नयाँ कमिटीले पार्टीलाई कसरी अगाडि बढाउँछ ?
पार्टीको ऐतिहासिक १०औँ महाधिवेशनले नीति र विचारमा एकरूपता कायम गरेको छ । राजनीतिक प्रतिवेदन, समाजवादी क्रान्तिको कार्यक्रमलगायत सबै दस्ताबेज सर्वसम्मत पारित भएका छन् । अब महाधिवेशनका निष्कर्षसँगै तात्कालिक राष्ट्रिय मुद्दा र एजेन्डा तय गरेर जनताबीच जान्छौँ । राष्ट्रियदेखि स्थानीय स्तरका संघर्षका कार्यक्रम अगाडि सारेर जान्छौँ । साथसाथै, संसद्मा पनि राष्ट्रिय मुद्दा, जनताका एजेन्डा र सरकारले गरेका गलत काम र निर्णयविरुद्ध सशक्त आवाज उठाउँदै नयाँ नेतृत्व सशक्त रूपमा अगाडि बढ्छ ।
मनोनीत सदस्यबाट पदाधिकारी निर्वाचित गराउँदा महाधिवेशनको अवमूल्यन भएन ?
महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवलाई केन्द्रीय कमिटीलाई पूर्णता दिने अधिकार दिएको थियो । उहाँहरूले मापदण्डविना केन्द्रीय कमिटीमा ल्याउनुभएको होइन । मधेसी, जनजाति, थारू, मुस्लिमलगायत सबै क्लस्टरबाट समावेशीका साथै २० प्रतिशत युवा, ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराएका छौँ । निश्चित मापदण्ड, निश्चित आधार, निश्चित योग्यताका आधारमा केन्द्रीय सदस्य चयन गरिएको छ । हामीले सकेसम्म सर्वसम्मत गर्यौँ । अध्यक्ष, सम्मानित नेता, महासचिव, वरिष्ठ नेता र वरिष्ठ उपाध्यक्षमा सहमति भयो । अन्य पदमा आकांक्षी धेरै हुँदा सहमति हुन नसकेपछि केन्द्रीय सदस्यले स्वविवेक प्रयोग गरी पदाधिकारी छनोट गर्नुभएको हो ।
प्यानल र ‘चिर्कटो’ वितरणले गुट–उपगुटलाई प्रश्रय दिँदैन ?
पदाधिकारी निर्वाचनमा प्यानलबाजी नभएको हुनाले पार्टीमा गुटबन्दी हुन्छ कि भन्ने आशंका गर्नुपर्दैन । दोस्रो, चिट बाँड्ने काम नेतृत्वबाट भएको छैन । कोही उम्मेदवारले आफूले जित्न या कसैलाई जिताउन सामान्य रूपमा चिट बाँड्ने काम भएको छ भने पनि त्यो राम्रो होइन । अध्यक्षले समेत यसलाई गलत भनिसक्नुभएको छ ।