मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २४ बिहीबार
  • Saturday, 21 December, 2024
टेकराज थामी काठमाडाैं
२o८१ असोज २४ बिहीबार o६:४४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाबाट बाहिरिए पाँच लाख सर्वसाधारण

नागढुंगा नाकाबाट मात्रै तीन लाख ५० हजार यात्रु बाहिरिएको प्रहरीको भनाइ

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २४ बिहीबार o६:४४:oo

नेपालीको महान् पर्व दसैँ मनाउन काठमाडौं उपत्यकाबाट पाँच लाखभन्दा धेरै यात्रु बाहिरिएका छन् । यो तथ्यांक घटनास्थापन सुरु भए (१७ असोज) देखि २३ असोज (बुधबार) साँझ ६ बजेसम्मको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाबाट सबैभन्दा धेरै यात्रु नागढुंगा नाकाबाट बाहिरिएका छन् । सो नाकाबाट मात्रै हालसम्म तीन लाख ५० हजार यात्रु बाहिरिएका छन् । बाँकी एक लाख ५६ हजार २२५ यात्रु भने उपत्यकाका अन्य नाकाबाट बाहिरिएका हुन् । 

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन कार्कीले बुधबार साँझसम्म उपत्यकाबाट दसैँ मनाउने उद्देश्यले पाँच लाख ६ हजार २२५ यात्रु बाहिरिएको बताए । ‘दसैँ मनाउने उद्देश्यले उपत्यकाबाट बुधबार साँझसम्म पाँच लाखभन्दा धेरै यात्रु बाहिरिसकेका छन् । त्यसमध्ये सबैभन्दा धेरै नागढुंगा नाकाबाट बाहिरिएका छन् । बाँकी यात्रु भने अन्य नाकाबाट बाहिरिएका हुन्,’ उनले भने ।

११ र १२ असोजको अविरल वर्षापछि उपत्यका जोड्ने मुख्य राजमार्ग ठाउँठाउँमा अवरुद्ध बनेका थिए । त्यसमध्ये बिपी राजमार्ग अहिले पनि खुल्न सकेको छैन । पृथ्वी राजमार्ग भने पूर्ण रूपमा खुलेको छ । त्यसबाहेकको अरनिको राजमार्ग, कान्ति लोकपथ, दक्षिणकाली–कुलेखानी–हेटौँडा राजमार्ग आंशिक रूपमा खुलेका छन् । ती राजमार्गबाट पनि अहिले यात्रु बाहिरिन सुरु गरेका छन् । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कार्कीले भने, ‘पृथ्वी राजमार्ग र अरनिको राजमार्ग सञ्चालनमा छन् । बिपी राजमार्गबाट भने यात्रु आउजाउ गर्न सकेका छैनन् । बाँकी राजमार्ग आंशिक रूपमा खुलेका छन् । आफ्नो सुविधाअनुसार यात्रु बाहिरिरहेका छन्,’ उनले भने ।

 बढी भाडा लिनेविरुद्ध प्रहरी कडा 
दसैँलक्षित यात्रुको सुविधाका लागि ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा १४ वटा यात्रु सहायता कक्ष स्थापना गरेको छ । टिकटको कालोबजारी गर्ने, तोकिएभन्दा धेरै भाडा असुल्ने, क्षमताभन्दा धेरै यात्रु राख्ने, मापदण्डविपरीतका सवारीसाधन चलाउने, लापसे (लागुपदार्थ सेवन) र मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउनेविरुद्ध प्रहरी कडा रूपमा प्रस्तुत भएको हो । यसक्रममा प्रहरीले ३१ भन्दा धेरैलाई कारबाही गरिसकेको छ । 

ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्ने बसका चलाक, सहचालक, टिकट काउन्टरका कर्मचारी छन् । पक्राउ पर्नेलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा पठाइएको छ । कानुनविपरीत यात्रु ओसार्ने दुईवटा निजी नम्बर प्लेटका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ट्राफिक प्रहरीका अनुसार चाडपर्वलक्षित ‘ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना– २०८१’ अनुसार उनीहरूलाई कारबाही गरिएको हो । यसका लागि ट्राफिक प्रहरीले सादा पोसाकसहितका प्रहरी परिचालन गरेको छ । परिचालित सुरक्षाकर्मीले बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए/नभएको, काउन्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, फर्जी टिकट काट्ने र यात्रुको सुरक्षा सुनिश्चितताजस्ता विषयमा विशेष निगरानी गर्ने डिएसपी कार्कीले बताए ।

गत १७ असोजमा नयाँ बसपार्कबाट नक्कली टिकट बनाई टिकट बिक्री गर्दै गरेको अवस्थामा टिकटको ठेलीसहित एकजना आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग गोंगबुको नियन्त्रणमा छन् । यात्राका क्रममा कसैले अनावश्यक दुःख–हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको छ ।

 पछिल्लो सात दिनमा विमानस्थलबाट बाहिरिनेभन्दा काठमाडौं भित्रिने धेरै 
पछिल्लो सात दिनमा आन्तरिक उडानमार्फत विभिन्न जिल्ला जानेहरू ४६ हजार ७६ यात्रु रहेका छन् भने काठमाडौं आउनेमा एक लाख ४० हजार ४०४ जना रहेको त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्यन कार्यालयले जनाएको छ ।

डिएसपी रविन कार्की, प्रवक्ता, ट्राफिक प्रहरी कार्यालय
दसैँ मनाउने उद्देश्यले उपत्यकाबाट बुधबार साँझसम्म पाँच लाखभन्दा धेरै यात्रु बाहिरिसकेका छन् । त्यसमध्ये सबैभन्दा धेरै नागढुंगा नाकाबाट बाहिरिएका छन् । बाँकी यात्रु भने अन्य नाकाबाट बाहिरिएका हुन् ।

 बिदेसिनेको पनि विमानस्थलमा लर्को

दसैँ सुरु भए पनि अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेको लर्को पनि उत्तिकै लामो छ । 


बुधबार साँझ त्रिभुवन विमानस्थलमा बिदेसिनेलाई बिदाइ गर्दै आफन्त । तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका