नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु मुलुक हो। कसैले स्वीकार गरोस् वा स्वीकार नगरोस्, यहाँको माटो, ढुंगा र वातावरण हरेक कुरा सनातन हिन्दु परम्परासँग समन्वयात्मक छन्। यहाँको प्रकृति चाडपर्वका आधारमा बद्लिन्छ। कतिपय फूलहरू निश्चित पर्वमा मात्र फुल्छन्। यसका आधारमा पनि भन्न सकिन्छ– यो प्रकृतिलाई भगवान् मान्नेहरूको वासस्थान र तन्त्रको उदगमस्थल हो।
तन्त्रको वास्तविकतालाई हृदयंगम गरी यहाँका हरेक पर्व र चाडवाडमा केही न केही उपासना गरिन्छ। तन्त्रमा सबैभन्दा पुज्य तत्त्व भनेको शक्ति हो। त्यही शक्तिको प्रतिमूर्ति माता भगवती आराध्या दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि प्रकृतिसँगै शक्तिको उपासना गरी विजयादशमी मनाउने शास्त्रीय विधान छ।
शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभमुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा–आराधनापश्चात् प्रसादस्वरूप दशमीको दिन लगाउने टीका धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवीभागवतमा बताइएको छ।
आषाढशुक्ल, आश्विनशुक्ल, माघशुक्ल र चैत्रशुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछन्। यी चार नवरात्रहरूमा आषाढशुक्ल र माघशुक्ल पक्षका तिथिहरूमा पर्ने नवरात्रलाई गुप्तनवरात्र भनिन्छ। यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन्। चैत्रशुक्ल र आश्विनशुक्ल पक्षमा आममानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् । नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ। सावधानीपूर्वक विधिअनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ।
यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् ।
अर्थात् जुन–जुन कामनाले भगवतीको आराधना गर्छ ती सबै कामना सिद्ध हुने कुरा दुर्गासप्तशतीको देव्या कवचमा बताइएको छ। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ।
विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ।
नौ दिनसम्म कुन–कुन दिन कसको र के–के सामग्री अर्पण गरी पूजा–आराधना गर्ने ?
वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ। सोही कलशमा महाकाली, महालक्ष्मी महासरस्वती दुर्गा भगवतीको षेडशोपचारले आवाहन पूजन हुने गर्दछ। यसरी पूजनपश्चात् सप्तधान्य छर्नुपर्दछ। भगवती दुर्गा देवीका विभिन्न उपासना मन्त्रले आवाहन पूजन गरी दुर्गा सप्तशतीको पाठ–पारायण नित्य गर्नुपर्दछ।
१. पहिलो दिन यदि लामो आयु र कुनै प्रकारको दीर्घरोगबाट बच्नका लागि शैलपुत्रीको पूजा–आराधना र गाईको घ्यूबाट बनाइएका परिकार चढाएमा आरोग्य प्राप्त हुन्छ।
२. दोस्रो दिन कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि ब्रह्मचारिणी माताको सख्खर चढाई पूजा–आराधना तथा दान गरेमा हरेक प्रकारको अरिष्ट नाश हुने बताइएको छ।
३. तेस्रो दिन दुःखकष्टबाट मुक्तिका लागि गाईको दुधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशीर्वाद हामीमाथि सधैँभरि रहन्छ भन्ने कुरा बताइएको छ।
४. चौथो दिन चतुर्थी तिथिका दिन माता कुष्माण्डको पूजा–आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनै पनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपुवा दान गरेमा शुभ हुने कुरा उल्लेख गरिएको छ।
५. पाँचौँ दिन पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा–आराधना गरेमा व्यापार–व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने कुरा बताइएको छ। यस दिनमा केराको भोग लगाएर पूजा–आराधना गरेमा सफलता मिल्ने बताइएको छ।
६. छैटौँ दिन आकर्षण, सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि कात्यायनी माताको पूजा–आराधना गरेमा सफल हुने कुरा बताइएको छ। यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने विवाहमा बाधा–अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा–आराधना गरेमा कार्यसिद्धि हुने कुरा पनि बताइएको छ।
७. सातौँ दिन कुनै पनि प्रकारका मुद्दामामिला तथा दुर्घटनाबाट छुटकाराका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने कुरा बताइएको छ। कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाका लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ।
८. आठौँ दिन महागौरी भगवतीको घटस्थापनाको आठौँ दिन पूजा तथा आराधना गर्नुपर्ने कुरा बताइएको छ। उक्त दिन महागौरीको पूजा–आराधना गरेमा सन्तानसुख मिल्ने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ। महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख, शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ।
९. नवौँ दिन घटस्थापनाको नवौँ दिन अर्थात् नवमीका तिथिका दिन घ्यू चढाएर पूजा–आराधना गरेमा अकाल मृत्युबाट बच्नका लागि र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपरोस् भन्नका लागि सिद्धिदातृ भगवतीको पूजा–आराधना गर्ने कुरा शास्त्रमा बताइएको छ।
यसरी स्थापना गरिएका सप्तधान्य क्रमशः बढ्दै जति राम्रा हुन्छन्, त्यति भगवती प्रसन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ। सप्तधान्य अंकुर दुर्गादेवीको प्रिय भएकाले सप्तधान्य रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।
यस वर्षको दसैँ
यस वर्ष घटस्थापनाको शुभसाइत २०८१ असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटमा उत्तम साइत रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। उक्त समयबाहेक अन्य शुभ समयमा आफ्नो नित्य पूजाका क्रममा पनि घटस्थापना गर्न सकिने समितिले जानकारी गराएको छ।
विजयादशमी यस वर्ष असोज २६ गते शनिबार परेकाले बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत निस्किएको र बिहान ११ बजेर ३६ को शुभसमयमा टीका–जमरा चढाएपछि दिनभरि नै टीका लगाउनका लागि शुभ रहनेछ। टीका लगाउँदा लगाइमाग्ने पूर्व फर्कने अनि लगाइदिनेले पश्चिम पर्केर लगाउँदा शुभ रहनेछ। असोज ३० गते बुधबार कोजाग्रत व्रत बसी कात्तिक १ गते कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादसैँ समापन हुनेछ।