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मी प्रतिष्ठानद्वारा गायक चन्दलाई आर्थिक सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १२:३८:oo

गुल्मेली लोक तथा दोहोरी गायक एवं सर्जक रामचन्द्र चन्दलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले आर्थिक सहयोग गरेको छ। लामो समय दुवै खुट्टाको गम्भीर समस्याले पीडित चन्दलाई प्रतिष्ठानले ५१ हजार १५१ रुपैयाँ आर्थिक सहयोग गरेको हो।

चन्द राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्वअध्यक्षसमेत हुन्। प्रतिष्ठानको आजीवन सदस्य गणेश सापकोटा र सीता सापकोटाले चन्दलाई व्यक्तिगत रूपमा पाँच हजार १५१ रुपैयाँ सहयोग गरेका छन्।

गुल्मीको मदाने गाउँपालिका– १ अग्लुङमा जन्मिएका गायक चन्द दुई दशकदेखि लोक तथा दोहोरी गीतको क्षेत्रमा सक्रिय छन्। सञ्चारकर्मबाट गीत–संगीतमा प्रवेश गरेका चन्दले ‘माया साह्रै छ’ भन्ने गीतबाट सांगीतिक उचाइ लिएका थिए। अहिलेसम्म दर्जनौँ सिर्जना बजारमा ल्याएका गायक चन्द पछिल्लो तीन वर्षदेखि स्वास्थ्य समस्याले ग्रसित छन्। उनले केही समयअगाडि एउटा खुट्टाको अप्रेसन गरेका छन्। अब केही समयमै अर्को खुट्टाको पनि अप्रेसन गरेर लामो समय घरमै बस्ने र खर्च धेरै हुने भएकाले सहयोगीहरूले सहयोग गरिरहेका छन्। 

चन्द अहिले बैसाखीको सहारामा हिँडडुल गर्छन्। उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको सहयोगलाई रगत र माटोको माया भनेका छन्। आफूले प्रतिष्ठान जन्माएर हुर्काउँदा लगाएको गुन आज दुःखमा पाउँदा अत्यन्तै खुसी लागेको बताए। ‘आज रगत र माटोले सम्झिएको महसुस गरेँ। म स्वस्थ हुँदा प्रतिष्ठानमा खर्चेको जोस र ऊर्जा दुःखमा फिर्ता पाएको छु,’ उनले भने, ‘यो गुन फेरि फिर्ता गर्नेछु।’

चन्दकै आर्थिक सहयोगार्थ ‘रोग बाँड्न सकिन्न, दुःख बाँड्न सकिन्छ’ भन्ने नाराका साथ रामचन्द्र चन्द ‘एकल सांगीतिक कार्यक्रम’ भव्य रूपमा काठमाडौंमा सम्पन्न भएको छ। गुल्मेली कलाकार समाजको आयोजनामा १४ असोजमा चन्दको एकल सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो। अहिलेसम्म प्राप्त साथ, सम्मान र ऊर्जाले शरीरमा आराम भएको चन्दले बताए।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीकी अध्यक्ष शिलु भट्टराईले संस्था र सहकर्मी दुःखमा चाहिने भएकाले आफूहरूले सकेको सहयोग गरेको बताइन्। उनले भोलिको जीवन कसैको नियन्त्रणमा नभएकाले वर्तमानमा खुसी र उमंगले बाँच्नुपर्नेमा जोड दिँदै ढुक्कले उपचारमा लाग्न गायक चन्दलाई आग्रह गरिन्।