दसैँको मुखमा मेची राजमार्ग दुई ठाउँमा ठप्प

इलाममा वैकल्पिक सडकको खोजी, हेवा खोलामा ह्युमपाइप लगाएर चलाउने तयारी

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण
दसैँको मुखमा मेची राजमार्ग दुई ठाउँमा ठप्प

मेची राजमार्गअन्तर्गत हेवा खोलामा आवतजावतका लागि ह्युमपाइप लगाइँदै ।

दसैँको मुखमा मेची राजमार्ग अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले सास्ती व्यहोर्नुपरेको छ । राजमार्ग अवरुद्ध हुँदा दसैँमा यात्रा गर्ने यात्रुले कष्टपूर्ण वैकल्पिक सडकको प्रयोग गर्नुपर्ने बाध्यता आइपरेको हो । १२ असोजबाट परेको अविरल वर्षाका कारण मेची राजमार्गको दुई ठाउँमा क्षति पुगेको छ । झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोड्ने मेची रागमार्गको दुई ठाउँमा अवरुद्ध हुँदा १० दिनदेखि यातायात ठप्प छ ।

अविरल वर्षाका कारण इलाम नगरपालिका– ९ माईखोलानजिक दुई ठाउँमा सडक भासिएको छ । पाँचथर हुँदै ताप्लेजुङ जाने मेची राजमार्गअन्तर्गतको हेवा खोलामा आएको बाढीले गत १२ असोजमा बेलिब्रिज बगाउँदा राजमार्ग ठप्प छ । बेलिब्रिज बगाउँदा ताप्लेजुङसँगै पाँचथरकै हिलिहाङ र यङवरक गाउँपालिका पनि सदरमुकाम फिदिमबाट सडक सम्पर्क टुटेको छ । गत वर्ष हेवा खोलामा आएको बाढीले पक्की पुल बगाएपछि बेलिब्रिज निर्माण गरिएको थियो । यी दुई ठाउँमा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले वैकल्पिक मार्गको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

दसैँको मुखमा अविरल वर्षाले मेची राजमार्गको इलाम नगरपालिका– ९ का दुई स्थानमा सडक भासिँदा यातायात ठप्प हुन पुगेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । ‘सुरुमा केही तल आधा मिटरजति सडक भासियो । त्यो सडकमा पर्खाल लगाउँदालगाउँदै केही माथि फेरि आधा मिटर सडक भासिएको छ,’ उनले भने, ‘अब तलको काम नसकीकन माथि काम सुरु हुँदैन । यहाँ सडक बन्न केही समय लाग्छ ।’ मेची राजमार्गको यही ठाउँमा विगतदेखि नै सडक क्रमशः भासिएको थियो । यसपटकको वर्षाले सञ्चालन नै नहुने गरी सडक भासिएको हो ।

मेची राजमार्गको इलाम– ९ मा सडक अवरुद्ध भएपछि वैकल्पिक सडकको खोजी भइरहेको प्रमुख भट्टराईले बताए । ‘वैकल्पिक सडक मर्मतका लागि पाँचवटा मेसिन आइतबारबाट लगाएका छौँ । तर, वैकल्पिक सडकमा जोगमाई खोला पर्छ,’ उनले भने, ‘खोला ठुलो छ । त्यहाँ रहेको हाइड्रोपावर चलायो भने मात्र सवारीसाधन हिँड्न सक्छ । सिडिओ साबले हाइड्रोपावरलाई सञ्चालनमा ल्याउन भन्नुभएको छ । तर, चलेन भने त्यो सडक पनि असम्भवजस्तै छ ।’

मेची राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारणले झापाबाट इलाम पुग्न कष्टकर यात्रा गर्नुपरेको छ । फिक्कल हुँदै नयाँबजारको बाटो भएर इलामसम्म आउने गरेको इलामकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । यद्यपि, इलाम सदरमुकासम्म ठुला गाडी नआएको उनले बताइन् । ‘साना पिकअप र यात्रुवाहक गाडी आएका छन् । ठुला गाडी आएका छैनन् । चाँडै वैकल्पिक सडक सञ्चालन गर्ने लक्ष्य हो,’ उनले भनिन्, ‘ठुला गाडी नआउँदा पनि तत्काललाई खाद्यान्न अभाव हुँदैन । इन्धनको केही कमी छ । तर, व्यवसायीहरूले वैकल्पिक मार्गबाट तत्काल नै इन्धन ल्याउँछौँ भन्नुभएको छ ।

