१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
तस्बिर : रासस ।
कमलराज भट्ट काठमाडौं
२o८१ असोज १५ मंगलबार १४:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अलपत्र यात्रुलाई तत्काल उद्धार गर्न सरकारलाई सुशासन समितिको निर्देशन

समितिले सरकारलाई भन्यो, ‘सम्भव सबै उपाय अपनाएर राहत र पुनर्स्थापनाको काम गरियोस्’

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १४:५९:oo

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सम्भव सबै उपाय प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले बाढीपहिरोका कारण अलपत्र परेका यात्रुलाई तत्काल उद्धार गर्न पनि निर्देशन दिएको छ।

बैठकपछि जारी समितिका सभापति रामहरि खतिवडाद्वारा हस्तक्षरित निर्णयमा भनिएको छ, ‘राज्य व्यवस्था तथा सुशासन समितिको यो बैठक नेपाल सरकारलाई भएका सबै उपायहरू प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन गर्दछ।’

समितिले बैठकमा छलफलका लागि गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो। उनीसँगको छलफलमा सहभागी समितिका सदस्य सांसदहरूले राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरू सञ्चालन गर्न सरकारले तत्काल पहल लिनुपर्ने बताएका थिए।

समितिले हवाई भाडा नबढाउन, सडक यातायात सञ्चालन गर्नका लागि भएका बाटाहरू तत्काल यातायातका साधन चल्ने गरी मर्मत सम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लाहरूमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको पूर्ववत् मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरूले राहत छिटोभन्दा छिटो पाउने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

यस्तै, निर्णयमा भनिएको छ, ‘विभिन्न जिल्लामा अलपत्र परेका यात्रीहरूलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन पहल गर्न र जनधनको थप क्षति हुन नदिनका लागि तत्काल आवश्यक सबै तयारी गर्न नेपाल सरकारलाई निर्देशन गर्दछ।’

समितिले वर्षाका कारण नष्ट भएका सिँचाइ कुलोहरू, पिउने पानी, विद्युत्, टेलिफोन, सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिक र यस अवस्थामा घाइतेहरूको औषधि–उपचारलाई सहज बनाउन पनि नेपाल सरकारलाई निर्देशन दिएको छ।