१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
दीपक भट्ट रामेछाप
२o८१ कार्तिक १ बिहीबार १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्थली विमानस्थलमा रोकिएका पर्यटक हेलीमार्फत लुक्ला उड्न थाले

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार १७:२१:oo

सोलुखुम्बुस्थित लुक्लाको मौसम खराब हुँदा उडान प्रभावित भएर रामेछापको सदरमुकामस्थित मन्थली विमानस्थलमा चार दिनदेखि रोकिएका पर्यटक हेलिकोप्टरमार्फत लुक्ला उड्न थालेका छन्।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा जाने विदेशी पर्यटक राजधानी काठमाडाैंबाट रामेछापको मन्थलीमा रहेको विमानस्थलसम्म सडक मार्ग हुँदै आउने र मन्थली विमानस्थलबाट हवाई जहाजमार्फत सोलुको लुक्ला जाने गरेका छन्। केही दिनदेखि लुक्लाको मौसम खराब भएकाले लुक्ला हिँडेका करिब एक हजार पर्यटक रामेछापको सदरमुकाम मन्थलीमा मौसम सुधारको पर्खाइमा बस्दै आएका छन्।

चार दिनदेखि मौसम नखुल्दा रामेछापदेखी लुक्ला उडानमा समस्या हुँदै आएको छ। मौसम नखुल्दा हवाई जहाजको उडान प्रभावित हुँदै आएको छ। उडान प्रभावित हुँदा लुक्लातर्फ जान थालेका पर्यटक आफ्नो भिसा सकिन लागेको भन्दै केही पर्यटक सडक मार्ग हुँदै राजधानी काठमाडाैं फर्किन थालेका छन् भने लामो समयको भिसा भएका पर्यटकहरू अझै मौसम खुल्ने प्रतीक्षामा मन्थली विमानस्थलआसपासका होटेल र होमस्टेमा छन्।

केही दिनदेखि लुक्लाको मौसम खराब हुँदा हवाई जहाज चल्न नसकेपछि केही पर्यटक हेलिकोप्टरमार्फत लुक्ला जान थालेकाे नागरिक उड्डयन कार्यालय रामेछापका उप–प्रबन्धक हिरण शाहले जानकारी दिए। उनले भने, ‘सोमबारदेखि लुक्लाको मौसम खराब भएका कारण उडान प्रभावित हुँदै आएको छ। बुधबार (हिजो) केही उडान भएपछि पुनः मौसम खराबीका कारण उडान बन्द भयो। अहिले पनि लुक्लाको मौसम नखुलेका कारण उडान हुन सकेको छैन। हवाई जहाज उडान हुन नसकेपछि केही पर्यटकहरू हेलिकोप्टरमार्फत लुक्ला जान थालेका छन्।’ अहिले रामेछाप विमानस्थलमा विभिन्न पाँच कम्पनीका हेलिकोप्टरले पर्यटकलाई सेवा दिँदै आएको उप–प्रबन्धक शाहले बताए।

रामेछाप विमानस्थल हुँदै पर्यटकहरू वसन्त ऋतुको चैत्रको पहिलो हप्तादेखि जेठ मसान्तसम्म र शरद ऋतुमा असोज महिनाको पहिलो हप्तादेखि मंसिर महिनाको १५ गतेसम्म लुक्ला जाने गरेका छन्। रामेछाप विमानस्थलवाट तारा एयर, समिट एयर र सीता एयरले पर्यटकलाई सेवा दिँदै आएका छन्। लुक्लाको मौसम खुल्दा रामेछाप विमानस्थलवाट नियमित उडान हुँदै आएको थियो।