१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २२ मंगलबार
  • Tuesday, 12 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २२ मंगलबार o७:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुन्दरीजलमा पानी पठाउन मेलम्ची संघर्ष समिति सहमत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २२ मंगलबार o७:४९:oo

मेलम्चीको पानी मंगलबारबाट पथान्तर गर्ने सहमति

खानेपानीमन्त्री प्रदीप यादव र आन्दोलनरत मेलम्ची संघर्ष समितिबिच सोमबार हेलम्बु गाउँपालिकाको मेलम्चीमा भएको वार्ता सफल भएको छ । वार्ता सफल भएसँगै अब मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा पथान्तरण गरिने सहमति भएको छ । दसैँअगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने लक्ष्यअनुसार मन्त्री यादवसहितको टोली मेलम्ची संघर्ष समितिसँग वार्ता गर्न मेलम्ची पुगेको थियो । 

मन्त्री यादवसहितको टोली तथा मेलम्ची संघर्ष समितिबिचको वार्तामा संघर्ष समितिले राखेका जायज माग सम्बोधन गरिने सहमति भएपछि मेलम्चीको पानी काठमाडौंमा पथान्तरका लागि सहमति जुटेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । उनले भने, ‘वार्ता सफल भएर मेलम्चीको पानी काठमाडौंमा ल्याउने विषयमा संघर्ष समितिसँग सहमति भएको छ । मेलम्चीबाट मंगलबार पानी सुन्दरीजलमा पथान्तरण गरिनेछ ।’

मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरणपछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेबापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेकोमा मन्त्रालय र सरोकारवाला निकायबिच पुनः छलफल गरी तीन महिनाभित्र टुंग्याउने, हेलम्बु–मेलम्ची एकीकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठन गरी कार्यान्वयन गर्न यथाशिघ्र मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरी कार्यान्वयनमा ल्याउन स्थानीय सरकार र खानेपानी मन्त्रालयले पहल गर्ने सहमति भएको छ । यस्तै, आयोजना पुनः निर्माण तथा बाह्रै महिना सञ्चालन गर्ने किसिमको सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सहमतिको प्रस्ताव पेस गर्ने गरी अबको तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने गरी खानेपानी मन्त्रालयले जिम्मेवारी लिने, घर पूर्ण रूपमा क्षति भएका बाढीपीडितलाई तत्काल घर पुनः निर्माण गर्न नेपाल सरकार प्राकृतिक प्रकोप पुनः निर्माण मापदण्डबमोजिमको पाँच लाख गृह मन्त्रालयमार्फत उपलब्ध गराउने प्रावधान रहेकोमा र हेलम्बुमा तीन सयभन्दा बढी घर एकैपटक प्रभावित भएकाले घरखेत बगाएकाहरूलाई २० लाख रुपैयाँ तीन महिनाभित्र उपलब्ध गराउनका लागि विशेष पहल गर्ने सहमति भएको छ ।

हेलम्बु गाउँपालिका भवन निर्माणका लागि यस आर्थिक वर्षमा एक करोड बजेट विनियोजन भएकाले थप रकमसहित स्रोत सुनिश्चितताका लागि खानेपानी मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा एक साताभित्र प्रस्ताव पेस गर्ने र प्रशासनिक भवन निर्माणको जिम्मेवारी मेलम्ची खानेपानी विकास समितिले लिने भएको छ । 

१ असार १६ र १७ साउन ०७८ मा मेलम्चीमा आएको बाढीले यहाँका कतिपय बस्ती र खेत बगरमा परिणत भएका थिए । भविष्यमा फेरि यस्तो विपत् दोहोरिने देखिएको हुँदा स्थानीयको जग्गा संघीय सरकारले स्वामित्वमा लिई दुवै पक्षको सहमतिमा तत्कालीन दररेटमा मुआब्जा उपलब्ध गराउने व्यवस्थाका लागि विशेष पहल गर्ने सहमति पनि भएको छ । हेलम्बु गाउँपालिकाभित्रको ह्याङ्ला आनी आसाङ कृषि सडक स्तरोन्नति गर्ने पनि सहमति भएको छ । 

उल्लिखित दीर्घकालीन मागसहित आवश्यकताअनुसारका सडक, भवन, सिँचाइ, नदी, तटबन्धलगायत भौतिक निर्माणका कार्यसम्बन्धी दीर्घकालीन समस्या समाधानका लागि खानेपानी मन्त्रालयका सचिवज्यूको नेतृत्वमा सम्बन्धित सरोकारवाला मन्त्रालयका योजना महाशाखाका सहसचिव, बाढीपीडित संघर्ष समिति र स्थानीय तहका प्रतिनिधि रहने गरी समिति गठन गर्ने र सो समितिले तत्काल गर्नुपर्ने काम तत्काल अगाडि बढाउने र दीर्घकालमा गर्नुपर्ने कार्य आगामी आवमा प्राथमिकताका आधारमा आयोजना समावेश गरी कार्यान्वयन गर्न सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको कार्यकारी निर्देशक लामिछानेले बताए । 

उनका अनुसार बाढीपीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्न मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको छ ।