हेवा खोलाले बेलिब्रिज बगाएपछि ताप्लेजुङमा सडक सञ्जाल टुट्यो 
१२ असोजमा पाँचथरको हेवा खोलाले बेलिब्रिज बगाएपछि ताप्लेजुङमा पनि अहिले सडक सञ्जाल टुटेको छ । गत वर्षको बाढीले पक्की पुल बगाएपछि निर्माण गरिएको बेलिब्रिज पनि यसपटक हेवा खोलाको बाढीसँगै बगेको हो । बेलिब्रिज बगेपछि बल्ल बाँसको फड्के निर्माण भएको छ । ह्युमपाइप लगाएर यातायात सञ्चालनको तयारी गरिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । ‘आइतबार १८ वटा ह्युमपाइप ल्याएर राखियो । तर, त्यसले पुगेन । अब सानाठुला गरी थप १७ वटा ह्युमपाइप आएर सोमबारदेखि काम सुरु भएको छ,’ उनले भने, ‘सम्भव भएसम्म मंगलबारबाट यातायात सुरु गर्ने योजना छ । तर, हेवा खोलाको पानी धेरै भएकाले ह्युमपाइप लगाउन समस्या भएको छ ।’ यहाँ तत्काल बेलिब्रिजको आवश्यकता भएको उनले बताए । ‘त्यहाँ तत्काल बेलिब्रिज निर्माण गरिएन भने अर्को असारमा फेरि उस्तै अवस्था आउँछ । यसबारेमा विभाग र मन्त्रालयलाई पनि थाहा छ,’ उनले भने, ‘तर, तत्काल सडक सञ्चालन गर्न मात्र ध्यान दिएका छौँ । बेलीब्रिजको बारेमा ध्यान दिन पाएका छैनौँ ।’

हेवा खोलाले मेची राजमार्गको बेलीब्रिज र तमोर करिडोरको सडक नै बगाएपछि अहिले ताप्लेजुङ जाने यात्रु तेह्रथुम भएर कच्ची सडकमा जोखिमपूर्ण यात्रा गरिरहेका छन् । ताप्लेजुङ जाने दुईवटा वैकल्पिक कच्ची सडक रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । तर, त्यो सडकबाट साना सवारी मात्र आवतजावत गर्छन् । ठुला सवारी आवतजावत हुन नसकेको प्रजिअ आचार्यले बताए । मेची राजमार्गको विकल्पको रूपमा रहेको तमोर करिडोरमा समेत हेवा खोलाले क्षति पुर्याएपछि अहिले यातायात ठप्प भएको उनको भनाइ छ ।

तमोर करिडोरअन्तर्गत हेवा खोलामा पनि तत्काल ह्युमपाइप राखेर यातायात सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए । ‘तमोर करिडोर खुल्नेबित्तिकै धेरै सहज हुन्छ । मालवाहक सवारी तमोर करिडोरबाटै आवतजावत गर्न सक्छ,’ उनले भने, ‘त्यहाँको पनि तत्काल काम सुरु हुन्छ ।’

तमोर कोरिडोरअन्तर्गत हेवा खोलाले गत वर्ष बेलिब्रिज बगाएको थियो । यसपटकको बाढीले करिब आठ सय मिटर सडक बगाउँदा सडक सञ्चालनमा समस्या भएको तमोर करिडोर आयोजना प्रमुख प्रदीप निरौलाले जानकारी दिए । ‘सडक पनि बगाएका कारण तत्काल सञ्चालनमा कठिनाइ छ । खोला ठुलो भएका कारण र करिब आठ सय मिटर बाटो बगाएका कारण तत्काल बनाउन समस्या छ,’ उनले भने, ‘हामी दसैँ र तिहारकै बिचमा बनाउने छौँ ।’ तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सिमानामा रहेको नावा खोलाका कारण अवरुद्ध रहेको सडक भने खुलेको उनले बताए । 

सुझावित समाचार