मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ३० बुधबार o८:१७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयातभन्दा रेमिट्यान्स बढी

चालू आवको दुई महिना : नेपालले दुई खर्ब ६२ अर्ब ५४ करोडको वस्तु आयात गर्दा २५ अर्ब नौ करोडको निर्यात गरेको छ, रेमिट्यान्स भने दुई खर्ब ६३ अर्ब १४ करोड भित्रिएको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार o८:१७:oo

नेपालको कुल विदेशी विनिमय सञ्चिति निरन्तर बढ्दो अवस्थामा रहेको छ । चालू आर्थिक वर्षको दुई महिनामै विदेशी विनिमय सञ्चिति एक खर्ब ११ अर्ब अर्थात् ५.५ प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको छ । विदेशी विनिमय सञ्चिति बढ्दै जानुमा नेपालको उत्पादन र निर्यातको योगदान नगण्य देखिन्छ । रेमिट्यान्सको निरन्तर वृद्धि र आयातमा देखिएको संकुचनले विदेशी विनिमय सञ्चिति उल्लेख्य दरमा बढ्दै गएको तथ्यांकले देखाउँछ । 

चालू आवको दुई महिना (भदौसम्म)मा नेपालले दुई खर्ब ६२ अर्ब ५४ करोडको वस्तु आयात गर्दा २५ अर्ब नौ करोडको निर्यात गर्न सकेको छ । यस अवधिमा नेपालले दुई खर्ब ३७ अर्ब ४५ करोडको व्यापार घाटा व्यहोरेको छ । त्यस्तै, खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा रहेको छ ।  तर, व्यापार र सेवामा रहेको उच्च व्यापार घाटाका बाबजुद नेपालको चालू खाता र शोधनान्तर स्थिति बचतमा देखिन्छ । यस अवधिमा चालू खाता ४९ अर्ब ६९ करोडले बचतमा रहेको छ । शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांक छ । 

सेवा र वस्तुको व्यापारमा उच्च घाटा हुँदा–हुँदै पनि नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित हुनुको मुख्य कारक रेमिट्यान्स रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यो दुई महिनामा वस्तु आयातमा जति पैसा बाहिरएको छ, त्योभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । 

चालू आवको भदौसम्ममा नेपालमा दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १५.२ प्रतिशतले बढी हो । यो दुई महिनामा भित्रिएको रेमिट्यान्स आयात रकमभन्दा ६० करोड रुपैयाँले बढी हो । नेपालले व्यहोरेको वस्तु व्यापार घाटाभन्दा रेमिट्यान्स आय २५ अर्ब ६९ करोडले बढी हो ।नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थविद् नरबहादुर थापाले रेमिट्यान्स अर्थतन्त्रको आधारस्तम्भजस्तै देखिएको बताए । रेमिट्यान्सले वस्तु तथा सेवाको आयातमा बाहिरिने विदेशी मुद्रालाई सन्तुलनमा ल्याउन सहयोग पुर्‍याएको उनले बताए । त्यसका अलावा जीवनस्तर उकास्न तथा गरिबी निवारणमा समेत यसले महत्वपूर्ण गरिरहेको बताए । 

तर, आयात र व्यापारघाटाभन्दा रेमिट्यान्स धेरै भयो भनेर खुसी हुन नमिल्ने उनको भनाइ छ । ‘अहिलेको अवस्थामा रेमिट्यान्स बढेको राम्रो हो, यसले जनताको आवश्यकता परिपूर्तिदेखि जीवनस्तर उकास्न योगदान गरेको छ,’ उनले भने, ‘रेमिट्यान्ससँगै बढेको विदेशी मुद्रा सञ्चितिलाई विकास र पुँजी निर्माणमा लगाउनुपर्छ ।’ 

 मुद्रास्फीति ३.८५ प्रतिशत, सबैभन्दा बढी सुदूरपश्चिममा
०८१ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । समीक्षा महिनामा सहरमा भन्दा बढी मुद्रास्फीति गाउँमा देखिएको छ ।

ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.०४ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.७८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । 
यस अवधिमा सबैभन्दा बढी मुद्रास्फीति सुदूरपश्चिम प्रदेशमा ५.९० प्रतिशत रहेको छ भने सबैभन्दा कम बागमतीमा ३.२९ प्रतिशत रहेको छ । त्यस्तै, कोशी प्रदेशकोे उपभोक्ता मुद्रास्फीति ४.६६ प्रतिशत, मधेशको ३.८२ प्रतिशत, गण्डकीको ३.५० प्रतिशत, लुम्बिनीको ३.५३ प्रतिशत र कर्णाली प्रदेशको ३.५६ प्रतिशत रहेको छ । 

 कर्जा र निक्षेप दुवै बढ्यो 
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ७३ अर्ब ३९ करोड अर्थात् १.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३३ अर्ब ६० करोड अर्थात् ०.७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा ०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३५ अर्ब तीन करोड अर्थात् ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप सात अर्ब ५६ करोड अर्थात् ०.१ प्रतिशतले घटेको 
थियो । वार्षिक विन्दुगत आधारमा ०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.८ प्रतिशतले बढेको छ ।