मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतम बुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्यान्ड मुख्यालय रहेको थाई एयर एसियाले गौतम बुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन् । यी तीनवटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेका छन् । सोहीअनुरूप उडान तालिका बनाएको विमानस्थलले जनाएको छ ।
फ्लाई दुबईले आगामी कात्तिक २४ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ । कम्पनीको यो विमानस्थलमा पहिलो उडान हो । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौं–दुबई उडान गर्न लागेको हो ।
महाप्रबन्धक तिवारीका अनुसार फ्लाई दुबईको विमान दुबईबाट दिउँसो १:४५ बजे भैरहवा आएर ३:३० मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने उडान तालिका प्राधिकरणबाट अनुमति पाएको छ । यसैबिच फ्लाई दुबईको प्राविधिक टोलीले गौतम बुद्ध विमानस्थलको भ्रमण गरी सेवा–सुविधाबारे जानकारी लिएकाले तयारीको कार्य अगाडि बढाउने महाप्रबन्धक तिवारीले बताए।
यस्तै, जजिरा एयरले कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दै छ।यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ।
जजिराको विमान बिहान ७ः३० मिनेटमा भैरहवा आएर ८ः३० मिनेटमा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको विमानस्थलले जनाएको छ । दुई वर्षअघि २०७९ जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो ।
फ्लाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौं हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए। विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका छन् । सुरुवाती उडान गरेका जजिरा एयरले पनि केही समययता उडान रोकेको थियो ।
दुई वर्षअघि २०७९ जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । तर, विभिन्न समस्या देखाएर बिचमा रोकेको थियो । अहिले कुवेतको जजिरा एयरवेजले पुनः नियमित उडान गर्ने जानकारी दिइसकेको छ ।
त्यसैगरी, थाई एयर एसियाले पनि छिट्टै गौतम बुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ। उक्त एयरलाइन्सको प्राविधिक टोलीले केही दिनअघि गौतम बुद्ध विमानस्थलको भ्रमण गरेको थियो। प्राविधिक टोलीलाई विमानस्थलको तर्फबाट विमानस्थलको लक्ष्य, उडान सञ्चालनका लागि आधारहरू जस्तै बजार विश्लेषण, अन्य अप्रेसनसँग सम्बन्धित अन्य फाइदाहरूको विस्तृत जानकारी गराइएको महाप्रबन्धक तिवारीले जानकारी दिए। यद्यपि, यो एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने टुंगो लागेको छैन ।
यही असोज १६ गते नेपालमा सीधा हवाई उडान सुरु गएको थाई एयर एसियाले गौतम बुद्ध विमानस्थलमा पनि उडान सञ्चालन गर्न लागेको हो । एयरलाइन्सले करिब ६० वटा विमानमार्फत एसियाका महत्त्वपूर्ण गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेको छ । नेपाल र थाइल्यान्डबिच पर्यटनलगायत विभिन्न हिसाबले जोडिएको छ । वार्षिक ४० हजारभन्दा बढी थाइल्यान्डका पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन् । नेपालबाट पनि उल्लेख्य संख्यामा पर्यटक थाइल्यान्ड पुग्ने गरेका छन् ।
थाई एयर एसियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शान्तिसुक क्लोडचैयाले नेपाल र थाइल्यान्डबिच हवाई सम्पर्क सञ्जाल मात्रै नभएर दुई देशबिचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई प्रगाढ तुल्याउन उडानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरूप गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताए। ‘सरकारको कार्ययोजनाअनुरूप आफू विमानस्थलको जिम्मेवारीमा आएपछि विशेष पहलकदमीमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण बनाउन लागिएको छ,’ उनले भने ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ ।अध्यागमन कार्यालय, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद ढुंगानाले जजिरा एयरलाइन्स र फ्लाई दुबईले छिट्टै उडान गर्ने भएकाले सोहीबमोजिम आवश्यक तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘हामी तयारी अवस्थामा छौँ, प्राविधिक जनशक्ति व्यवस्थापनका लागि केन्द्रीय कार्यालयमा ताकेता गरिएको छ । एयरलाइन्सको उडान सुरु भएपछि यात्रुलाई सहज ढंगले दिनुपर्ने हुन्छ, त्यसका लागि अध्यागमन कार्यालयले सबैखाले तयारी गरेको छ ।’
प्राधिकरणले अन्तरनिकायसँग समन्वय र छलफल गरिरहेको छ। अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ। अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ । केही प्राविधिक पक्ष व्यवस्थापन गर्न बाँकी छ। विमानस्थलमा २१ वटा यात्रुसेवा काउन्टर छन्। उपकरण जडान छन् केही अटोमेसनको काम बाँकी छ।
‘काठमाडौं विमानस्थल मर्मतको क्रममा गौतम बुद्ध विमानस्थलमा भविष्यमा उडान संख्या बढ्न सक्छन् एयरलाइन्स पनि थपिने सम्भावना रहेकाले सोहीअनुरूप व्यवस्थापकीय तयारी त गर्नुपर्छ । अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको जनाइएको छ,’ उनले भने ।विमानस्थलमा अध्यागमनको सेवालाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले हालै अध्यागमन विभागका महानिर्देशकसहितको टोलीले गौतम बुद्ध विमानस्थलको स्थलगत निरीक्षणसमेत गरेको थियो ।
सरकारले राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ। सोही योजनाअनुरूप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन् । अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको विमानस्थलका अधिकारीले बताएका छन्। निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज घोषण गरेको छ ।
गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गर्दै गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ ।
दुई विमानस्थल प्रभावकारी सञ्चालनका लागि प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित विभिन्न चरणमा बैठक भएका छन् । दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल भइरहेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुवै विमानस्थल प्रभावकारी सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ ।
पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि ०८३ भदौसम्म नलिने जनाइएको छ । उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिने गरी कार्ययोजना बनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रूपमा सञ्चालनमा आएको थियो । सोही विमानस्थललाई विस्तार गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो । सिबी अधिकारी/रासस